५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर तनहुँमा दुईजनाको ज्यान गयो, राजमार्ग अवरुद्ध, भारी वर्षा जारी

बाढीले बगाएको तनहुँको ब्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी दोभानको पक्कि पुल। तस्बिरः नागरिक

भारी वर्षापछिको पहिरोले घर भत्काउँदा पुरिएर तनहुँमा दुईजना महिलाको ज्यान गएको छ। पहिरोले पृथ्वी राजमार्ग अववरुद्ध पुर्‍याएको छ भने ठाउँठाउँमा घर भत्किएका छन्। पहिरोले धान खेत पनि कटान गरेको छ।  

तनहुँका डिएसपी युवराज तिमिल्सेनाका अनुसार बन्दीपुर गाउँपालिका–३ तामुङमा बुधबार राती पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० वर्षिया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापा रहेका छन्। राती पहिरोमा पुरिएका उनीहरुको शव विहान मात्र भेटिएका थिए । पहिरोमा परि अरु तीनजना घाइते भएका छन्।  

पहिरोमा परि ३५ वर्षिय सुभास थापा, ६६ वर्षका लिलबहादुर थापा र ६५ वर्षीया दाउरीमाया थापा घाईते भएका छन्। उनीहरु सबैको सदरमुकाम दमौलीमा उपचार भईरहेको प्रहरीले बताएको छ।

तिमिल्सेनाका अनुसार पृथ्वी राजमार्गको तनहुँ खण्डमा विभिन्न भागमा पहिरो झरेको छ । डुम्रे, छिर्कन, कुम्लेखोलामा राजमार्ग अवरुद्ध भएको डिएसपी तिमिल्सेनाले जानकारी दिए। ‘पहिरो झर्ने क्रम नरोकिँदा राजमार्ग खुलाउन पनि सकस भएको छ,’ उनले भने, ‘बेलाबेला खुलेको राजमार्ग फेरि पहिरो झर्दा अवरुद्ध हुने गरेको छ।’

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार बन्दीपुरका करिब एकसय घरमा आंशिक क्षति पुगेको छ । झन्डै एकदर्जन घर पूर्णरुपमा क्षति भएको उनले बताए। त्यसबाहेक फाँटको चैते धान पनि बाढिले बगाएको छ। पाकेर काट्ने अवस्थामा पुगेको चैतेधान बगाएको उनले बताए । ‘अहिलेसम्म बन्दीपुरले बाढीपहिरोबाट यो आकारको क्षति भोग्नुपरेको थिएन,’ थापाले भने, ‘अचाक्ली नै हुनेगरि क्षति पुर्‍याएको छ।’

त्यस्तै चुँदी खोलामा आएको बाढीले डुम्रेको स्वास्थ्यचौकी र डुम्रेको तल्लो क्षेत्र डुबानमा परेको छ। त्यसैगरि तनहुँको ब्यास नगरपालिका–१ र१३ जोड्ने छाब्दी दोभानको मोटरेवल पक्कि पुल पनि बाढीले बगाएको छ। पुल बगेपछि बुद्धसिंह मार्ग भएर चल्ने सवारी रोकिएका छन्।  

तनहुँको बन्दीपुर–४ विमलनगर क्षेत्रमा अहिले पनि भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान कार्यालयले बताएको छ। विमलनगरमा पछिल्लो २४ घण्टामा १९६ मिलिमिटिर वर्षा हुँदा खतराको संकेत स्वरुप साइरन बजाइएको छ। त्यस्तै तनहुँकै बन्दीपुर, साँखर र लम्जुङको राइनासटारमा पनि भीषण वर्षा भएको कार्यालयको भनाई छ।

प्रकाशित: १७ असार २०७८ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App