२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माओवादी नेता पाण्डेको हत्यामा पक्राउ परेका ११ जना पुर्वपक्षका लागि कारागार चलान

माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका ११ जना नै पुर्पक्षकालागि कारागार चलान भएका छन्। हत्याका आरोपमा पक्राउ परेका पाण्डेयकी श्रीमती महिमासहित ११ जना नै बिहीवार कारागार चलान भएका हुन्। उनीहरुमाथि हातहतियार खरखजा, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र संगठित अपराध मुद्दा दर्ता गरी अदालतमा पेश गरिएको थियो।

जिल्ला न्यायधिश बसन्तजंग थापाको इजलासले ओरोपीहरुलाई पुर्वपक्षकालागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार हिरण्य प्रसाद भण्डारीले जानकारी दिए। कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव, मृतक पाण्डेयकी श्रीमती महिमा,नगरपालिका वडा नम्बर २ का साकिर अली पखिया, रमजाान शाह, नगरपालिका वडा नम्बर १ का पुणीबीर पाल्पाली, सद्दाम हुसेन,कारागार चलान भएका छन्। 

यस्तै बरगदवाका प्रविण गुप्ता, यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलिलाई समेत कारागार पठाइएको छ। माओवादी नेता पाण्डेलाई जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गोली प्रहार पछि घाईते पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडाैंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो। 

पाण्डेय सहित तीन जना मोटरसाईकलमा सवार भई तौलिहवा फर्किँदै गर्दा उनीहरु माथि गोली प्रहार भएको थियो। सो सम्बन्धमा प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वमा 'माईक व्हिस्की' नामको अप्रेशन टोली खडा गरी घटनाको अनुन्धान गरेको थियो। जनता समाजबादी पार्टीका प्रदेश स्तरीय विद्यार्थी संगठनका अध्यक्ष समेत रहेका ओम प्रकाश र मृतककी श्रीमती महिमाबीच ५ वर्षको अनैतिक सम्बन्धका कारण नै घटना भएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। 

मृतककी श्रीमतीकै योजनाअनुसार ओम प्रकाशले एक लाख सुपारी दिएर पाण्डेयलाई हत्या गर्न लगाएका थिए। टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरेको थियो। त्यसैगरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल र गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटना स्थलमा प्रयोग गरेको स्वचालित पेस्तोल सो को म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको हो। 

प्रहरीले साकिर अलिपखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका १ का पुर्ण बिर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको थियो। त्यस्तै प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग पुर्‍याएका ६ जनालाई नै नियन्त्रणमा लिएको थियो। 

प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलि रहेका छन्।

प्रकाशित: ८ श्रावण २०७८ ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App