१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पर्यकटीय आकर्षण थप्न कपिलवस्तुमा बुद्धको प्रतिमा अनावरण

खुला संग्रहालयका रुपमा परिचित प्राचिन कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा २ वटा छुट्टाछुट्टै बुद्धको पुर्णकदको प्रतिमा अनावरण गरिएको छ। कपिलवस्तुलाई पर्यटकीय गन्तव्य स्थलका रुपमा विकसित गर्न गौतम बुद्ध अघि जन्मिएका क्रकुछन्द र कनकमुनी बुद्धको प्रतिमासहित बगैचाको उद्घाटन गरिएको हो।

त्यहाँ साढे ६ फिट अग्लो र ३० इन्च चौडाईको प्रतिमा राखिएको छ । करिब एक क्विण्टल तौल रहेको प्रतिमा पित्तलको रहेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, करैयाका मुर्तिकार गोबिन्द चौधरीले ७ महिना लगाएर बनाएका हुन्। थेरबादी सम्प्रदायका भिक्षु र महायानी सम्प्रदायका लामाले मंगल पाठ गरेपछि मुख्यमन्त्री पोखरेलले द्विप प्रज्जवलन गरी प्रतिमा अनावरण गरेका थिए।

ती दुबै बुद्धको नेपालमै पहिलोपटक प्रतिमा बनाइएको बुद्धमागी भिक्षु मेत्रेयले बताए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तु नगरपालिका वडा नम्बर ५ गोटीहवामा क्रकुछन्द बुद्ध र नगरपालिका वडा नम्बर ११ अरौराकोटस्थित कनकमनी बुद्धको प्रतिमा अनावरण गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री पोख्रेलले जीवन्त संग्रहालयका रुपमा रहेको कपिलवस्तु लामो समयसम्म ओझेलमा परकोमा बुद्धको प्रतिमा स्थापना भएपछि अब पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै जाने बताए।

उनले कपिलवस्तुको पर्यटकीय विकास र ऐतिहासिकता उजागर गर्न यसको संरक्षण गर्न उत्तिकै आवश्यक रहेको बताए। उनले बुद्ध स्थलको विकासका लागि पुर्वाधार बढाउँदै लाने भन्दै उनले यसका लागि स्थानीयको पनि उत्तिकै चासो रहनु पर्ने बताए। क्रकुछन्द बुद्धको प्रतिमा र बगैचा गरी ५९ लाख तथा कनकमुनी बुद्धको प्रतिमा र बगैचासहित पुर्वाधार गरी ८८ लाख रुपैयाँ खर्च भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले बताए।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग वन तथा वातावरण मन्त्रालयको सहयोगमा सो संरचना निर्माण गरिएको हो।सोही समारोहमा विभिन्न  पुस्तकहरु समेत बिमोचन गरिएको थियो।  

प्रकाशित: २६ असार २०७८ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App