२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पञ्चायती व्यवस्थाविरुद्ध लड्न ‘सेल्टर’ दिने झिमामायाँ गुरुङको निधन

पञ्चायतविरुद्धको आन्दोलनमा लागेका नेतालाई सेल्टर दिएकी झिमामायाँ गुरुङ। तस्बिर : दमन राई/नागरिक

भूमीगत बनेर पञ्चायती व्यवस्थाविरुद्ध लड्ने योद्धालाई ‘सेल्टर’ दिएर सहयोग गर्ने खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुर चापखर्ककी झिमामायाँ गुरुङको निधन भएको छ। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा होमिएका भूमीगत आन्दोलनकर्मीलाई सरकारी सुरक्षा निकायबाट छलिएर सहयोग गरेकी गुरुङको १०० वर्षको उमेरमा निधन भएको हो। 

विक्रम सम्वत १९७८ सालमा जन्मिएकी झिमामायाँको शुक्रबार बिहान ११.५० बजे घरैमा निधन भएको छोरा मोहन गुरुङले बताए। तीन दिन अघिदेखि उनी पेट पोल्ने समस्याबाट ग्रसित भएकी थिईन्। जोखिम मोलेर तत्कालिन भूमीगत आन्दोलनकर्मीलाई सेल्टर दिँदै पञ्चायती व्यवस्थाविरुद्ध लड्न हौस्याउने झिमामायाँलाई त्यो बेला भूमीगत जीवन विताएका वामपन्थी नेताले ‘सेल्टरदाता’ मान्दैआएका छन्।  

प्रशासन र प्रहरीले निगरानीमा राखेका र खोजी गरिरहेका नेता तथा कार्यकर्तालाई त्यो बेला आश्रय दिनु चानचुने कुरा थिएन। र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हुँदैनथे। राजनैतिक चेतको विकास पनि भएको थिएन। तर, गुरुङले जिल्लामा पञ्चायतविरुद्धको भूमीगत आन्दोलनमा लागेका कैयौं आन्दोलनकर्मीलाई सेल्टर दिएकी थिईन्। लेखपढ नभए पनि सामाजिक रुपान्तरणका सवालमा मरिमेट्ने गुरुङलाई वामपन्थी नेताले ‘आदर्श पात्र’का रुपमा सम्मान दर्शाउने गरेका छन्। विशेषगरी शासक र शासनकाविरुद्धमा असहमती जनाउँदै भूमीगत बनेका जिल्लाका राजकुमार अथक, रमेश राई, बाबुराम राई, बबी चामलीङ लगायतका वामपन्थी नेतालाई उनले मतानमा मकैको खोस्टामा लुकाएर सहयोग गरेकी थिईन्। 

तत्कालीन प्रहरी र प्रशासनको नजरबाट सुरक्षित, एकान्त र हत्तपत्ता कोही नपुग्ने भएकाले पनि भूमीगत नेताले २०३९ सालताका गुरुङको घरलाई सेल्टर बनाएका थिए। उनीहरुमध्ये बबी चामलीङ हाल एमाले नेता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख छन्। रमेश राई जनता समाजवादीका केन्द्रीयस्तरका नेता छन्।  

झिमामायाँ सानैदेखि क्रान्तिकारी स्वभावकी थिईन्। व्यवस्थाविरुद्धमा लडेका नेतालाई उनले खाना र आवासको व्यवस्था मिलाएर हौसला प्रदान गरे। सुरक्षित आश्रयका कारण भूमीगत नेताले उनको घरमा दस्तावेज, माओत्सेतुङ, काल माक्र्स लगायतका कम्यूनिष्ट नेता सम्वन्धी पुस्तकहरु लुकाएर राख्ने गरेका थिए। प्रहरी आउने थाहा भए त्योभन्दा अगाडि नै पुस्तक जलाइदिनु भनेर हिँड्थे। त्यस्ता पुस्तक प्रहरीले भेटेको भए झिमामायाँको सर्वस्वहरण हुनसक्थ्यो, जेलमा हालिन्थ्यो या गोली नै हानिन्थ्यो। सुरक्षित सेल्टरकै कारण २०४२ सालमा अखिल एकता पाँचौंको पाँचौं जिल्ला सम्मेलन हौंचुरपोखरीमा गरिएको थियो। इन्द्रेणीपोखरीमा गर्ने भनिएको सम्मेलन प्रशासनले चाल पाएपछि रातारात झुक्याएर हौंचुरपोखरीमा सारिएको छोरा मोहन गुरुङ बताउँछन्।  

समाजको क्रान्तिकारी रुपान्तरणका लागि महिला मुक्ति आन्दोलनमा उठेका सबै खाले अभियानमा आफूलाई समाहित गर्दै निरंकुसता विरोधी क्रान्तिकारी योद्धालाई आश्रय स्थल उपलव्ध गराएर महिला आन्दोलनमार्फत देश र जनताको पक्षमा पुर्‍याएको योगदानको मूल्यांकन गरी झिमामायाँलाई एमाले निकट अखिल नेपाल महिला संघले ६५ औं स्थापना दिवसको अवशर पारेर २०७३ साल फागुन २४ गते अभिनन्दन गरेको थियो। पञ्चायती व्यवस्थाकाविरुद्ध भूमीगत नेतालाई हौसना स्वरुप संरक्षण दिएकी उनी बुढेसकालमा पनि सक्रिया रहिन्।  

पञ्चायतकालिन नेता बिरेन्द्रकेसरी पोखरेल, पर्शुराम राई, दिपबहादुर राई, रत्न राई, केदार राईदेखि हालका एमाले नेता पर्शुराम कार्की, बिशाल भट्टराई (हाल प्रतिनिधिसभा सदस्य) लगायतसँग उनी परिचित थिईन्। उनका छोरा मोहन पनि वामपन्थी राजनीति हुँदै हाल जनता समाजवादीको राजनीतिमा क्रियासिल छन्। मुलुकमा बेला–बेलामा शासन र शासक परिवर्तन भए पनि जनताको प्रबृत्तिमा कुनै परिवर्तन नआएको झिमामायाँको दुखेसो थियो।

प्रकाशित: १८ असार २०७८ ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App