coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चेपाङ समुदायलाई खाद्यान्न सहयोग

तस्बिर : सरिता/नागरिक

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका चेपाङ र अतिविपन्न समुदायलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । अनिकालको चपेटामा रहेका जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने विकट बस्तीका चेपाङ समुदायमा खाद्य संकट देखिएपछि दाताले सहयोग गरेको हो ।

बेनिघाट रोराङ गाउँपालिका वडा नं २ को चोतेस, झिरवाङ र आसपास क्षेत्रका ९० घरधुरी तथा नीलकण्ठ नरपालिका वडा नं ८ ससाहका अतिविपन्न २५ घरधुरी गरी एक सय १५ घरधुरीलाई खाद्यान्न सामग्री सहयोग गरिएको हो । काठमाडौंको  बौद्धमा रहेको इन्सिच्युट फर इन्डिजीनियस अफइयर एण्ड डेभलोभमेन्टले प्रतिपरिवार एक बोरा चामल, दुई किलो नुन, एक लिटर तेल, एक किलो चना, एक किलो दाल, एक किलो चिउरा र एक वटा साबुन सहयोग गरेको हो ।  

बारीमा लगाएको अन्नले मुस्किलले ६ महिनासम्म पु¥याउने चोतेस, झिरबासका स्थानीयहरु कोरोना भाइरस (कोभिड १९) का कारण झनै मारमा परेका छन् । दैनिक ज्यालामजदुरी गरेर छाक टार्नेहरु समेत संकटमा परेका छन् । वृद्धवृद्धा, बालबालिकाहरु भोकै सुत्नुपरेको छ । यहि समस्यालाई मध्यनजर गर्दै बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष टंक बहादुर थापाको उपस्थितिमा दुई लाख १० हजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

त्यस्तै नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर चेपाङ तथा विपन्न परिवारका लागि गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिलवाल मार्फत सामग्री हस्तान्तरण गरिएको हो ।  यस अघि बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को भूमिडाडा, रोतेस, बुङपुङ, बोम्राङ, सामाबास वडा नं ८ को जीरवाङ, यारवाङ, गोठीभन्ज्याङ, साचक, दुङवाङका चेपाङ समुदायलाई खाद्यन्न सामग्री वितरण गरिएको छ ।  

बारीमा उब्जनी भएको अन्नपातले दक्षिणी भेगको महाभारत पर्वत शृखला आसपासका स्थानीयलाई मुस्किलले पाँच महिना खान पुग्छ । बाँकी समय यस क्षेत्रका अधिकांश परिवारले पेटभरी खान पाउँदैनन् । घरमा अन्नपात सकिएपछि टाँकीको मुन्टा, काँचो आँप, आरु खाएर जीवन चलाउनु यहाँका मानिसको बाध्यता हो । निषेधाज्ञाका कारण दैनिक ज्यालादारीको काम पनि रोकिएकोले पनि अघिल्लो वर्षहरुमा भन्दा यस वर्ष चरम अनिकालको चपेटामा परेका छन् ।

प्रकाशित: २३ असार २०७८ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App