coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लामा वडाध्यक्षबाटै जातीय विभेद

जाहेरी लिन मान्दैनन् प्रहरी

सिंजा गाउँपालिका–६ मा नेमकिपाबाट निर्वाचित वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा विवेन्द्र नेपालीमाथि जातीय विभेदजन्य गालीगलौजसहित कुटपिट गरेका छन्। असार ६ गते वडाध्यक्ष बुढाले गाउँमा खानेपानी आएको भन्दै घरघरमा खानेपानीको दाबी गरेपछि दलित युवा विवेन्द्रले विरोध गरेका थिए। विरोध गरेको भन्दै दलित युवालाई फोन गरेर जातीय गालीगलौज गरेका थिए।  

अध्यक्ष बुढाले गएको वर्ष असोजमा जुम्ला बजारमा रहेको रेडियो खुला आकाशको ‘वडाका कुरा’ कार्यक्रममा आफूले वडामा धेरै विकास गरेको, वडाअन्तर्गतको काँडागाउँमा ‘एक घर एक धारोको व्यवस्था गरेको’ लगायत बोलेको थिए। त्यो अन्तर्वार्ता सुनेका काँडागाउँ निवासी २६ वर्षीय विवेन्द्र नेपालीले सिंगो गाउँभरिमा एउटा मात्र खानेपानीको धारो भएको र वडाध्यक्षले झुटो बोलेको भनी विरोध गरे। बिस्तारै आफूले गाउँभरि र वडाका युवा तथा गाउँलेसँग पनि यो कुरा गरेको उनले बताए।

‘वडाध्यक्षले रेडियोमा झुटो बेल्नुभयो। गर्दै नगरेको काम पनि गरे भनेर झुटो प्रचार गर्नुभयो,’ विवेन्द्रले भने, ‘यो कुरा मैले गाउँभरि फैलाएँ। वडाभित्रका अरू गाउँका मान्छेलाई पनि सुनाएँ। आफूले पनि विरोध जनाए।’ विवेन्द्रले गरेको विरोध विस्तारै वडाक्ष्यक्षको कानसम्म पुग्यो। उनले आफ्नो विरोध किन गरेको भनी थर्काए। अपशब्दका विरुद्ध उजुरी गर्ने तयारीमा रहेका बेला वडाध्यक्ष बुढाले उनलाई बोलाएरर छलफल गरिरहेका बेला वडाध्यक्षका छोरा नवीन कार्यालयभित्र छिरेर विवेन्द्रलाई जातीय गाली गरेका थिए।  

विवेन्द्रले रेकर्ड गरेका प्रमाणसहित जाहेरी लिएर प्रहरी कार्यालयमा पुग्दा प्रहरीले जाहेरी लिन मानेको छैन। जातीय विभेदको घटना अक्षम्य अपराध भएको अधिवक्ता अनिता तिमिल्सिना बताउँछिन्। विवेन्द्रको उजुरी लिन प्रहरी सहायक निरीक्षक विवेशकुमार चौधरीले नमानेका हुन्। त्यसपछि विवेन्द्रले राष्ट्रिय दलित आयोगलाई गुहारे। राष्ट्रिय दलित आयोगले प्रहरीले जाहेरी लिन नमानेको कारण र प्रहरी कार्यालयमा दिएको जाहेरी दुवै माग्यो। उनले सबै कागजात र प्रमाण मेल गरेर राष्ट्रिय दलित आयोगमा पठाए। यस विषयमा प्रतिक्रिया दिँदै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले यो आयोगको मुद्दा भएको बताए। ‘यो हाम्रो काम हो। हामी विभेद हुन दिँदैनौं,’ उनले भने, ‘दलित समुदायमाथि भएको विभेद सहेर बस्न सकिँदैन।’

प्रकाशित: २५ असार २०७८ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App