१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

चट्याङ लागेर एक जनाको मृत्यु

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ। छिमेकीको घरमा जाने क्रममा पहिरोले बगाएर एक किलोमिटर तल घैयाबारी भन्ने ठाउँमा शव फेला परेको चितवन प्रहरीले जानकारी दिए।  

त्यस्तै राप्ती नगरपालिका वडा न १२ को पर्खाल भन्ने ठाउँमा पहिरा खस्दा दुई वटा घर र एउटा गोठ बगाएको छ। ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।  घर बगाउँदा तीन जना बेपत्ता छन्। चितवनको दुर्गम क्षेत्र भएका कारण बेपत्ताहरुको खोजीमा समेत कठिनाई भएको थापाले बताए।

त्यस्तै बिहीबार बिहान राप्ती नगरपालिका–९ लालपुरमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ। ४५ वर्षीया बिजुलीमाया श्रेष्ठलाई आफ्नै घर नजिक खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ। चट्याङ लागेर गम्भीर भएकी उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै निधन भएको प्रहरीले जनाएको छ।

बाढीपहिरोले चितवनका खोलानालामा पानीको बहाव बढेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई थप सर्तक रहन अनुरोध गरेको छ। प्रशासन कार्यालयले सूचना जारी गर्दै चितवनको नारायणी, राप्ती, रिउलगायतका नदी तथा खोलामा बाढीको जोखिम थप बढ्दै गएकोले आवश्यक सतर्कता अपनाइ सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो।

चितवनको पूर्वीभेगका चार नगरपालिकाको राप्ती, खैरहनी, कालिका र रत्ननगर नगरपालिकाका विभिन्न स्थानमा खहरेखोलाबाट आएको बाढीले बस्तीहरु डुबानमा परेको छ भने पुलमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। ‘चितवनको विभिन्न नदीहरुमा जलसतह बढेर बाढीपहिरो र डुबानसहित कटान भइरहेको छ’ उनले भने, ‘खोज तथा उद्धारको सामानसहित तयारी अवस्थामा रहेका छौँ।’

प्रशासनले नदीमा माछा मार्न, दाउरा खोज्न र पौडी खेल्न नजान विशेष निर्देशन दिएको छ।

प्रकाशित: १७ असार २०७८ १५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App