coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजमार्गमा पहिरो नै पहिरो : ज्यान जोगाउनै मुस्किल

पूर्वपश्चिमबाट संघीय राजधानी आवातजावतको मुख्य लाइफलाइन पृथ्वी राजमार्गमा बाढी, पहिरो, सवारीजामले सधैँजस्तो तनाव व्यहोर्नुपरेको छ। बर्षायाम सुरु भएसँगै राजमार्ग छेउका सडक भासिने, पुल भत्किने, पहिरो तथा लेते झर्ने समस्याले हरेक वर्ष पिरोल्ने गरेको छ। यो वर्षपनि वर्षा लागेदेखि सोही क्रम दोहोरिएको छ। हजारौँ सवारीसाधन आवातजावत हुने राजमार्ग बाढीपहिरोका कारण छिनछिनमा अवरुद्ध हुन पुगेको छ।  

चारदिनदेखिको लगातार बर्षातले धादिङको बेनिघाट रोराङको वडा नं १० जवाङ खोलामा पहिरो जादाँ शनिबार पाँचवटा सवारी साधन पुरिए। दुई जनाले ज्यान गुमाउनु प¥यो भने छ जना घाइते भए।  गत वर्ष साउन ५ गतेको भारी बर्षापछि जवाङखोलामा आएको बाढीले पृथ्वीराजमार्ग छेवैको  ४ वटा घर बगायो। दिउँसो आएको बाढीबाट मानवीय क्षति त भएन। तर ४ परिवारले आँखै अगाडि आफ्नो घर नामोनिशान नभेटिने गरी बगाएर त्रिशुली नदीमा पुर्याएको देख्नुपर्योे। पहिरोले राजमार्ग नै भत्कियो, मौवाखोलाको पक्की पुल भत्काउदाँ तीन दिनसम्म राजमार्ग ठप्प हुन पुगेको थियो। गतवर्षको बाढीपहिरोले दिएको घाउ निको नहुँदै यो वर्षपछि सोही ठाउँमा विपत्ति निम्तिएको छ।  

जवाङखोलामा राजमार्ग भत्काउनु, घर बगाउनु, मौवाखोला पुलको एप्रोच रोड बगाउनु उक्त क्षेत्रमा परेको भारी बर्षात् मात्रै कारण होइन। राजमार्गको माथिपट्टिबाट अवैध ढुङगा तथा वालुवाखानी तथा सर्वे र इन्जिनियरिङ डिजाइनबिनै जथाभावी खनिएका सहायक सडक नै क्षतिका मुख्य कारण हुन्। पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जवाङखोलाबाट एक किलोमिटरमाथि खोलामै रहेको अबैध अन्नपूर्ण चुनढुङगा खानीका कारण हरेक वर्ष तनाव व्यहोर्नु परेको छ।

पानी पर्नासाथ चुनढुङगाबाट खसेको लेते र पहिरो राजमार्गमा थुप्रिने गरेको छ।  

२८ वर्षदेखि त्यसक्षेत्रमा सडक विभागबाट सडक सफा गर्न खटिएका (लेन्थ वर्कर) दयानिधि सिलवालले पछिल्ला वर्षहरुमा राजमार्गमा पहिरो जाने र सडक बगाउने क्रम बढेर गएको देखेका छन्। ‘आजकाल कुनै ठूलो पानी नपरिकनै राजमार्ग छेवैको बालुवा खानी र गाउँतिर जाने सडकको मुखैबाट हिलो, लेदो, माटो र गेग्रान आएर राजमार्ग भरिन्छ, अनि राजमार्ग घण्टौ बन्द हुने गरेको छ’ सिलवालले भने, ‘एक दशकअघि सम्म वर्खामै पनि राजमार्गमा त्यसरी हिलो, लेदो आउँदैनथ्यो तर पछिल्ला वर्षहरुमा वालुवा र रातोमाटोको लेदोले सवारी साधनहरु नै बगाउने र पुर्ने गरि राजमार्गमा क्षति पुग्न थालेको छ ।’

धादिङ र चितवनको सिमाना मौवाखोलादेखि नौबिसेसम्म सानाठूला गरी ३० भन्दा बढी पहिरो गएको छ। बेनिघाटदेखि मौबाखोलासम्मका सडकको हरेक १०÷१० मिटरको दूरीमा पहिरो झरेको छ। मुख्य राजमार्ग हुँदै खोलिएका सहायक मार्गबाट आउने लेदो माटोले पछिल्ला वर्षहरुमा राजमार्ग अस्तव्यस्त बन्ने गरेको छ। न राजमार्गछेउका स्थानीय सरकारले जथाभावी सर्वे तथा डिजाइन नगरीकनै सडक खन्ने काम रोकेका छन् न त सडक विभागले राजमार्गमा भइरहेको क्षति रोक्ने उपाय निकालेकोे छ। उता संघीय सरकार तथा प्रदेश सरकारले सडक क्षति गराउने अवैध खानीहरुलाई रोक्ने तथा नियन्त्रण पनि गरेको छैन।  

स्थानीय सरकारले खनेका अधिकांश सडकमा हिउँदमा जेनतेन गाडी गुड्छन, बर्षामा त्यही सडक खोला बनेर बग्ने गरेको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ का स्थानीय एवं बातावरण संरक्षण अभियन्ता उत्तम कँडेलले बताए। ‘मुख्य राजमार्गबाट सहायक मार्गका लागि जताभावी खोलिएका नयाँ सडकका कारण हैरानी खेप्नु परेको छ’, कडेंलले भने, ‘पछिल्ला दुई तीन वर्षहरुमा वर्षातको समयमा राजमार्गको यात्रा निकै चुनौतीपूर्ण देखिन्छ ।’  

पछिल्ला वर्षहरुमा ग्रेडिङ (बाटोको भिरालोपना)को मापदण्डबिनै र इन्जिनियरको निर्देशनवेगर डोजर चालकले खनेका सहायक सडकले राजमार्गलाइ सवैभन्दा धेरै क्षति पु¥याइरहेको उनले बताए।  

पृथ्वीराजमार्गमा दैनिक १३ हजार गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको रेकर्ड छ। एक घण्टामात्रै सवारी आवागमन बन्द हुँदा दिनभर राजमार्ग अस्तब्यस्त बन्न पुग्छ भने बर्षातको समयमा ठाउँ ठाउँमा हुने राजमार्ग अवरुद्धले राजमार्गको यात्रा असहज, जोखिमपूर्ण र पट्यारलाग्दो बन्ने गरेको छ। धनगढीबाटबाट काठमाडौँ हिडेका धनगढीका पदम केसी पहिरो पार गर्दै चौथो दिनमा धादिङको जवाङखोलाको पहिरो पारे। ‘बाटो भरि पहिरो नै पहिरो छिचोल्दै चौथो दिनमा काठमाडौँ पुगिने भयो,’ उनले भने, ‘राजमार्गमा कतिबेला पहिरो झर्ने हो, डरैडरमा यात्रा पार गरिरहेको छु।’  

बाढी पहिरो, नदीको कटान जस्ता विपद्बाट गाउँबस्ती, बालीनाली र मानव स्वास्थ्यमा पु¥याउन सक्ने जोखिम न्युनिकरणको लागि सरोकारवाला निकाय मौन देखिएका छन्। ‘सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षाका निकाय, गैसस, रेडक्रस, स्वास्थ्यलगायत सरोकारवालासहितको समिति बनाएर तथ्याङ्क संकलन कार्य भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘तर जोखिमयुक्त क्षेत्रको अवस्था र विपद् आइपरिहाले उद्धार सामाग्रीको अवस्था कुनै तयारी छैन।’  

पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ गाउँपालिकाले दुई वटा डोजर तयारी अवस्थामा राखेको अध्यक्ष पीत्तबहादुर डल्लाकोटीले बताए। ‘पहिरोले अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र सडक विभागको डोजर तथा अन्य उपकरण तयारी अवस्थामा राखेका छौँ,’ अध्यक्ष डल्लाकोटीले भने, ‘पहिरो खसेको खबर आउने बित्तिकै डोजर पठाउने गरेका छौँ।’  

जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा न १० जवाङखोला, तिक्राङखानी, वडा नं ७ कृष्णभिर, वडा नं ५ को झिल्केडाँडा, गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजार, थाक्रे गाउँपालिका वडा नं २ को एक्लेफाँट, गजुरी गाउँपालिकाको वडा नं ५ घाटबेसी, वडा नं २ फूर्केखोला लगायतका ठाउँहरुमा पहिरो गएको छ। त्यस्तै धादिङबेसीदेखि फूकेखोलाका विभिन्न ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएका छन्। यता मुग्लिन नारायणगढ सडकखण्डमा पनि दिनहुँ पहिरो खसेर अवरुद्ध हुने गरेको छ।

प्रकाशित: १९ असार २०७८ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App