लोपोन्मुख जनावर रेडपाण्डाको बासस्थान संरक्षणका लागि सरकारी र गैरसरकारी संस्था जागरुक हुँदैछन् । जिल्लाका उत्तरी क्षेत्रमा पाइने रेडपाण्डा जोगाउन वृक्षरोपरण र आहारका लागि सरोकारवाला सक्रिय भएका हुन् ।
जिल्लाको माइजोगमाई गाउँपालिकामा रेडपान्डा संरक्षणका लागि २५ हजार बिरुवा रोप्ने कार्यक्रम सुरु भएको छ । रेडपाण्डाको आहारका रूपमा प्रयोग हुने भालुचिन्डे, मालिंगोदेखि चाँप, गुराँस, उत्तिसलगायतका बिरुवा रोप्न थालिएको हो । वातावरण संरक्षणमा क्रियाशील विश्व वन्यजन्तु संरक्षण कोष, नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) र माइजोगमाई गाउँपालिकाको सहकार्यमा वृक्षरोपणको ६ महिने कार्यक्रम सुरु भएको केन्द्रले जनाएको छ ।
केन्द्रका परियोजना अधिकृत प्रदीप घिमिरेले रेडपान्डाको आहारका लागि वृक्षरोपण गर्न थालिएको बताए । ‘रेडपाण्डाले आहार गर्ने भालुचिन्डे, मालिंगोसहित रेडपान्डालाई अनुकूल हुने जंगल बनाउन वृक्षरोपण गरिँदैछ,’ उनले भने, ‘६ महिनामा २५ हजार बिरुवा रोपिने छ । त्यसबाहेक बिरुवाको नर्सरीसमेत तयार गरिनेछ ।’ अहिले जिल्लाकै सन्दकपुर गाउँपालिकाबाट बिरुवा खरिद गरी माइजोगमाई वडा २ र ६ मा वृक्षरोपण भइरहेको उनले जनाए ।
‘यहाँका थुम्के, ओभाने, छिपछिपेलगायत स्थानमा बिरुवा रोपिँदैछ,’ घिमिरेले भने, ‘जिल्लाका अरू स्थानमा समेत रेडपाण्डा पाइन्छ तर यहाँ रेडपान्डाका लागि वन र आहार आवश्यक देखिएकाले कार्यक्रम सञ्चालन गरिएको हो ।’ वृक्षरोपण सुरु गर्ने अभियानमा गाउँपालिका अध्यक्ष जितबहादुर राई, एनसिडिसी अध्यक्ष भूप्रसाद लिम्बू, सचिव कमल नेपाल, कार्यक्रम संयोजक हिराकाजी घले, रेडपाण्डा नेटवर्क र वन कार्यालयका प्रतिनिधि सहभागी भए ।
जिल्लाका उत्तरी जमुना, माइमझुवा, जोगमाई, गोर्खे, माइपोखरी, पुवामझुवालगायत क्षेत्रमा विश्वमै लोपोन्मुख रेडपान्डा पाइन्छ । भारतीय सिंहलीला नेसनल पार्कसँग जोडिएका उत्तरी क्षेत्रमा पाइने रेडपान्डा संरक्षण गर्न सन्दकपुर गाउँपालिका, सूर्योदय र इलाम नगरपालिकाले समेत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
रेडपान्डा संरक्षणमा जुटेको रेडपान्डा नेटवर्क (आरपिएन)ले इलाम, पाँचथर र ताप्लेजुङमा बर्सेनि विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । यो वर्ष इलाममा मात्रै डेढ करोड रुपैयाँ हाराहारीको परियोजना चलिरहेको आरपिएनका कोअर्डिनेटर सोनामटासी लामाले बताए । परियोजनाअन्तर्गत यो वर्ष १ लाख विरुवा रोप्ने कार्यक्रम चलिरहेको छ । ‘इलामका स्थानीय तहको सहकार्यमा रेडपान्डा संरक्षणका विभिन्न काम भइरहेका छन्,’ उनले भने, ‘रेडपान्डा संरक्षणलाई लामो अवधिका कार्यक्रमसमेत सुरु गरेका छौं ।’
आरपिएनले जौबारी र माइमझुवामा ६ सय ३ रोपनी जमिन खरिद गरी रेडपाण्डा संरक्षणको प्रयास थालेको छ । ‘भारतसँगको सीमा क्षेत्रमा लोपोन्मुख रेडपाण्डा संरक्षण आवश्यक भएकाले त्यही स्थानमा संरक्षण परियोजना सञ्चालन हुँदैछ,’ उनले भने, ‘रेडपान्डाको आहार, पानी र वन संरक्षणका साथै स्थानीयको जीविकोपार्जन परियोजना सञ्चालन हुँदैछ ।’ जिल्लास्थित उच्चपहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्था र स्थानीय सामुदायिक वनहरूसँगको सहकार्यमा परियोजना सञ्चालनमा छ ।
प्रकाशित: १२ असार २०७८ १३:३२ शनिबार