कबुलियती वन बनाउने सरकारी निर्णयविरुद्ध आन्दोलनको क्रममा बुधबार बेलका नगरपालिका घेराउ हुँदा प्रहरीसँग झडप भएको छ। आन्दोलनकारी र प्रहरीबीचको झडपको क्रममा प्रहरीले १० राउण्ड हवाईफाईर समेत भएको थियो।
बेलका ३ स्थित कोसी टप्पुमा वर्षौंदेखि भोग चलन गर्दै आएको जमिन कबुलियती वन बनाउन सरकारले निर्णय गरेपछि आन्दोलित स्थानीयले बुधबार नगर कार्यालय घेराउ गरेका थिए। घेराउ गर्ने क्रममा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा सुरुमा प्रहरीले २५ राउण्ड असुर ग्याँस प्रहार गरेको थियो। त्यसले पनि स्थिति नियन्त्रणमा नआएपछि १० राउण्ट हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले घट्नाको पुष्टि गर्दै आन्दोलनकारीबाट ढुंगामुडा र आक्रमणको प्रयास भएपछि सुरक्षित हुन प्रहरीले सुरुमा असुर ग्याँस प्रहार गरेको र पछि स्थिति नियन्त्रणमा लिन नसकेपछि हवाईफायर गरेको बताए। उनका अनुसार झडपको क्रममा सशस्त्र र जनपथ गरी ४ जना प्रहरी घाईते भएका छन्। सशस्त्रतर्फ २ जना र जनपथतर्फ २ जवान सामान्य घाईते भएको डिएसपी गौतमले जानकारी दिए। डिएसपी गौतमले केही व्यक्ति नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको पनि जनाएका छन्।
आन्दोलनकारी समूहले भने दर्जन बढीलाई पक्राउ गरेर थुनामा राखेको बताएको छ। भीडन्तमा परी आन्दोलनकारीतर्फ आधा दर्जन बढी घाईते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहको छ। केही गम्भीर विरामीलाई भने धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। आन्दोलनकारीको ढुंगा प्रहारबाट नगरपालिका भवनको अग्रभागको सिसा तोडफोड भएको छ भने प्रमुख प्रकासकीय अधिकृत चढ्ने जीपमा समेत क्षति पुगेको प्रहरीले बताएको छ।
कोसी टप्पुमा स्थानीयले भोगचलन गर्दै आएको १७६.२३ हेक्टर जमिनमा सरकारले गत जेठ ६ गते कवुलियती वन बनाउने निर्णय गरेको कुरा असार सुरुमा मात्र जानकारीमा आएको थियो। कबुलियती वन बनाउने ठेक्का पाएको सुनसरीस्थित बराह हर्बल एण्ड एग्रो प्रालिले स्थानीयलाई घर जमिन छाड्न खोजेपछि मात्र जानकारी पाएका उनीहरु आन्दोलित भएका थिए। ठेकेदार कम्पनी सञ्चालक निलहरि काफ्लेले सरकारबाट कबुलियती वन बनाउने निर्णयको पत्र देखाउँदै ठाउँ छाड्न भनेपछि आक्रोसित भएका स्थानीयहरुले दुईसाताअघि वडा कार्यालय घेराउ गरेका थिए।
बेलका ३ को नदी उकास, बाँझो, पर्ती जग्गामा गठित पौरख सामुदायिक वन उपभोक्ता समूह र आसपासको खाली तथा क्षतिग्रस्त जमिनमा नेपाल सरकारको प्रचलित कानुन अनुसार बहालमा लिएर जडिबुटी खेती तथा प्रशोधन केन्द्र सञ्चालन गर्ने गरी बराह हर्वलललाई स्वीकृति दिने सिफारिस नगरले गरेको देखिएको छ।
वडाले नगरपालिका, सवडिभिजन वन र डिभिजन वन कार्यालयतर्फ देखाएपछि उनीहरु सुरुमा नगरपालिकामा शान्तिपूर्ण कुरा राखेको र नमानेपछि बुधबार नगर घेराउ गर्न आएको स्थानीयले बताएका छ्न। नगरपालिका घेर्न पुगेका उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि सिर्जना भएको बिबाद झडपमा परिणत भएको हो।
बेलका नगरप्रमुख दुर्गाकुमार थापाले कबुलियती वन बनाउन नगरपालिकाले सिफारिस नगरेको दावी गरेका थिए। तर, उनले गत पुस २९ गतेकै मितिमा सिफारिस गरेको रहस्य अहिले खुलेको छ। बराह हर्बलले ०७७ पुस २७ गते दिएको निवेदन अनुसार २९ गते नगरप्रमुखले सिफारिस गरेको प्रमाण फेला परेपछि मेयरले जनतालाई ढाँटेको निष्कर्ष आन्दोलनकारीले निकालेका छन्। त्यही आधारमा डिभिजन वन बेलकाले डिभिजन वन कार्यालय हुँदै कबुलियती वन बनाउने निर्णय सरकारले गरेको अहिले खुलेको छ।
झडपपछि समस्या समाधान गर्ने विषयमा नगरपालिकाले स्थानीय राजनीतिक दलहरुलाई बोलाएर सर्वदलीय बैठक राखेको छ। यो समाचार बनाउँदासम्म समस्या समाधान गर्ने विषयमा छलफल चलिरहेको एक दलीय प्रतिनिधिले बताए। घटनाबारे विस्तृत बुझ्न खोज्दा मेयर थापासँग सम्पर्क हुन सकेन।
प्रकाशित: १७ असार २०७८ ०५:१२ बिहीबार