२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन महिलाको हत्या प्रकरण: सुन्ने र सुनाउनेमै सीमित

जिल्लामा भित्रिने हरेक नयाँ प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रहरी कार्यालय प्रमुख (डिएसपी)ले राजनैतिक दलका नेतादेखि पत्रकारसम्मलाई बोलाएर परिचयात्मक कार्यक्रम राख्छन्। परिचयात्मक कार्यक्रममा नयाँ प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखले जिल्लाका जल्दाबल्दा समस्याका बारेमा औंल्याइदिन वा आवश्यक राय सुझाव दिन आग्रह गर्छन्। 

प्रशासन र सुरक्षा प्रमुखको आग्रहमा नछुटाई ‘सुनाइने र सुन्ने’ विषय हो तीन महिलाको हत्या प्रकरण। हरेक नयाँ प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई सुनाउने गरिए पनि खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ बिश्वकर्मा र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी बिकको हत्या रहस्यमै छ। भर्खरै जिल्ला प्रहरी कार्यालय खोटाङको प्रमुखका रुपमा आएका डिएसपी उमेश लम्साललाई पनि अधिकारकर्मी, नेता, पत्रकार लगायतले तीन महिलाको हत्यारा पत्ता लगाएर पिडितलाई न्याय दिलाउनका लागि सुझाव दिएका गराएका छन्। 

गत असार २१ गते जिल्ला प्रहरी कार्यालय परिषरमा आयोजित परिचयत्मक कार्यक्रममा पत्रकारले तीन महिलाको हत्याको प्रशंग उठाएपछि डिएसपी लम्सालले सो घट्नाको अनुसन्धानलाई प्राथमिकतामा राख्ने बताए। २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी देवी बिकको हत्यामा संलग्न दोषीलाई प्रहरीले अहिलेसम्म पहिचान गर्न सकेको छैन। यसबीचमा जिल्लामा सिडियो र डिएसपी परिवर्तन भइरहे। 

उनीहरुलाई महिलाको हत्यारा पत्ता लगाउनका लागि आग्रह गरिए, अहिले पनि गरिन्छ तर हालसम्म नतिजा ‘शुन्य’ छ। महिला हत्या प्रकरण ‘जिल्लावासी सुनाउने, सिडियो–डिएसपी सुन्ने’ प्रकृयामै सिमित बनेको स्थानीय बताउँछन्। लामो समय बित्दा समेत दोषी पहिचान नहुँदा तीन महिलाको हत्या रहस्यमय बनेको छ। तीन महिलाको हत्यामा संलग्न दोषी पहिचान नभएको विषयमा जिल्लाका बिभिन्न कार्यक्रममा समेत आवाज उठ्ने गरेको छ। दोषी पत्ता लगाउन नसकेको भन्दै प्रहरीको आलोचना भइरहेको छ। हत्याको विषयमा अनुसन्धान जारी रहेको भए पनि ‘रिजल्ट’ प्राप्त हुन नसकेको प्रहरीले बताउँदै आएको छ।  

६ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ। तर, तीन वटै महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन। जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पिडित परिवार त्रसित छन्। प्रहरीको इन्भेस्टीगेसन टिमको अनुसन्धानबाट समेत दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताईन्। ‘अपराध अनुसन्धानमा नेपाल प्रहरीले अन्र्तराष्ट्रिय छवी बनाएको छ,’ उपमेयर राईले भनिन्, ‘तर तीन वटै महिलाको हत्यामा संलग्नको पहिचान हुन नसक्नु अत्यान्तै दुःखदायी कुरा हो।’  

होटलमा काम गर्दैआएकी रिता खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुसेऔंशी जंगलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन्। सिम्पानी बजारका होटल होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो। युवतीको शवको टाउको फुटेका, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएकाले हत्या गरिएको स्थानीयको दाबी छ। घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो। हलेसीमन्दीरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमा उनको खुकुरी प्रहार गरेर हत्या भएको थियो।

देबी माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कने क्रममा सम्पर्कविहिन बनेको दोश्रो दिन साउन ५ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको छ। तर, प्रहरीले तीन वटै ‘घट्नामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन सकेको छैन।  

प्रकाशित: २५ असार २०७८ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App