coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ। सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल/त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ।

मनाङकै विभिन्न स्थानमा बाढीपहिरोको कारण जोखिममा परेका ८१ जनालाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–१ स्थित याङ्ग्रीका बाढीपहिरो प्रभावित २९ जनालाई सेनाको सहयोगमा मेलम्चीबाट उद्धार गरी काठमाडौंँ ल्याइएको थियो। सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका–४ स्थित गल्थुम र माझीटारका बाढीबाट विस्थापित परिवारलाई बस्नका लागि सेनाले दुई स्थानमा सातसात अस्थायी बासस्थानको व्यवस्थापन गरेको छ।

बाढीपहिरोको कारण विस्थापित हेलम्बु–२ गणेशबगर इलाकामा बसोबास गर्दै आएका ४३ र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० समेत १०३ जनालाई सेनाको उद्धार टोलीले खाली जमीनमा अस्थायी बासस्थानको व्यवस्था गरी राहत सामग्री वितरण गर्न सहयोग गरेको जनाइएको छ।

मुस्ताङको घरपझोङ्ग गाउँपालिका–४ स्याङ्ग गाउँबस्तीमा स्याङ्ग खोलाको बहाव बढ्न गई पस्न सक्ने देखेपछि सेनाले खोला किनारमा ग्याबिन जालीमा ढुङ्गा भरी क्षति हुनबाट रोकेको थियो। प्युठानको मल्लरानी गाउँपालिका–३ धरमपानीस्थित वरबोटका हीराबहादुर विक छापेखोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकामा सेनाको खोजी टोलीले सरुमारानी गाउँपालिका–१ बाङ्गेसालको मियाबस्ती नजिक राप्ती नदीमा शव फेला पारिएको सेनाले जनाएको छ।

प्रकाशित: ७ असार २०७८ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App