२ असार २०८१ आइतबार
image/svg+xml
समाज

'बरु म मर्छु, छोरालाई बचाउँछु भनेर मिर्गौला दिएँ'

छोरालाई मिर्गौला दिएर बचाउने आमा धनकुमारी परियार । तस्बिर : दमन राई/नागरिक

दुबै मिर्गौला फेल भएका खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीका २८ वर्षीय सुरेश दमाई (परियार) जीवन र मरणको दोसाँधमा थिए। मिर्गौला प्रत्यारोपण गर्नु वा ज्यान गुमाउनुको विकल्प थिएन उनी सामु। रोगले शिथिल भएका उनी सुकेर दाउराजस्ता भइसकेका थिए। तर, त्यो बेला सुरेशका लागि आफ्नै आमा धनकुमारी दमाई भगवान बनेर निस्किइन्। दया र मायाकी खानी धनकुमारीले मिर्गौला दिएर छोरा सुरेशलाई पुनर्जन्म दिएर बचाईन्। हाल ६५ वर्ष पुगेकी धनकुमारी हरेक आमाले आफ्नो सन्तानको लागि जस्तोसुकै मूल्या चुकाउन सक्छिन् भन्ने उदाहरण बनेकी छन्। 

धनकुमारीका कान्छो छोरा सुरेश शारीरिकरुपमा स्वस्थ थिए। चैतको समय थियो। लुगा सिलाउने कामका लागि उनी मेसिनसहित तापखोला तरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका पुगेका थिए। काम गर्दागर्दै अचानक सुरेशको आँखाको ज्योती बन्द हुन पुग्यो। धनकुमारीले सुरेशलाई लिनका लागि आफन्तलाई हारगुहार गरिन्। सुरेशलाई डोर्‍याउँदै घर पुर्‍याइयो। 

बासपानी घर भएका युवा नेता राजन राई (हाल प्रदेशसभा सांसद) तथा उनकै परिवारको पहलमा सुरेशलाई आँखाको उपचारमा लगियो। अस्पतालमा चश्मा दिइयो तर केही समयपछि उनको दुबै मिर्गौला फेल भएको पुष्टी भयो। २०७३ साल चैतमा उपचारका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेपछि मात्र उनको मिर्गौलामा समस्या भएको पत्ता लागेको हो। मिर्गौला फेल भएको पुष्टी भएपछि सुरेशको दुई वर्षसम्म डायलासिस गरियाे। डायलासिसले मात्र स्वास्थ्य ‘रिकभर’ नहुने भएपछि सुरेशको २०७५ साल असार २१ गते अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरिएको हो।  

सुरेश अस्पतालको बेडमा छट्पटिएको देख्दा त्योभन्दा बढी पिडा आमा धनकुमारीलाई हुन्थ्यो। प्रत्यारोपण गर्ने मिर्गौला अन्य व्यक्तिबाट जुटाउन सम्भव थिएन। त्यो अवस्थामा ‘बरु आफू मर्ने, छोरालाई मर्न नदिने’ भन्दै धनकुमारी आफै मिर्गौला दिन अघि सरेकी थिईन्। ‘म बुढी भइसकेँ, मैले मर्दा केही हुन्न, छोरो बाँच्नुपर्छ, उसको श्रीमती छ, एउटा छोरी छ। बरु म मर्छु भनेँ,’ धनकुमारीले भनिन्, ‘हाम्रो नेता (राजन राई) र उहाँकै परिवारको सहयोगमा अस्पतालमा पुग्यौं। छोरालाई मिर्गौला दिएँ। अहिले आमा छोरालाई नै राम्रो छ।’  

छोरा बिरामी भएको चिन्ताले धनकुमारी दाउराझैं सुकिसकेकी थिईन्। मिर्गौला प्रत्यारोपणका लागि अपरेशन कक्षमा लैजाँदा पनि उनलाई छोराको चिन्ता थियो। सेतो गाउन लगाएका महिला स्वास्थ्यकर्मीले ‘आमा! नडराउनु’ भनिरहेका थिए। तर, त्यो बेला डर नलागेको धनकुमारी बताउँछिन्। मिर्गौला प्रत्यारोपणपछि ५ दिनको औषधि दिइएको थियो। त्यो पाँच दिनको औषधि सेवन गरेयता हालसम्म उनले औषधि सेवन गर्न परेको छैन। त्यो बेला दिशापिसाव गर्नका लागि कसैको साहरा पनि लिइनन्। हालसम्म स्वास्थ्यमा कुनै समस्या नदेखिएको उनी बताउँछिन्। मेलापात, घाँस, दाउरा, अर्मपर्ममा उत्तिकै क्रियासिल छिन् उनी। ‘काटेको घाउ रातका समयमा चिलाउँछ, त्यो भन्दा अरु समस्या छैन,’ धनकुमारीले भनिन्, ‘नंग्रा लगाएर कन्याउनु हुन्न। लुगामाथिबाटै मडार्ने गरेको छु।’  

मिर्गौला प्रत्यारोपणपछि सुरेशको स्वास्थ्य अवस्था पनि सामान्य छ। उनले धरानमा टेलर्सको काम गरिरहेका छन्। हाल सुरेशको औषधिमा हुने खर्च प्रदेशसभा सांसद राईकै परिवारबाट जुटिरहेको धनकुमारीले बताईन्। मधेश गएका श्रीमान टेकबहादुर लामो समयसम्म घर नफर्किएपछि धनकुमारी एक्लैले बनिबुतो गर्दै जेठो छोरा दिलबहादुर र कान्छो छोरा सुरेशलाई हुर्काएकी हुन्। 

जेठो छोरो दिलबहादुर शारीरिकरुपमा अशक्त छन्। दमाई परिवारको आफ्नै जग्गा जमिन पनि छैन। हाल छाप्रोमा बसिरहेका धनकुमारी र छोरा दिलबहादुरका लागि प्रदेशसभा सांसद राईकै पहलमा घर निर्माण भइरहेको छ।

प्रकाशित: २१ असार २०७८ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App