१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

थाहानगरपालिकामा कोरोना सङ्क्रमण दर बढ्दो

मकवानपुरको थाहा नगरपालिकामा अझै कोरोना भाइरस सङ्क्रमण दर घटेको छैन । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिले जति प्रयास गर्दा पनि कोरोना सङ्क्रमणदरमा कमी नआएको नगरप्रमुख लवशेर विष्टले बताए ।  

नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलका अनुसार थाहा नगरपालिकामा अहिले २५० कोरोनाका सक्रिय बिरामी छन् । त्यसमध्ये १४६ जना अर्थात् ५८ प्रतिशत बिरामी वडा नं १ र ६ का मात्र छन् ।  वडा नं १ मा ६८ र वडा नं ६ मा ७८ जना कोरोना भाइरस सङ्क्रमणका बिरामी छन् । तीमध्ये धेरैजसो एकै टोलका छन् । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरअन्तर्गत वडा नं १ मा अहिलेसम्म १९२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसैगरी वडा नं ६ मा हालसम्म १८६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

गत साउनको पहिलो सातामा मात्र थाहा नगरपालिकामा ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । थाहा नगरपालिकाले दैनिक प्रकाशन गर्ने प्रतिवेदनअनुसार नगरमा साउनको पहिलो सात दिनको अवधिमा ४३ जनामा कोराना सङ्क्रमण पुष्टि भएको देखिएको हो । सो अवधिमा ९३ मा एन्टिजेन परीक्षण गर्दा ४६ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई परीक्षण गरिएकामा ४६ प्रतिशतमा कोरोना पुष्टि भएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।  

‘हामी सामुदायिक ‘कन्ट्याक्ट ट्रेसिङ’मा जान सकेका छैनौँ र यो सम्भव पनि छैन, ‘एक्टिभ केस’का आधारमा परीक्षण गरिरहेका छौँ”, उनले भने । सङ्क्रमितको जनसम्पर्कका आधारमा परीक्षण गर्ने हो भने नगरमा कोरोना सङ्क्रमणको अवस्था झनै डरलाग्दो हुनसक्ने उनले बताए । थाहा नगरपालिकामा गत वैशाख १२ यता हरेक दिन कोरोनाका बिरामी भेटिएका छन् । ‘आज कसैलाई कोरोना देखिएन भन्ने दिनै आएन’, स्वास्थ्य शाखा प्रमुख बलामीले भने । वैशाख १२ यता अहिलेसम्म थाहामा एक हजार ४६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये वैशाखमा १८४, जेठमा ५३५ र असार महिनामा ४६५ मा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । असार मसान्तमा नगरपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०७ रहेको थियो ।

थाहानगरपालिकाको साउन महिनाको पहिलो सात दिनकै विवरण हेर्दा पनि अघिल्लो महिनाको तुलनामा सङ्क्रमणदर झनै बढेको देखिएको छ । 

प्रकाशित: ९ श्रावण २०७८ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App