४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बिनायो वादन प्रतियोगितामा बलबहादुर राई प्रथम

 विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वाद्यन खुला प्रतियोगिताको प्रथम उपाधि झापाका बलबहादुर राईले जितेका छन्। १६औं स्थापना दिवसको अवसर पारेर किरात राई सांस्कृतिक कलाकार संघले आयोजना गरेको खुला विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगितामा राईले प्रथम स्थान प्राप्त गरेका हुन्।

फाइनलमा पुगेका २० प्रतिस्पर्धीलाई उछिन्दै राईले बिनायो वाद्यन प्रतियोगितामा प्रथम स्थान हासिल गरेको आयोजक किरात राई सांस्कृतिक कलाकार संघका सचिव पदम थुलुङले बताए। बिहीबार सम्पन्न प्रतियोगितामा खोटाङको जालपाका पम्फा खालिङ राईले दोस्रो र ओखलढुंगा उँबुका जितुमाया राईले तेस्रो स्थान प्राप्त गरेका छन्।  

तेस्रो अडिसनमा सकिएको प्रतियोगितामा झापाकी मनकुमारी राईले सान्त्वना प्राप्त गरेकी छन्। प्रतियोगितामा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी ९२ वर्षीय देशलक्षी राई र धरान उपमहानगरपालिका–१५ का ९५ वर्षीय विष्णुमाया राईलाई पुर्खा सहभागिताको उपाधि दिइएको छ । प्रतिस्पर्धीले पठाएको बिनायो बजाइरहेको अडियोसहित कम्तीमा दुई मिनेट लामो भिडियोका आधारमा वरिष्ठ गायक तथा संगीतकार जितेन राई, गायिका पार्वती राई र गायक संगीतकार राजुएन राईको निर्णायक समितिले दोस्रो राउन्डको नतिजा सार्वजनिक गरेका हुन्। गायक तथा संगीतकार गणेश रसिकको प्रमुख आतिथ्यमा बिनायो वादन प्रतियोगीताको फाइनल अडिसन गरिएको थियो।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १६ हजार, १० हजार र ७ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए। विजेताको पुरस्कार रकम बैंक खातामा पठाउने व्यवस्था मिलाइएको छ। लोपोन्मुख बिनायो बाजाको संरक्षण, संवद्र्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले संघले गत जेठ २२ गते खुला विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिता गर्ने घोषणा गरेको थियो। प्रतियोगितामा सहभागिताका लागि पहिलो चरणमा बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाउन सूचना जारी गरेपछि स्वदेश तथा विदेशमा रहेका बिनायोका पारखीले अनलाइनमार्फत सहभागिता जनाएका हुन्।

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिता आयोजना गरिएको सचिव थुलुङले बताए। छनोट भएका भिडियो संघको युट्युब च्यानल किरातीकलाकार (केआइआरएटिआइकेएएलएकेएआर) मा अपलोडको व्यवस्था गरिएको संघले जनाएको छ। पहिलो राउन्डमा नेपाल र युकेका राई, लिम्बू र क्षत्री समुदायबाट ९१ महिला र १८ जना पुरुषले सहभागिता जनाएको संघले जनाएको छ। 

प्रकाशित: १ श्रावण २०७८ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App