coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इलाममा असार १४ सम्म निषेधाज्ञा

निषेधाज्ञामा सुनसान इलाम बजार। तस्बिर: भीम/नागरिक

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि भइरहेको निषेधाज्ञा अवधि असार १४ सम्मलाई बढाएको छ। जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको सिफारिसमा सिडिओ ध्रुवबहादुर खड्काले निषेधाज्ञा थपिएको आदेश जारी गरेका हुन्।

तर, अहिलेसम्म बन्द रहेका पुस्तक तथा स्टेसनरी, लत्ताकपडा, घरायसी प्रयोगका सामग्री राखिने पसल, निर्माण सामग्री र घरायसी विद्युतीय सामग्रीलगायत केही पसल अब खुला गरिएको छ। बिहान ७ देखि ११ बजेसम्म खुला राख्न पाइने खाद्यान्नलगायतका यी पसल अब दिउँसो १ बजेसम्म खुला राख्न सकिने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले अन्य निर्णय जेठ ३१ को आदेशानुसार यथावत रहेको जनाए।  

जिल्लामा कोरोना संक्रमणदर केही घटेपछि निषेधाज्ञा थोरै खुकुलो बनाइएको हो। तर, निषेधाज्ञा अवधिभर बाहिरबाट जिल्ला भित्रिने तथा जिल्लाभित्र चल्ने सबैखाले सार्वजनिक यात्रुबाहक तथा निजी सवारी साधन चल्न पाउने छैनन्। भिडभाड हुने सबैखाले हाटबजार, मेला, जात्रा, प्रतियोगिता, सभा–सम्मेलन, भेलालगायत बन्द गरिएको छ। सार्वजनिक निकाय, संस्थान, बैंक तथा वित्तीय संस्था, बिमा कार्यालयले प्रवाह गर्ने अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको छ भने नित्यपूजाबाहेक धार्मिकस्थलमा गरिने सबै कार्यक्रम रोकिएका छन्।  

कोरोना संक्रमितको संख्या २ सय नाघेपछि गत वैशाख २८ देखि जेठ १२ सम्म निषेधाज्ञा जारी गरिएको थियो। त्यसपछि पनि संक्रमितको संख्या थपिएपछि जेठ १२, २२ र ३१ मा यसको अवधि लम्ब्याइएको थियो। जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय १ पुगेको छ। यीमध्ये ३ सय ८० सक्रिय संक्रमित छन्। १ हजार १ सय ६९ जना निको भइसकेका छन् भने ४० जनाको निधन भएको प्रशासनले जनाएको छ। 

प्रकाशित: ७ असार २०७८ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App