१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौ जना पक्राउ

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौं जनालाईं प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ।  

इलाका प्रहरी कार्यालय इटहरीले आइतबार पत्रकार सम्मेलन गरि  इटहरी ६ मा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सुनिल तामाङ र सन्दिप चौधरीलाई ९ ग्राम खैरोहिरोइन ब्राउनसुगरसहित पक्राउ गरेको जनायो। सुनिल र सन्दिपले खैरो हिरोइन इटहरी वडा नं. ९ का प्रताप तामाङबाट खरिद गरेको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको  छ। प्रतापलाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको पत्रकार सम्मेलनमा डिएसपी अर्जुन केसीले बताए।  

यस्तै, इटहरी वडा नं. ५ मा रहेको चमेना खाजा घरको ११२ नं. कोठाबाट लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला बारा निजगढ १२ घर भइ हाल इटहरी वडा नं. ५ मा बस्ने २७ वर्षीय दीपक भनिने वीरेन्द्र राई, सोही ठाउँका १८ वर्षीय विवेक बस्नेत तथा अर्का एकजना नाबालक पनि पक्राउ परेका छन्। उनीहरुको साथबाट प्रहरीले ५६ ग्राम, २०० मिलिग्राम ब्राउनसुगरसहित डिजिटल मेसिन पक्राउ गरेको छ। अनुसन्धान गर्ने क्रममा इटहरी वडा नं. ४ बस्ने २३ वर्षीय विवेक खड्कामार्फत लागुऔषध खरीद गरेकाले उनलाई पनि प्रहरीले पक्राउ गरेको छ। खड्काको घरबाट प्रहरीले २९ ग्राम, ८०० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ।  

इटहरी प्रहरीले नै आइतबार दिउँसो नाइट्रोजन ट्याब्लेटसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका वडा नं. ५ बस्ने २२ वर्षीय मनिर मियाँ र इनरुवा ३ का ५७ वर्षीय नारायणप्रसाद शिवाकोटी छन्। पक्राउ पर्नेका साथबाट प्रहरीले एक हजार थान लागुऔषध नाइट्रोजन ट्याब्लेट बरामद गरेको छ। साथै उनीहरुको साथबाट प्रहरीले नगद ४० हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ।  

लागुऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। जसमा लागुऔषधको कारोबारका लागि मुख्य डिलिङ हुने स्थान भने यातायातको मुख्य हब इटहरी नै हो। लागुऔषधको कारोबारमा संलग्नहरुका अनुसार इटहरीबाट पूर्वका गाउँबस्तीमा सबैतिर लागुऔषध खपत हुने गरेको छ। सुनसरीको लागुऔषध कारोबार हुने अन्य मुख्य केन्द्रमा धरान, इनरुवा, भान्टाबारी, झुम्का आदि रहेको प्रहरीले जनाएको छ।

इटहरीमा यसको कारोबार हुने मुख्य अखडामा बिराटनगरलाइन, सुकुम्बासी बस्तीको रकटोल, बसपार्क एरिया,पान्धारे क्षेत्र आदी पर्छन्।

जिल्ला प्रहरी कार्यालय इनरुवाको तथ्याङ्क अनुसार ०७७ वैशाखदेखि ७८ जेठ मसान्तसम्ममा लागुऔषध मुद्दामा १५६ वटा उजुरी परेको छ। ती मध्ये १९४ जना पुरुष र ४ जना महिला पक्राउ परेका छन्। लागुऔषध मुद्दामै उजुरी परेका ३० पुरुष र एक महिला भने फरार रहेका छन्।  

सुनसरी क्षेत्रको कुनै नाकामा प्रहरीको सक्रियता बढ्यो भने लागूऔषध कारोबारीले रुट परिवर्तन गर्छन्। खुल्ला सीमा नाकाको क्षेत्र बढी भएकाले गर्दा पनि यहाँ लागुऔषध भित्र्याउन सहज भएको प्रहरीको दावी छ।

विशेषगरी लागुऔषधको लतमा फस्नुको कारणमा आफूभन्दा सिनियरको सिको, रहर अनि विस्तारै बानी बस्नु नै हो। यही ढंगले अधिकांस  कुलतमा फस्ने गरेका छन्।  कतिपय भने घरपरिवारको वातावरण बिथोलिएर मानसिक तनाब कम गर्ने निहुँमा पनि कुलतमा फस्ने गरेका छन्। लागुऔषध सेवनकर्ताको हातखुट्टाको हडी चिलाउने, खानाप्रति रुची नहुने लगायतका समस्या हुने गर्छन्। कसैकसैमा हातखुट्टा फ्याक्ने, कराउने र निन्द्रा नलाग्ने समस्या पनि हुन्छ। यी समस्याले कुलतमा फसेकालाई पिरोलेपछि उनीहरु चिन्तामा डुबेर थप लागुऔषध सेवन र प्रयोगमा लाग्ने गरेका हुन्छन्।

प्रकाशित: २७ असार २०७८ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App