१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धनगढीमा छैन सार्वजनिक शौचालय, यात्रुलाई सास्ती

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा आवश्यकताअनुसारको सार्वजनिक शौचालय छैन। धनगढीका मुख्य व्यापारिक केन्द्र, सार्वजनिक सरोकारका कार्यालय, चौराह, चोक तथा मुख्य बजार लाइनमै सार्वजनिक शौचालय नहुँदा आगन्तुक तथा यात्रुले सास्ती खेप्नु परेको छ।

कैलालीलाई २०७५ वैशाख ३० गतेका दिन खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। जिल्लाकै सदरमुकाम मात्रै नभएर धनगढी सुदूरपश्चिमकै प्रमुख व्यापारिक हव पनि हो। धनगढीमा विभिन्न काम विशेषले आएका आगन्तुक तथा यात्रुलाई सार्वजनिक शौचालय नहुँदा सडक किनार, झाडी तथा नालामा दिसा पिसाब गर्नुपर्ने बाध्यता छ। सार्वजनिक स्थलमा शौचालय नहुँदा बजार निस्कनु अघि घरमै शौच गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।    

‘धनगढी आफैमा सम्पन्न उपमहानगरपालिका हो, तर यहाँ अहिलेसम्म मुख्य बजार लाइनमा सार्वजनिक शौचालय नै छैन,’ डोटीबाट काम विशेषले धनगढी आइपुगेका आनन्द खत्रीले भने,‘बजारमा पिसाव लाग्यो, च्यापेर बसेँ।’ खुला दिसामुक्त घोषणा गर्नुअघि कमसेकम धनगढी बजारका ठाउँ–ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिदिएको भए यात्रुलाई झाडी तथा खोला खोल्सी खोज्दै हिँड्नु पर्ने टर्ने उनी सुझाउँछन्। ‘शौचालय भनेको सहर संस्कारी दखिनु सरह हो,’ उनले भने,‘तर, धनगढीमा शौचालय नै छैन भन्दा लाजलाग्दो भयो।’  

सार्वजनिक शौचालय नहुँदा बजार पुगेका यात्रु तथा उपभोक्तालाई समस्या थपिँदै गएको छ। सार्वजनिक शौचालय नहुँदा कहिलेकाहीँ बजारमै दिसा पिसाव लाग्दा चिने जानेको होटल तथा नास्ता पसलमा पस्नु पर्ने बाध्यता रहेको स्थानीय दानबहादुर ओली बताउँछन्। उनले भने, ‘हामी स्थानीयले त बजारमा शौच लागे घर पुगेर गरौला, तर बाहिरबाट आएकाहरुलाई भने दिसा पिसाव पचाएर बस्नुपर्ने बाध्यता छ।’ प्रदेशकै मुख्य व्यापारिक केन्द्र तथा राजधानी भएकै सहर धनगढीमा कमसेकम चोकचोकमा सार्वजनिक शौचालय अनिवार्य बनाइनु पर्ने अर्का स्थानीय राजेन्द्र चौधरी बताउँछन्।  

धनगढी चौराहदेखि अस्पताल लाइनसम्म कुनै पनि ठाउँमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुँदा काम विशेषले बजार आउनेहरुलाई बढी समस्या पर्ने गरेको हो। उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा धनगढी सफा र स्वच्छ सहरको परिकल्पना गरेको छ। तर, नगरमै स्वच्छ, सफा वातावरण बनाउनका लागि चाहिने सार्वजनिक शौचालय नै छैन।

खुला दिसामुक्त अभियानकै लागि सरकारले करोडौँ खर्चे पनि सार्वजनिक स्थलमा शौचालय नहुँदा धनगढी खुला दिसामुक्त घोषणा अर्थहीन भएको अर्का स्थानीय रविन्द्र जोशी बताउँछन्। ‘सार्वजनिक शौचालय नहुँदा बजारमा पिसावै लाग्दा पनि पचाउनुपर्ने बाध्यता छ,’ उनले भने।

बजारमा पिसाव लाग्दा धेरैजसो यात्रुहरु संघीय प्रहरी कार्यालयको अगाडि मुख्य सडक किनारमै रहेको झाडीमा जाने गरेको उनले बताए। ‘धेरैजसो यात्रुहरु सवारी साधन रोकेर झाडीमै जान्छन्,’ उनले भने ।

यात्रुको आवतजावत बढी हुने ट्राफिक चौराह, रातोपुल, एलएनचोक, अस्पताल लाइन, क्याम्पस चोक, मोती चोक, चटकपुर एरिया नजिक सार्वजनिक शौचालय अनिवार्य हुनुपर्ने बताउँदै उनले भने,‘यात्रुको चाप भएकै स्थान वरपर उपमहानगरपालिकाले अहिलेसम्म शौचालय बनाउन सकेको छैन।’ सार्वजनिक शौचालय अनिवार्य भएका स्थानमा पनि नबनाएरै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको बताउँदै उनले भने,‘यो नियमसंगत भएन, ठूला सहरमा कमसेकम एक÷दुई ठाउँमा त सार्वजनिक शौचालय बनाइनु पथ्र्यो।’

प्रकाशित: १९ असार २०७८ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App