१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विपदमा छैन तयारीः पहिरोले राजमार्गका ठाउँठाउँमा अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डमा गएको पहिरो । तस्बिर सौजन्य : विनोद श्रेष्ठ

रुकुमबाट काठमाडौँ फर्कदै गरेका पत्रकार धनवीर दाहाल पहिरो छिचोल्दै मुस्किलले काठमाडौँ पुगे। ‘नारायणगढदेखि सानोठूलो गरी सात, आठवटा पहिरो पार गर्दै मुस्किलले यात्रा गरियो’, उनले भने, ‘यात्रा गर्दा पनि माथिबाट पहिरो खस्छ कि भन्ने डरैडरमा यात्रा गरियो।’ उनी मात्र होइन राजमार्गमा यात्रा गर्नेहरु कतिबेला पहिरो जाने हो भन्ने डरैडरमा यात्रा गर्न बाध्य छन्।  

केही दिनदेखिको वर्षातले धादिङमा बाढी पहिरोको जोखिम उच्च बनेको छ। जिल्लाका अधिकांश नदी तथा खोलाहरुमा पानीको बहाव बढेको छ। सडक माथिबाट झरेको पहिरो र लेदो माटोले पृथ्वीराजमार्ग अवरुद्ध हुने र खुलाउने काम जारी छ। अविरल वर्षासहित गएको पहिरोले बिहीबार दिनभर पृथ्वी राजमार्ग र मुग्लिन–नागरायणगढ सडकखण्डका विभिन्न ठाउँहरु अवरुद्ध  भएको छ। लेदोसहित खसेको पहिरोले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जोगिमारामा तीन ठाउँमा पहिरो गएको छ।

तिग्राङखानीदेखि जवाङखोलासम्म तीन ठाउँमा राजमार्ग अवरुद्ध हुन पुग्यो। त्यस्तै मुग्लिन–नारायणगढ सडकखण्ड पनि पहिरोका कारण बिहानैदेखि अवरुद्ध छ। इच्छाकामना गाउँपालिका वडा नं ३ को घोप्टेभिर, वडा नं ५ को दुई नम्बर पुल, वडा नं ६ को पाँचकिलो र आसपासमा झरेको पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको मुग्लिन प्रहरीका प्रहरी निरीक्षक सूर्यबहादुर ज्वालाले जानकारी दिए।

त्रिशुली नदीको बाढीले गजुरी गाउँपालिका–५, घाटबेसी नजिकै बिहीबार बिहान निर्माणाधीन मोटरेबल पुल मुनी रोकिराखेको स्काभेटर बगाएको छ। बेनिघाट रोराङ–२, महादेवस्थानमा निर्माणाधीन ह्वासिन सिमेन्ट कम्पनी आसपासमा बाढी पसेको छ। कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी सिमेन्ट कम्पनीभित्र पसेको हो।  

सिमेन्ट कम्पनीको छेउछाउमा भएको सामान बगाएको छ। बाढीले स्थानीय सिताराम गुरुङले संचालन गर्दै आएको होटल बगाएको छ। अर्को २ वटा होटलमा पनि बाढी पसेको छ। ह्वासिन सिमेन्टको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने चाइनिजहरुको लेबर क्याम्पमा पनि बाढी पसेपछि कामदारहरुलाई सुरक्षित स्थानमा सारिएको छ। अघिल्लो वर्षको भन्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन्। अघिल्लो वर्षको बाढीले सिमेन्ट कम्पनीमा ठूलो क्षति पुर्‍याएको थियो।

ज्वालामुखी गाउँपालिका–६, पोखरेपानीका जुना राना मगरको गोठ पहिरोले बगाएको छ। गोठमा बाधिराखेको भैसी, बाख्रा, कुखुरा सबै मरेको स्थानीयले बताएका छन्। बाढीमा माछा टिप्न खोज्दा बिहीबार बिहान त्रिशुली नदीले एक युवकलाई बगाएको छ। बाढी आएको समयमा बेनिघाट रोराङ–५, बिशालटर नजिकै नदी किनारमा माछा मार्दै गर्दा २० वर्षका लक्ष्मण बिसुराल बेपत्ता भएका छन्। बाढीमा बेपत्ता बिसुरालको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बेनिघाट रोराङको मलेखुखोला, गल्छीको महेशखोला, थाक्रेको आग्राखोला, धादिङबेसीको थोपलामा आएको बाढी बढ्ने क्रममा छ। खनियाबासको आँशीखोला, नेत्रावतीको किन्ताङखोला, लपाङखोला, त्रिपुरासुन्दरीको माङपाङ र कास्टे लगाएतका खोलाहरूमा पनि बाढी आएको छ। खोला आसपासका बासिन्दाहरूलाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। वर्षा नरोकिएको र खोलाहरुमा बाढी आउने क्रम बढेकोले खोला आसपासका स्थानीयलाई सुरक्षित र सचेत रहन प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आग्रह गरेका छन्।  

मध्य बर्खा लागिसक्दा समेत जिल्लाका बाढी र पहिरोबाट जोखिम स्थान पहिचान गर्न सकेको छैन। ‘सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षाका निकाय, गैसस, रेडक्रस, स्वास्थ्यलगायत सरोकारवालासहितको समिति बनाएर तथ्याङ्क संकलन कार्य भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘तर जोखिमयुक्त क्षेत्रको अवस्था र विपद् आइपरिहाले उद्धार सामग्रीको अवस्था कुनै तयारी छैन।’  

धादिङमा १५ सयभन्दा बढी खोला खोल्साहरू छन्। त्रिशुली नदी, आँखुखोला, थोपलखोला, महेशखोला, कोशी खोला आसपासका क्षेत्र बाढीको जोखिममा रहेका छन्। उत्तरी धादिङको लापा, तिप्लिङ, सेर्तुङ, बसेरी, झार्लाङ, कटुञ्जे, गुम्दी र दक्षिणमा जोगिमारा क्षेत्र उच्च जोखिममा रहेका छन्। बाढी पहिरो, नदीको कटान जस्ता विपदबाट गाउँबस्ती, बालीनाली र मानव स्वास्थ्यमा पुर्‍याउन सक्ने जोखिम न्यूनीकरणको लागि सरोकारवाला निकाय मौन देखिएका छन्।  

विपद् आइपरेको खण्डमा राहत तथा उद्धार कार्यका लागि जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकाय, जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य निकायहरुको अधिकतम रुपमा परिचालन गरी राहत तथा उद्धार कार्य छिटो र विश्वसनीय बनाउन ‘मनसुन पूर्वतयारी कार्ययोजना २०७४’ बनाइएको भएपनि अहिले त्यसप्रति कसैको चासो देखिँदैन।

प्रकाशित: १७ असार २०७८ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App