११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना महामारीमा स्वावलम्बनको राहत

कोरोना महामारीमा संकटमा परेका अतिविपन्न नागरिकलाई स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड जुम्लाले राहत उपलब्ध गराएको छ । आफ्नो कार्यक्षेत्रमा रहेका वित्तीय सेवा लिइरहेका ७५ जनालाई राहत उपलब्ध गराएको हो ।  

चन्दननाथ नगरपालिका, गुठिचौर, तातोपानी र तिला गाउँपालिकामा रहेका अतिविपन्न सदस्यलाई प्रतिकेजी १० केजी चामल, एक केजी दाल, एक केजी नुन र एक पाकेट खानेतेल प्रदान गरिएको शाखा प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए ।  

उनका अनुसार एक परिवारलाई एक हजार रुपैयाँ बराबरको राहत प्रदान गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको दोस्रो लहरमा लकडाउनका कारण प्रभावित ज्यालामजदुरी गरी गुजारा चलाउने परिवारलाई राहत स्वरुप खाद्यन्न उपलब्ध गराइएको हो ।

संस्थाले  संस्थामा आवद्ध सदस्य र सदस्यको पत्नीलाई कोभिड संक्रमण भएको खण्डमा फलफूल, अण्डा तथा तागतिलो खानेकुरा खान स्वावलम्बन कोसेली खर्च बापत्त एक हजार ५ सय रुपैयाँ प्रदान गर्ने उनले बताए ।  

कोभिड संक्रमण भई अस्पताल भर्ना हुनु परेमा खर्चको अवस्था हेरेर १० हजार रुपैयाँसम्म उपचार खर्च बेहोर्ने व्यवस्था गरेको छ, प्रमुख बोहोराले भने,‘कर्जा बीमा नभएका सदस्यको लागि कोभिड संक्रमण भइ मृत्यु भएमा ५ हजार र सदस्यको पतीको मृत्यु भएमा १० हजार रुपैयाँ राहत सहयोग गर्ने व्यवस्था समेत गरिएको छ ।’  

वित्तीय संस्थाको सदस्य सुत्केरी हुँदा प्रथम र दोस्रो बच्चाको हकमा दिइँदै आएको  १ हजार सुत्केरी खर्चलाई शतप्रतिशत बृद्धि गरि २ हजार बढाइएको छ । कर्जाको किस्ता भाका नाघको कर्जा शुन्य पार्ने सदस्यहरुलाई पाकेको व्याज रकममा १५ प्रतिशत व्याज छुटको व्यवस्था समेत हुने शाखा प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए ।

जिल्लाको चार स्थानीयतहमा १ हजार ४ सय ५३ घरपरिवारले लघुवित्त सेवा लिइरहेका छन । चालु आर्थिक बर्षको जेठ मसान्त सम्ममा ९ करोड कर्जा प्रवाह भएकोमा ६ करोड ९२ लाख रुपैयाँ कर्जा असुली गर्न बाँकी छ । सदस्यहरुको मासिएर जाने बचत ४ करोड ३४ लाख रुपैयाँ रहेको छ ।  

खाद्यन्न समस्यामा परेका सदस्यलाई केन्द्र प्रमुखको समन्वयमा खाद्यन्नको राहत सामाग्री व्यवस्था मिलाउदै आएको उनले बताए । रकम अभावमा उपचार गर्न नसक्ने सदस्यलाई आकस्मिक सापर्टी कर्जा २० हजार रुपैयाँ १३ प्रतिशत व्याजमा प्रदान गरिने स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले जानकारी दिएको छ ।  

महामारीजन्य रोगका कारण व्यवसायी सदस्यहरुको व्यवसाय सञ्चालनमा सहजता ल्याउन र पुर्न संञ्चालनमा सहयोग पुर्याउन ५० हजार रुपैयाँ पुनः स्थापना कर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको समेत जनाइएको छ ।  

कर्जाको पहिलो तीन महिनासम्म मासिक रुपमा व्याज मात्र बुझाउने र त्यसपछि मासिक रुपमा कर्जा लिएको मितिले २ वर्ष भित्र साँवा ब्याज नियमित रुपमा तिर्ने गरि कर्जा व्यवस्था गर्न सकिने अवस्था रहेको प्रमुख बोहोरा बताउँछन् ।

प्रकाशित: १५ असार २०७८ १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App