१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा लापरबाहीले बढ्दै कोरोना संक्रमण

जुम्लामा लापरबाहीका कारण कोरोना संक्रमण बढिरहेको छ। कोरोना नियन्त्रण बाहिर रहेको देखिएको हो। स्वास्थ्य सुरक्षाको पालना नगर्नु र कोरोनालाई खेलाँची ठान्नुले दैनिक दिन संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्।  

शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ५८ जनाको आरटी पिसिआर परीक्षण गरिएकोमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। एकै पटक धेरै जनामा कोरोना संक्रमण देखिएकोले उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।  

वैशाख पहिलो सातादेखि हालसम्म जुम्लामा कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या १ हजार १७६ पुगेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंका अनुसार साउन ८ गतेसम्म संक्रमणमुक्त हुनेको संख्या ९५१ छ।  

अहिले पनि जुम्लामा २२५ जना सक्रिय संक्रमित छन्। संक्रमणका कारण जिल्लाका ५ ज्येष्ठ नागरिकसहित ८ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। जिल्लाबाहिरका कर्णाली अस्पतालमा उपचार गराइरहेका ४ जनाको मृत्यु भएको छ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचाररत छन्। कोभिड–१९ संक्रमण कम भएको भन्दै सरकारले देशभर निषेधाज्ञा खुकुलो गर्दै लगेको छ। देशभरसहित जुम्लामा पनि निषेधाज्ञा खुकुलो पार्दै लगिएको छ।  

वैशाख पहिलो सातादेखि जुम्लामा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा असार तेस्रो सातादेखि केही खुकुलो पारिएको हो। निषेधाज्ञा खुकुलो बनाएसंगै संक्रमण दर ह्वात्तै बढेको छ।  

अहिले न गाउँमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिएको छ। न त लकडाउन नै कडा पारीएको छ।  

लोकसेवा आयोगलगायत अन्य निकायले परीक्षाको कार्यक्रम सार्वजनिक गरेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गरिने भएको छ। त्यसैगरी दैनिक उपभोग्य वस्तु तथा खाद्य पसलसहित अन्य व्यापार, व्यवसायका पसल दैनिक दिउँसो ४ बजेसम्म खुल्दै आएका छन्।  

जुम्लामा कोभिसिल्डको पहिलो डोज लगाएका ८ हजार ९५८ जना ज्येष्ठ नागरिक दोस्रो डोज लगाउन वञ्चित भएका छन्। पहिलो खोप लगाउने भारतले दोस्रो डोज उपलब्ध नगराएपछि वञ्चित भएका हुन्। कोभिसिल्डको दोस्रो डोजको खोप स्वास्थ्यकर्मी, चालक, कर्मचारीसहित २ हजार ९४८ जनाले मात्रै लगाएको जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए। 

यस्तै, १ हजार ९९१ जनाले भेरोसेल लगाएका छन् भने दोस्रो भेरोसिल खोप १ हजार ६१६ जनाले लगाएका छन्। अहिले पनि खोप कार्यक्रम चलिरहेकाले पहिलो डोज भेरोसेल लगाउने सबै नागरिकले दोस्रो डोजको खोप पाउने निश्चित भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७८ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App