१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच वर्षपछि बन्यो तीला नदीमा पक्की पुल

जुम्लाको तीला गाउँपालिका–३ स्थिततीला नदिमाथि पक्की पुल निर्माण भएको छ। जुम्लादेखि जाजरकोट जोड्नको लागि ६ वर्ष पहिले पुल निर्माणको काम सुरु भएको थियो । पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा उक्त सडक हुँदै तातोपानी ७ र ८ मा जाने सर्वसाधारणलाई सास्ती हुने गरेको थियो।

अहिले पुल निर्माणको काम सकिएपछि कर्णाली राजमार्गदेखि भेरीखोला हुँदै जाजरकोट जान निकै सहज भएको स्थानीय बताउँछन्। तिला नदिमा ५२.१५ मिटरको पक्की पुल निर्माण भएको हो। पूर्वाधार विकास कार्यालय जुम्लाका अनुसार पक्की पुल बनेपछि सहजै रूपमा सवारीसाधन आवतजावत गर्न सकिने अवस्था रहेको छ। कार्यालय प्रमुख रूपकबहादुर रावले भने, ‘नागरिकले आशा मारीसकेको पुलको निर्माण सम्पन्न हुनुले निकै खुसी तुल्याएको छ। यो पुल संघीय संरचना पछि पुर्नजीवित पुल हो।’

कुल ४ करोड १२ लाख रूपैयाँको लागतमा पुल बनेको हो। २०७३ साल असार ५ गते निर्माण कार्यका लागि सम्झौता भएको थियो। यो बीचमा ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अघि बढ्न सकेन। केन्द्रीकृत संरचना हुँदाको प्राविधिक कार्यालयले पुल निर्माणको काम सुरु गरेको थियो। सम्झौता अनुसार पुल २०७५ साल जेठ ३१ गते निर्माण भइसक्नुपर्ने थियो। कार्यालय प्रमुख रावलले भने, ‘अलपत्र पुल पूर्वाधार विकास कार्यालयको सुरुवातसँगै निर्माण कार्य प्रारम्भ भयो। अहिले निर्माण कार्य सकिएर आवतजावतको काम भइरहेकोछ।’

कर्णाली प्रदेशकै पहिलो उच्च जोखिम मोलेर पुल निर्माण भएको उनी बताउँछन्। ‘यसको निर्माण फरक र जटिल प्रकृतिको छ। लामो समयदेखि निर्माण सुरु भएपनि अलपत्र परेको थियो,’ उनले भने, ‘पुल निर्माणपछि जुम्लाको साविक ताम्ति गाविस हाल तातोपानी गाउँपालिकाको ७ र ८ नम्बर वडामा यात्रा गर्न सजिलो हुनुका साथै जाजरकोट जाने यात्रुलाई सहज बनाएको छ।’

जाजरकोटबाट जुम्ला भित्रिने जुम्ला जाजरकोट सिमानासम्म कच्ची सडक जोड्न पूर्वाधार विकास कार्यालयले दुई करोड १९ लाख रूपैयाँ विनियोजन गरेको छ। अहिले जुम्लाको इमिल्चा हुँदै जाजरकोटसम्म जोड्ने सडक निर्माण कार्य भइरहेको छ। 

लामो समयदेखि अलपत्र पक्की पुल बनेपछि स्थानीय खुसी छन्। तातोपानी ७ का जनक कुँवर अबको यात्रा निकै छोटो र सहज हुने बताए। पहिले तिला नदिन तराएर सवारीसाधन चलिरहेका थिए। बर्खामा पानीको बहाव बढ्दा यातायात सेवा ठप्प हुने गरेको थियो । अब पुल बनेपछि ढुक्कसँग मोटर चढेर गाउँमा पुग्ने अवस्था रहेको उनको भनाइ छ । गाउँमा दैनिक उपभोग्य सामग्री दुर्गम क्षेत्रमा ढुवानी गर्न निकै सहज हुने भएको छ। पुल बनेसँगै गाउँमा आर्थिक समृद्धि हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ श्रावण २०७८ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App