१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मसुरिया पुगेको बाघ मारिएको पुष्टि

गत फागुनको पहिलो साता गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा देखिएको पाटबाघलाई सिकारीले मारेको पुष्टि भएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका स्थानीयले पाटेबाघको छाला बेच्न खोज्दा प्रहरीले पक्राउ गरेपछि सोही बाघ मारेको पुष्टि भएको हो ।  

प्रदेश अनुसन्धान व्युरो (आरटीआई) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले मंगलबार बेलुकी मोलमोलाई गरेर किन्ने बहाना गर्दै बाघको छालासहित दुई जनालाई पक्राउ गरेको हो । १० फिट १ इन्च लामो बाघको छालासहित प्रहरीले मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका ५२ वर्षिय पूर्णबहादुर बुढामगर र उनकै ज्वाइँ नाता पर्ने लम्कीचुहा नगरपालिका वडा नम्बर १ घर भएका ३० वर्षिय लोकेश सिजापतीलाई पक्राउ गरेको हो । स्रोतका अनुसार उनीहरुसँग प्रहरीको अनुसन्धान टोलीले ३० लाख रुपैयाँमा खरिद गर्ने भन्दै मोलमोलाई गर्ने क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ७ को सिंहासन सामुदायिक वन परिसरबाट पक्राउ गरेको हो ।  

गत फागुन २ गते गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीलाई पाटेबाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भएको थियो । सोही समयदेखि बाघ सो क्षेत्रमा डुलिरहेको थियो । माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको पाटे बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुगेको थियो । अण्डैयामा दुई दिन बिताएको बाघ मट्कौनाको जंगलै जंगल तालबन्दहुँदै सालघारी पुगेको थियो । फागुन ९ गते सालघारीमा देखिएको बाघलाई स्थानीयले सोही समयमा मारेको हुनसक्ने आँकलन गरिएको छ । स्रोतका अनुसार फागुन ९÷१० गतेतिर स्थानीय पूर्णबहादुर बुढामगरले मारेको खुलेको छ ।  फागुन ९ गतेका दिन सालघारीमा देखिएको बाघ त्यसपछि भने त्यो क्षेत्रमा कतै नदेखिएको बताउँदै स्थानीय भन्छन्,‘बाघ त त्यही बेला मारिइसकेको रहेछ, कहाँबाट देखिन्थ्यो ?’

पुस्तौनीदेखि बाघको बाटो र बाघको सुरक्षित बसोबास क्षेत्र हो मसुरिया । मसुरिया क्षेत्रमा मुख्यगरी तीन ठाउँमा बाघको बसोबास क्षेत्र रहेको बताउँदै सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘चुरेसँग जोडिएको राजघाट क्षेत्र, तालबन्द क्षेत्र र अण्डैया क्षेत्रमा बाघ पहिलेदेखि नै बस्दै आएको छ, यही क्रममा तालबन्द नजिकैको बस्ती सालघारीमा फागुन ९ गते बाघ देखिएको थियो ।’ बाघ विचरण गर्दै सालघारी क्षेत्रसम्म गएको बताउँदै उनले भने,‘त्यही समयमा सिकारीले मारेको हुनसक्छन् ।’  

सुदूरपश्चिममा १९ बाघ !

सुदूरपश्चिम प्रदेशमा १९ वटा पाटेबाघ रहेको गणनाले देखाएको छ । बाघ गणना–२०१८ अनुसार सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका जंगल (लालझाडी, वसन्ता करिडोर) क्षेत्रमा १९ वटा पाटेबाघ रहेका छन् । बाघ गणनाअनुसार सुदूरपश्चिम प्रदेशमा १९ वटा पाटेबाघ रहेको विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ)ले जनाएको छ ।

प्रकाशित: २९ असार २०७८ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App