२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेपत्ता नाबालकको अवस्था अझै अज्ञात

बेपत्ता भएका नाबालक विवेक बिष्टको तस्बिर ।

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार (हिजो) बेपत्ता भएका साढे तीन वर्षका एक नाबालकको अवस्था अझै अज्ञात छ। स्थानीय दिलिप बिष्टका नाबालक छोरा विवेक सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका हुन्।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार उनी दिदी नाता पर्ने १५ वर्षीया पुनम बिष्टसँगै घर नजिकै जामुन खान गएका थिए। उनका अनुसार जामुन खाएर फर्किने क्रममा करिव सवा ११ बजेतिर पुनमले विवेकलाई सडकमै छोडेर साथीको घरमा गएको देखिन्छ। पुनमले आफू साथीको घर जाने बेला विवेकले समेत नजिकैको सधै खेल्न जाने आफ्नो साथीको घरमा जान्छु भनेको प्रहरी प्रमुख अधिकारीले बताए।

उनले आफू करिव पाँच मिनेटमा फर्किंदा विवेकलाई त्यहाँ नदेखेको प्रहरीलाई बताएकी छन्। उनले विवेककी आमालाई साथीको घर खेल्न गएको जानकारी दिईन्। विवेककी आमा करिव १० मिनेटपछि खोज्न गएकी थिईन्। उनले विवेकलाई त्यहाँ नदेखेपछि खोजी सुरु गरिएको थियो।  

स्थानीयले नजिकैको सबै ठाउँमा खोजी गरेका छन्। विवेक बेपत्ता भएको ठाउँ नजिकै जमरा कुला रहेको छ। स्थानीयले कुलामा समेत खोजी गरिरहेका छन्।  

इलाका प्रहरी कार्यालय टीकापुरमा नाबालकको खोजीका लागि समयमा आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्त बमबहादुर बिष्टले आरोप लगाए। ‘करिब १ बजेको समयमा प्रहरीलाई खबर गरेका थियौं, दुई जना प्रहरीलाई मात्रै खटाए’, उनले भने, ‘साँझ साढे ५ बजे आफै प्रहरी कार्यालयमा पुगेर दवाव दिएपछि मात्रै थप प्रहरी परिचालन भएको हो।’

कैलाली प्रहरी प्रमुख अधिकारीले घटनाका बारेमा प्रहरीलाई ढिलो गरी जानकारी दिईएको बताए। उनले साढे ३ बजे मात्रै प्रहरीले घटनाका बारेमा जानकारी पाएको बताए। ‘प्रहरीलाई ढिलो जानकारी दिईयो’, उनले भने,‘जानकारी पाउने बित्तिकै प्रहरी परिचालन भएको छ।’

घर नजिकैबाट अचानक नाबालक हराएपछि खोजी कार्यका लागि भन्दै गए रातिदेखि नै कैलाली प्रहरी प्रमुख अधिकारी टीकापुर पुगेका छन्। आज बिहानैदेखि दुईवटा कुकुरको प्रयोग गरेर घटनाको अनुसन्धान भैरहेको छ।

घर नजिकैबाट नाबालक बेपत्ता भएपछि स्थानीयमा त्रास फैलिएको छ। उनीहरुले कसैले विवेकलाई अपहरण गरेको हुनसक्ने आशंका समेत गरेका छन्।  

कैलाली प्रहरी प्रमुख अधिकारीले घटनाको सबै कोणबाट अनुसन्धान भैरहेको जानकारी दिए। उनले प्रहरीको टोली नाबालकको खोजीमा जुटेको बताए।

प्रकाशित: २२ असार २०७८ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App