७ वैशाख २०८१ शुक्रबार
समाज

रोल्पामा २० प्रतिशतले अपराध वृद्धि : लागूऔषध नियन्त्रणमा सफलता

रोल्पा प्रहरीले आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषध नियन्त्रणतर्फ ठूलो सफलता हासिल गरेको छ। २३ किलो १ सय २० ग्राम अफिम, ६ किलो चरेश बरामद गरेको रोल्पा प्रहरीले १ हजार २ सय ३० अफिमको बोट नष्ट गरेको छ। लागूऔषध कारोवारमा संलग्न १३ जनालाई पक्राउ गरी मुद्धा चलाइएको प्रहरीले जनाएको छ।

रोल्पामा गत बर्षको तुलनामा २०.५ प्रतिशत अपराध वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अपराध वृद्धि भएको देखिएको हो। पछिल्लो समय अपराध कम हुने जिल्लाका रुपमा चिनिएको रोल्पामा प्रहरीको सक्रियताले पनि घटनाहरु बढेको देखिएको स्थानीयहरु बताउँछन्।  

गत आर्थिक वर्षमा कर्तव्य ज्यान ६ वटा भएकोमा यो बर्ष ७ वटा भएका छन् भने ज्यान मार्ने उद्योग पोहोर २ रहेकोमा अहिले ४ पुगेको छ। जबरजस्ती करणी गत साल १४ वटा रहेकोमा यो वर्ष १७ वटा मुद्धा दर्ता भएको छ। जबरजस्ती करणी उद्योग अघिल्लो वर्ष १ वटा रहेकोमा यो बर्ष ७ पुगेको छ।  

फरार अपराधी पक्राउ, बिगो रकम र असुल तथा कैदको बिबरण हेर्दा जिल्लामा विभिन्न अपराधीले २६ बर्ष ९ महिना २० दिन कैद भुक्तान गर्नु पर्नेछ। यसैगरी ८७ हजार ६ सय ५२ रुपैयाँ बिगो रकम असुल भएको प्रहरीले जनाएको छ। त्यस्तै रोल्पा प्रहरीले ट्राफिक कार्बाहीमा २० लाख ४९ हजार राजस्व उठेको छ भने मास्क नलाउने र फैसला कार्यान्वयनमा गरी ९५ हजार ९ सय ५२ रुपैयाँ जरिवाना उठाएको छ।  

यो वर्ष हात हतियारतर्फ पनि रोल्पा प्रहरीले गतिलो सफलता प्राप्त गरेको छ। भरुवा बन्दुक ६ वटा, बारुद ८५.८७ ग्राम र छर्रा ३९ थान बरामद गरेको प्रहरी अभिलेखले देखाएको छ। एसएमजी म्याग्जीन २३ थान, एम १६ म्याग्जीन १ थान, ९ एमएमको राउन्ड १० थान, ७.६२ को राउन्ड २ सय ८ थान र एके ४७ को राउन्ड ७ सय ५२ थान बरामद गरिएको प्रहरीले बताएको छ। जिल्लामा १ सय २२ अभियोजन अन्र्तगत १ सय २३ जना पक्राउ परेका छन्।  

रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले रोल्पामा यो बर्ष २२.५ प्रतिशत अपराध बढेको बताउदै मान्छेहरुमा अपराधिक मानसिकता बढ्दै गएको बताए। ‘एकातिर प्रहरीको सकृयता पनि बढेको छ भने अर्कोतिर व्यक्तिमा अपराधीक मानसिकता पनि बढ्दै गएको देखिन्छ।’

दुर्गम पहाड भौगोलिक बिकटताका कारणले अपराध पत्ता लगाउन चुनौतीपुर्ण भएको बताउँदै सुवेदी भन्छन्, ‘जिल्लामा हामीले सफलता नपाएको अवस्था छैन भने अपराध नियन्त्रणमा स्थानीयहरुको सहयोग पनि राम्रो रहेको छ।’

प्रकाशित: २५ असार २०७८ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App