१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरका अस्पताललाई कोभिडविरुद्ध लड्न स्वास्थ्य सामग्री

कोभिड सुरक्षाका निम्ति दातृ निकाय सेभ द चिल्ड्रेनले उदयपुरका दुई अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ। दोश्रो लहरको कोभिडप्रति कार्यका लागि सेभको साझेदार संस्था बालविकास समाज (सिडिएस) उदयपुरको समन्वयमा जिल्ला अस्पताल र उदयपुर कोभिड अस्पताललाई आधारभूत स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको हो ।  

सेभका कार्यक्रम संयोजक दीपक बुढाथोकी र सिडिएसकी उपाध्यक्ष सीता तामाङको टोली दुवै अस्पताल पुगेर सामग्री हस्तान्तरण गरेको हो। जिल्लाको चौदण्डीगढी नगपालिका -६ सातधारेस्थित बेलटारमा सञ्चालित ‘उदयपुर कोभिड  अस्पताल’लाई १८ लाख ६४ हजारको सामग्री उनीहरुले चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईलाई हस्तान्तरण गरे।  

कोभिड संक्रमण अहिलेसम्म कायम रहेको र पहिलोभन्दा दोस्रो लहरले नेपालमा धेरै जनधनको क्षति गरिरहेकाले दीर्घकालीन उपचार व्यवस्थापन गर्न सामग्री प्रदान गरेको संयोजक बुढाथोकीले बताए। हरेक विपत्तिबाट बचाउन सेभले नेपाल र नेपालीलाई सहयोग गर्दै आएको स्मरण गर्दै बुढाथोकीले अझै यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।  

सामग्री बुझ्दै मेयर खगेन्द राईले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेर उदयपुरे जनताको स्वास्थ्य सुरक्षाप्रति देखाएको सदभावप्रति आभार व्यक्त गरे। सेभ द चिल्ड्रेन र बालविकास संमाजलको सहयोगले धेरै कोभिड  संक्रमितको अकालबाट ज्यान बचेको मेयर राईले बताए। स्थानीयतहहरुको प्रयासले खोलिएको अस्पताल सञ्चालन गर्न यस्तो सहयोगले मनोबल बढेको बताए ।  

कोभिड  अस्पताल गतवर्षको महामारीका बेला जिल्लाका ८ वटै स्थानीयतहहरु मिलेर खोलेका हुन्। सुरुदेखि अहिलेसम्म कोभिड अस्पताललाई संघीय सरकारले सहयोग नगरेको र प्रदेशले पनि नगन्य सहयोग गरेको मेयर राईको गुनासो छ। माथिबाट सहयोग नभएका कारण स्थानीय सरकारहरुले आफ्नै स्रोतबाट अस्पताल सञ्चालन गरेर जिल्लाबासी संक्रमितको ज्यान बचाउँदै आएको उनको भनाई छ। अस्पताल सुरुदेखि सहयोग गर्ने सेभ र सिडिएसको निस्वार्थ भावको खुलेर प्रशंसा गरेका मेयर राईले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।  

सोही दिन साँझ सिडिएसको टोलीले जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। बुढाथोकी र तामाङले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारलाई १४ लाख २१ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

जिल्ला अस्पताललाई अटोमेटिक (स्वचालित) आईसियु बेड, १० लिटर प्रतिमिनट क्षमताको अक्सिजन कन्सन्ट्रेटर, म्याट्रेस र पिक–लो प्रविधिको बेड, मोनिटर, ट्रली, पल्स अक्सिमिटर, पिपिई सेट, एन्टीजेन किट, २० लिटरको ट्रयास विन, डिस्पोजिवल व्याग, फेस सिल्ड, रुबोट बुक, डेडबोडी व्याग, १६ लिटर क्षमताको स्प्रे पम्प, सेनिटाईजर र मास्कलगायत १६ प्रकारका छन्। आईसियु नभएको कोभिड  अस्पताललाई भने आईसियु बेड बाहेक अन्य सबै सामग्री दिइएको छ।  

दुई अस्पतालसँगै सिडिएसले कटारी नगर अस्पताललाई ७ लाख बढीको सामग्री हस्तान्तरण गर्दैछ भने जिल्ला प्रहरी र सशस्त्रलाई सेनिटाईजर र मास्कलगायत सामग्री प्रदान गरेको छ। अस्पताल, नगरपालिका तथा प्रहरी र सशस्त्रलाई गरी यो वर्ष ४० लाख ६४ हजार ७ सय ८२ रुपैंया बराबरको सामग्री प्रदान गरेको बुढाथोकीले बताए।  

दुई महिनाअघि मात्र जिल्ला कोभिड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी)मार्फत वितरण गर्ने गरी ११ लाख ६४ हजार र उदयपुरगढी गाउँपालिकालाई १ लाख ७० हजारको स्वास्थ्य सामग्री सिडिएसले प्रदान गरेको थियो। यसरी हालसम्म सिडिएसमार्फत सेभले कुल ५३ लाख ९८ हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिसकेको बुढाथोकीले बताए ।

प्रकाशित: २४ असार २०७८ ०६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App