१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कटारी नगरपालिका फुटाउने सिफारिस मुख्यमन्त्री कार्यालय पुग्यो

कटारी नगरपालिका गेट। तस्बिर: महेश्वर/नागरिक

उदयपुरको कटारी नगरपालिकालाई टुक्राएर अलग्गै गाउँपालिका बनाउने विषयको प्रस्ताव १ नं. प्रदेशका मुख्यमन्त्रीसमक्ष पुगेको छ। नगरपालिकाका पहाडी भेगका ५ वटा वडाहरुले अलग्गै गाउँपालिका गठन गर्न पाउँ भन्ने मागदावीसहितको प्रस्ताव प्रदेश सरकारसमक्ष पुगेको हो।

नगरका ९, १०, ११, १३ र १४ नं. वडाबासीले छुट्टै गाउँपालिका बनाउन गरेको मागलाई असार १७ गते सम्पन्न ७ औं नगरसभा अधिवेशनले पारित गर्दै सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नगरापालिकाको  सिफारिससहित आफुहरुको मागपत्र प्रदेश मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको ‘गाउँपालिका माग सहजीकरण समिति’का संयोजक अम्बर मगरले बताए।  

उनले भौगोलिक कठिनाईका कारण पहाडी भेगका ५ वडाबासी आफुहरुलाई नगरपालिका केन्द्र कटारी धाउन, सेवा सुविधा उपभोग गर्न असहज भएकाले ५ वटा वडा मिलेर अलग्गै गाँउपालिका बनाउन खोजेको बताए। नगर केन्द्र टाढा परेकाले विकास निर्माणमा धेरै बाधा पुगेको र दुर्गम गाउँपालिकाभन्दा पनि पछि परेको भन्दै ५ वटै वडाबासीको पटक पटकको छलफलबाट अलग्गै स्थानीयतह गठन गर्ने आफुहरुको मागलाई नगरसभाले पारित गरेर सिफारिससहित दिएको ज्ञापनपत्र मंगलबारै मुख्यमन्त्री शेरधन राईलाई बुझाएको संयोजक मगरले बताए। मुख्यमन्त्री राईले प्रदेशबाट आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको पनि उनले बताए।  

कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले पहाडी भेगका ५ वटा वडाहरु भौगोलिक रुपमा  बिकट र दुर्गम रहेकाले विकास निर्माण र सेवा सुविधा प्रवाहमा असहज भएको भन्दै अलग्गै गाउँपालिका बनाउने माग गरे बमोजिम नगरसभाले पारित गरेर प्रक्रिया अघि बढाईदिएको बताए। जनतालाई सहज सेवा सुविधा पुग्छ भने नगर जनप्रतिनिधि बाधक नबन्ने भनेर सिफारिस गरिदिएको उनले बताए।  

मेयर श्रेष्ठका अनुसार २०७२ को संविधानको धारा २९५ मा व्यवस्था भए अनुसार वडाहरु छुट्टिएर गाउँपालिका निर्माण गर्न मिल्ने प्रावधानलाई टेकेर सिफारिस गरिएको हो। वडाबासहीको प्रस्ताव नगरसभाले पास गरेर प्रदेश सरकारसमक्ष सिफारिस गरेको र अव प्रदेशले बाँकी कार्य अघि बढाउने उनले बताए। कटारी ११ का वडाध्यक्ष सरोज बुढाक्षेत्रीले माथिल्लो भेगका वडाहरुलाई कटारी बजारमा रहेको मुकाम आउजाउ गर्न धेरै टाढा परेको र सामान्य गाउँपालिकाजत्ति पनि विकासका पूर्वाधार निर्माण हुन नसकेकाले नगरपालिका बन्न लायक नदेखेर छुट्टै स्थानीयतह बनाउन माग गरेको बताए। उनले वडाबासीलाई सेवासुविधा लिन र विकास निर्माणबाट पछि परेकैले गाउँपालिका बनाउन चाहेको बताए।  

छुट्टै गाउँपालिका बनाउन चाहेका ५ वटा वडाको भौगोलिक क्षत्रफल १ सय २५ वर्ग किलोमिटर छ भने जनसंख्या १८ हजार ५ सय ८६ रहेको नगरपालिकाले जनाएको छ। उनीहरु छुट्टै गाउँपालिका बन्दा पनि कटारी नगरपालिका कायम रहन कानुनी रुपमा कुनै बाधा नपर्ने पनि नगरपालिकाले जनाएको छ। ‘५ वटा वडाहरुले अलग्गै गाउँपालिका बनाए पनि हाम्रो नगरपालिका कायम रहन्छ’ उपमेयर भीमकुमारी राउतले भनिन् ‘अर्को गाउँपालिका बनाउँदा पनि कटारी नगरपालिका कायम रहन भूगोल, जनसंख्या र सबै पूर्वाधार पुग्ने भएकाले स्थानीयतह पुनर्संरचना मापडण्डका आधारमा उहाँहरुको माग संबोधन गरिएको हो।’  

कटारीको पूर्वमा उदयपुरगढी र ताप्ली गाउँपालिका छन् भने पश्चिममा सिन्धुलीको दुधौली नगरपालिका र फिक्कल गाउँपालिकाले छोएको छ। उत्तरमा ओखलढुंगाको मानेभञ्याङ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका तथा दक्षिणमा सिराहाका मिचैया, गोलबजार, कर्जन्हा नगरपालिका यसका सीमाना हुन्। भूगोल र जनसंख्याको आधारमा ससदरमुकामको त्रियुगाभन्दा दोस्रो ठूलो नगरपालिका कटारी समुद्री सतहदेखि १ सय ११ देखि १ हजार ४ सय मिटरसम्मको उचाईमा फैलिएको छ। कटारीको क्षत्रफल ४२४.९ वर्ग किलोमिटर र जनसंख्या ५६ हजार १ सय ४६ रहेको प्रमुख प्रशासकीय अधिकृत अम्मरप्रसाद भट्टले बताएका छन्।

प्रकाशित: ८ श्रावण २०७८ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App