असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र त्यसपछि मेलम्ची खोलामा आएको अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुग्यो। बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा क्षेत्र सडक सञ्जाल अवरुद्व भएका छन्। हेलम्बु गाउँपालिकाका नागरिक सडक सञ्जाल र सञ्चारमाध्यम तथा सूचनाको पहुँचबाट टाढा हुनु परेको छ। बाढीले हेलम्बु गाउँपालिका जोड्ने सडक खण्डका पाँच वटा पक्की पुल बगाएको छ। अहिले हेलम्बुका गाउँहरुमा खाद्यान्न ढुवानीमा कठिनाई भइरहेको छ।
अहिले लगातार वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीले हेलम्बु जोड्ने चनौटे बजारको रातो पुल उच्च जोखिममा परेको छ। यो पुलले हेलम्बु गाउँपालिकाको नाकोटे, अम्बाथान, तिम्बु, कियूल, चनौटे बजार र मेलेम्ची नगरपालिकाको बजार क्षेत्र समेत जोड्छ।
सरकारले चाँडै पुललाई बाढीबाट जोगाउन प्रभावकारी काम नथाले हेलाम्बुको ग्रामीण गाउँहरूको जनजीवन कस्टकर बन्ने स्थानीय बासिन्दा पेमाटाँसी शेर्पाले बताउँछन्।
‘यो हेलम्बु जोड्ने एक मात्र पुल हो। यो पुल जोगिए मात्रै केही संघसंस्थाले राहत सामग्री उपलब्ध गराईरहेका छन्। यो पुल पनि बगाए, सामान ढुवानीको लागि हेलिकप्टर एक मात्र विकल्प हुनेछ’, उनले भने।
‘अहिले हेलम्बुका अधिकाशं गाउँ विपत्तिमा परेको छ। पहिरोले सडक भत्किएपछि खाद्य सामग्री ढुवानी गर्न सक्ने अवस्था छैन। वैकल्पिक कच्ची सडक पनि लगातारका वर्षाका कारण सवारी गुड्न मुस्किल छ’, उनले थपे।
हेलम्बु गाउँपालिका पूर्ण रुपमा आवत–जावतदेखि सञ्चार माध्यमहरु बन्द भएको स्थानीय साङ्गे शेर्पा बताउँछन्।
त्यस्तै चनौट पुल मेलम्ची–हेलम्बुका गाउँवस्ती जोड्ने एक मात्र पुल बचेकोले तुरुन्तै प्रभावकारी ढंगका जोखिम नियन्त्रण स्थानीय सरकारले कादम चाल्नु पर्ने शेर्पाकाे भनाइ छ।
‘लगातार वर्षाको कारण बाढीले पुल आसपासका क्षेत्र कटान गरिरहेकोले। यो पुल अहिले उच्च जोखिमा रहेको छ’, उनले भने, ‘ यस पुललाई स्थानीय सरकार तथा सरोकारवालाले समयमै ध्यान नदिए बाढीले पुललाई बगाउने खतरा छ। बाढीले यो पुल बगायो भने हेलम्बुमा भोकमरी लाग्ने खतरा पनि छ।’
वर्षाका कारण वैकल्पिक कच्ची सडकमा पनि ठाउँठाउँमा पहिरो जाने र खाल्डो –हिलो बढी भएकोले आफूहरुले राहत सामग्री पुर्याउन निकै संघर्ष गर्नु परेको उनले बताए।
भर्खर मनसुन सुरु भएको बताउँदै तेम्बाथाङ्ग एकीकृत नमूना वस्ती विकास केन्द्रका अध्यक्ष समेत रहेका शेर्पाले भने, ‘अब झन बाढी–पहिराको जोखिम धेरै छ । त्यसैले जनजीवनमा सहजता ल्याउन वैकल्पिक खच्ची सडक मर्मतमा पनि स्थानीय सरकारले ध्यान दिनु पर्छ ।’

बेलामै नदिन काटन नियन्त्रण नगरे पुल पूर्ण रुपमा क्षति पुग्ने देखिन्छ । त्यसपछि हेलम्बुमा आवत–जावत ठप्पै हुन्छ। दैनिक खाद्य सामग्री ढुवानीमा समस्या हुन्छ । यो पुल बगायो भने हेलम्बुमा खाद्य संकट नै हुँदैन भन्न सकिँदैन’, उनले थपे ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार नदी कटान रोक्न पुल आसपासको क्षेत्रमा ग्याबीन जाली राखेर तटबन्ध निर्माण भइरहेको छ।
‘यो पुलले हेलम्बुका गाउँबस्ती जोड्छ। बाढी –पहिरालोले एक मात्र पुल जोगियो। अहिले नदी कटान रोक्न जाली ग्याबिन हाल्ने काम भइरहेको छ’, अध्यक्ष शेर्पाले नागिरक न्यूजसँग भने। लगातारका वर्षाले वैकल्पिक कच्ची सडक पनि अवरुद्व भएपछि दैनिक उपभोग्य वस्तु ढुवानीमा निकै समस्या भइरहेको उनले बताए।
अहिले हेलिकप्टरमार्फत खाद्यन्न सामग्री ढुवानी गरिहेको उनले बताए। ‘बाढीले पुल–पुलेसाहरु सबै बगाएको छ। हेलम्बुगाउँपालिका जोड्ने पाँच वटा पक्का पुल बगाएको छ। झोलुङ्गे पुलहरु पनि बगाएको छ’, उनले भने, ‘ यी क्षेत्रमा आवत–जावात ठप्प भएको अवस्था छ। त्यसकारण खाद्यान्न ढुवानी गर्न पनि समस्या भइरहेको छ।’
बाढीले मानवीय क्षतिसँगै भौतिक संरचनासँगै निकै ठूलो क्षति पुर्याएको उनले बताए। हेलम्बु जोड्ने सडक खण्डमा तत्कालका लागि बेलिब्रिजको हाल्ने तयारी गरिहेको उनले बताए।
‘सबै पक्क पुलहरु बगाएकोले तत्कालको लागि बेलिब्रिजको ठूलो खाँचो छ’, उनले भने, ‘बेलिब्रिज हाल्न पनि सजिलो छ। अहिले बेलिब्रिजको लागि डिजाइन तयारी गरिँदैछ। छिटो भन्दा छिटो हेलम्बुको जनजीवनलाई सहजता ल्याउने कोसिस गरिहेका छौं।’
अहिले विस्थापित परिवारलाई तत्कालका लागि सुरक्षित स्थानमा त्रिपाल टाँगेर राखिएको समेत उनले बताए। क्षति भएकालाई दिर्घाकालिन रुपमा सुरक्षित वास स्थानको व्यवस्था गर्न पनि स्थानीय सरकारले तयारी गरेको उनले बताए। त्यस्तै अहिले हेलम्बुका बाढी प्रवावित क्षेत्रहरुमा विभिन्न संघसंस्थाले पनि राहत सामग्रीहरु वितरण गरिहेको उनको भनाइ छ।
प्रकाशित: १३ असार २०७८ ०७:०४ आइतबार