१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

२० वर्ष नपुग्दै सुत्केरी

बिहेवारी २० वर्ष पारी भनिन्छ। कानुनले पनि २० वर्ष अगाबै बिहे गर्न बर्जित गरेको छ। उमेर नपुग्दै बिहे गरेका बेहुला, बेहुली, परिवारका सदस्यले कतिपय ठाउँमा कानुनी कारवाही पनि भोगेका छन्। तर गोरखाको अजिरकोट गाउँपालिकामा २० वर्ष नपुग्दै बच्चा जन्माउने क्रम रोकिएको छैन।

गत साउनदेखि जेठ मसान्तसम्म २६ जना सुत्केरी भएको भच्चेक स्वास्थ्य चौकीमा ७ जना २० वर्ष मुनिका छन्। ‘१६ देखि २० वर्षका यो वर्ष मात्रै होइन गत वर्षमा पनि धेरै जना छन्’ स्वास्थ्यकर्मी पर्मीला दाहालले भनिन्। १६ वर्षका दुई जना, १७ वर्षका एक जना, १८ वर्षका तीन जना, १९ वर्षका एक जनाले बच्चा जन्माएको उनले बताइन्। ‘स्वास्थ्य संस्था आएपछि हामीले उपचार सेवा दिएर पठाउँछौँ’ उनले भनिन्।

२०७५ मा ४० जनामध्ये १३ जना २० वर्षभित्रै सुत्केरी भएका छन्। २०७६ मा स्वास्थ्य चौकीमा प्रसूति सेवा लिएका ४६ जनामध्ये १८ जना २० वर्ष उमेर भित्रका छन् । ‘यो अस्पतालमा सुत्केरी हुन आउनेको तथ्याङ्क हो’ अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुुरेश दवाडीले भने ‘घरमै सुत्केरी हुने क्रम धेरै कम भएपनि स्वास्थ्यमा समस्या नआउँदा सम्म स्वास्थ्य संस्था आउँदैनन्।’

लामो समय भच्चेक स्वास्थ्य चौकीको इन्चार्जको रुपमा काम समेत गरेका उनले भने ‘यहाँ चेतनाको स्तर कम छ, कम उमेरमा बिहे हुने कारणले बच्चा पनि कम उमेरमै जन्माउने गरेको पाइन्छ।’

कम उमेरमा बच्च जन्माउनेमा दलित र जनजाती समुदायका महिला छन्। ‘हामीले बाल बिवाह न्यूनीकरण गर्ने खालका कार्यक्रम संचालन गरेका छौँ’ अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले भनिन्।

महिला जनप्रतिनिधिमार्फत् पनि गाउँगाउँमा कम उमेरमा बिहेवारी नगर्न परिवारका सदस्यलाई अनुरोध गर्ने, संचार माध्यामबाट जानकारी गराउने गरेको र अहिले केही न्यूनिकरण भएको उनले बताइन्।

गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेलाई ‘माईतिको कोसेली’ दिने गरेको छ। यातायात खर्च दुई हजार, प्रोत्साहन रकम आठ सय सहित चार पटक गर्भजाँच गराउनेलाई करिब चार हजार रुपैयाँ बरावरको कोशेली दिने गरिएको उपाध्यक्ष चन्द्रा गुरुङले बताइन्। कोशेलीमा एक सय ५० वटा अण्डा, चना, सरसफाइका लागि नङकटर, साबुन, ढाकाको पछ्यौरा दिइनेछ।

मौसमअनुसार सागसब्जीको बिउ पनि दिने गरिएको र गर्भाअवस्था र सुत्केरी अवस्थामा हरियो सागसब्जी आफैँ लगाएर खान प्रोत्साहन गर्ने गरिएको उपाध्यक्ष गुरुङले बताइन्।

स्वास्थ्य संस्थामा सुत्केरी गराउन वा  गर्भ जाँच गराउन आउँदा उनीहरुलाई स्वास्थ्यकर्मीले २० वर्ष उमेर नपुग्दा सम्म बिहे गर्न नहुने र बच्चा जन्माउन नहुने भन्ने सिकाउने समय नै नहुने स्वास्थ्य शाखा प्रमुख दवाडी बताउँछन्। ‘कम उमेरमा बच्चा जन्माउँदा धेरै बच्चा जन्माउन सक्ने, आमा र बच्चाको स्वास्थ्य तन्दुरुस्ती नहुने खतरा हुन्छ’ दवाडीले भने।

पोषण तत्वको अभावमा शिशु र कम उमेरमा सुत्केरी हुँदा आमाको स्वास्थ्यमा पनि दिर्घकालीन रोग देखिन सक्ने उनले बताए।

प्रकाशित: ९ असार २०७८ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App