७ वैशाख २०८१ शुक्रबार
समाज

अर्घाखाँचीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

अर्घाखाँचीमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ। अर्घाखाँची जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदकै मुद्दाहरु पर्ने गरेको तथ्याङ्कले देखाएको छ।  

जिल्ला अदालतमा पर्ने कुल मुद्दाहरुमा ४१ प्रतिशत मुद्दाहरु सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिए। गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला अदालत अर्घाखाँचीमा सम्बन्ध विच्छेदका १ सय २३ वटा मुद्दा परेको छ। अघिल्लो आर्थिक वर्षबाट सरेका ५२ वटा र गत आर्थिक वर्षमा १ सय २३ गरी कुल १ सय ७५ थान सम्बन्ध विच्छेदका मुद्दाहरु रहेका थिए। त्यसमध्ये एकसय ४२ वटा मुद्दा फर्छ्याैट गरिसकिएको र जम्मा ३३ वटा मुद्दा फर्छ्याैट गर्न बाँकी रहेको श्रेस्तेदार खनालले बताए।

मुलुकी देवानी संहिता २०७४ लागू भएपछि पुरुषको तर्फबाट पनी सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने संख्या बढेको छ। जनचेतनाको अभाव, वैदेशिक रोजगार, श्रीमान–श्रीमतीबिच अविश्वास, घरेलु हिंसा लगायतका कारण सम्बन्ध विच्छेदका घटना बढेको अदालतले जनाएको छ।  

यस्तै अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्याैट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्याैट गरि उत्कृष्ट बन्न सफल भएको हो।

कुल मुद्दाको ७०.९३ प्रतिशत मुद्दा फर्छ्याैट गरेको अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फर्छ्याैट गर्ने जिल्ला बनेको हो। अर्घाखाँची पछी सबैभन्दा बढी प्युठान जिल्ला अदालतले ७०.३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६.४१ प्रतिशत मुद्दा फर्छ्याैट गरेको छ।

प्रकाशित: ५ श्रावण २०७८ ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App