१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीपहिरोले अत्तालिएको मनाङ

नदीको सतह नै झन्डै चारफिट उकासियो

बाढीपहिरोको चपेटामा परेको हिमाली जिल्ला मनाङ । मनाङ पहिलो पटक प्राकृतिक विपद्बाट अत्तालिएको छ । तस्बिरः नागरिक

हिमाली जिल्ला मनाङ पहिलोपटक भीषण बाढी पहिरोको चपेटामा परेको छ । हिउँदताका बेलाबेला बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आउजाउ रोकिने जस्ता क्षणिक अप्ठेरो भोग्ने गरेको यो हिमाली जिल्लालाई बाढीपहिरोले अत्याएको पहिलो पटक हो । पछिल्लो तीनदिनदेखि वर्षा थामिदा थोरै भएपनि राहतको सास फेर्न पाएपनि कतिबेला भीषण बाढी आउने हो भन्ने निश्चित नहुँदा त्रासैत्रासमा बस्नुपरेको स्थानीयले बताएका छन् ।  

मनसुन सुरुवातमै प्राकृतिक विपद् सामना गर्नुपरेको यो जिल्लाले मनसुनको धेरै समय बाँकी रहेकोले अझै पीडा भोग्नुपर्ने हो की भन्ने त्रासमा छ । पहिलो पटक यो आकारको क्षति भोग्नुपर्दा जिल्लालाई नै पीडा भएको स्थानीय बताउँछन् । सदरमुकामस्थित चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन, ‘हिमाली जिल्ला मनाङ योपटक प्राकृतिक विपद्बाट निकै नै अत्तालिएको छ । पहिलो पटक यति ठुलो आकारमा प्राकृतिक विपद भोगेको छ ।’ मनसुनको सुरुवातमै क्षति भोग्नुपर्दा पीडा भोगेको जिल्लाले मनसुनको लामो अवधि बाँकी रहँदा थप क्षति भोग्नुपर्ने हो की भन्ने त्रासमा रहेको उनले बताए ।

जिल्लाले पहिलो पटक प्राकृृृतिक विपद्बाट झन्डै पाँचदर्जन घर, पुल, सडक बगाएको छ । मस्र्याङदी नदी किनारका धेरै घर डुबानमा परेका छन । धेरै पूर्वाधार कटानमा परेका छन । सरकारी कार्यालयदेखि स्थानीयबासिलाई यो पटक बाढीपहिरोले उठिबास लगाएको छ । पुलपुलेसा बग्दा गाउँगाउँबीचको आउजाउ नै सम्पर्कविच्छेद भएको छ । ‘मस्र्याङदीको वहाव केही घटेको त छ । तर, त्रास कम भएको छैन,’ घलेले भने, ‘पानी नपर्दा ढुक्कले निदाउन पाइन्छ । पानी परे रातभर जाग्राम बस्नुको विकल्प छैन ।’

 उनका अनुसार मौसम यत्तिसारो खराब बनेको छ की उद्धारका लागि हेलिकप्टर पनि पुग्न सहज छैन । त्यसले गर्दा गाउँगाउँमा राहतका सामाग्री पु¥याउन पनि सकस भएको उनले बताए । स्थलमार्ग पहिरोले बिच्छेद गराएपछि हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता भएपनि मौसम खराबीले हेलिकप्टरलाई पनि सहज नभएको घलेले बताए । ‘मौसम बिग्रँदा र पानी पर्दा यहाँका बासिन्दाको निद्रा हराउँछ,’ उनले भने ।  

मनाङ ङिस्याङ गाउँपालिकाकी उपाध्यक्ष मेङखु गुरुङले पनि योपटक हिमाली जिल्ला मनाङले प्राकृतिक विपद्बाट पहिलोपटक दुख भोगेको सुनाईन । ‘प्राकृतिक प्रकोबिाट हामीले पहिलो पटक साह््रै नै दुख खेपेका छौ । अझै पनि ढुक्को बसाई छैन,’ गुरुङले भनिन, ‘जतिखेर पनि बाढी पहिरोको जोखिम छ ।’ 

उनका अनुसार योपटकको भीषण भेलबाढीले मुख्य नदी मस्र्याङदीको सतहको उचाई नै बढेको छ । मस्र्याङको सतह कम्तिमा ४ फिट उकासिएको उनले बताईन । ‘कटान रोक्नका लागि नदीको दायाँबायाँ लगाएका ग्याभिन नै योपटक पुरिएका छन । खोलाको वहावको सतह नै उकासिएको छ,’ उनले भनिन, ‘भीषण भेलबाढीले बगाएर ल्याएको ढुंगा, माटो, बालुवा थुप्रिदा सतह नै उकासियो । हामीले पहिलो पटक यस्तो अनुभूति गरेका छौ ।’

हिमाली जिल्ला मनाङमा असारको पहिलो साताको भीषण बाढीपहिरोले मस्र्याङदी नदी किनारका धेरै बासिन्दालाई उठिबास लगाएको छ । नदी कटानमा परेर बिस्थापित भएका धेरै बासिन्दा अझै घर फर्किन सकेका छैनन् । नदीको त्रास कायम रहिरहँदा बिस्थापितलाई तत्काल घर फर्काउने अवस्था पनि नरहेको स्थानीय प्रशासनले बताएको छ । मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ ।  

एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका पनि यसपटक कतिखेर कहाँ बगाउँछ भन्ने थाहा नभएको बताउँछन । उनका अनुसार सदरमुकाम चामेदेखि तलको बस्तीलाई झनै बढी जोखिम छ । माथिल्लो मनाङको पिसाङ, हुम्दे पनि जोखिमपूर्ण अवस्थाका रहेको गौतमले बताए । उनका अनुसार चामेदेखि धारापानीसम्म साँघुरो खोलाको किनारमा बस्ती बसेको र त्यही क्षेत्रमा बढी पहिरो झरेकोले पनि जोखिम बढाएको छ ।

‘प्राकृतिक प्रकोपले मनाङलाई योपटक अत्तयाएको छ । कुन बेला के हुन्छ भन्ने निश्चित छैन, हिडडुल नै जोखिमपूर्ण बनेको छ,’ गौतमले भने, ‘कुन बस्तीमा कतिखेर बाढीले हान्ने हो भने त्रास छ ।’ यस्तै अवस्था हुँदै गएमा मनाङको बस्ती नै बिस्थतापित  हुने त्रास बढेको गौतमले बताए । उनका अनुसार माथिल्लो भेगमा रहेका माटोका घर पनि जोखिममा छन । अहिले पनि मनाङ र नार फू  गाउँका करिब ७० प्रतिशत घर माटोको छानाका छन । अधिक पानीले ती छाना कमजोर हुने र चुहिने त्रास भएको उनले बताए ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार हिमाली जिल्ला मनाङले यसअघि भोग्ने प्राकृतिक विपद् हिमपातसँग सम्बन्धित हुन्थ्यो । अधिक हिमपात हुँदा आउजाउ रोकिने र चिसो बढ्दा सकस पर्ने भएपनि भौतिक क्षति भोग्नुपर्दैनथ्यो । तर, योपटकको बाढी पहिरोले भौतिक क्षति नै अघिक गरेको लामिछानेले बताए । ‘हिमपातले आउजाउ रोकिने र चिसो बढ्ने हुन्थ्यो । हिमपातसँग त यहाँका नागरिक अभ्यस्त नै थिए । तर, बाढीपहिरोले अत्याएको यो नै पहिलो पटक हो,’ उनले भने, ‘पोहोर पनि केही ठाउँमा सुख्खा पहिरो झरेको थियो । तर,योपटक त भीषण बाढी नै आयो ।’  

बाढीको त्रासले सदरमुकाम चामेका बासिन्दा अझै घरमा सुत्न नसकेको उनले बताए । ‘बजारका मान्छे रात परेपछि सुरक्षित ठाउँमा उक्लिएर बसेका छन । घरमा सुत्न सकेका छैनन,’ उनले भने, ‘चारदिनको वर्षाले हायलकायल पा¥यो । अझै के हुने हो भन्न सकिन्न । मनाङ यो पटक प्राकृतिक प्रकोपबाट आत्तिएको छ ।’

प्रकाशित: १६ असार २०७८ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App