२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खोप पुर्‍याउन गएकी अस्मिताको शव भेटियो

डडेल्धुरा परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता देवी धामी स्थानीय जमुरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन्। स्वास्थ्य इकाई केन्द्रमा बचेका कोरोनाविरुद्धको खोप जोगबुढा अस्पतालमा फिर्ता बुझाउन असार २ गते बिहान ११ कार्यालयबाट गएकी थिइन्। स्वास्थ्य इकाई केन्द्रबाट जोगबुढा अस्पताल पुग्न करिब साढे ३ घन्टा पैदल हिँड्नु पर्छ। खोप पुर्‍याएर घर फर्किनु पर्ने उनी साँझसम्म घर आइनन्। आफन्तले खोजी गर्दा अस्मिताको मोबाइलको ‘स्वीच अफ’ भयो।

असार २ गतेदेखि सम्पर्कविहीन भएकी अस्मिताको खोजी गर्दा वडा नं ९ हट्वानी सामुदायिक वनमा जोगबुढा जाने बाटोभन्दा करिब ६० मिटरमा रहेको बुट्याङ भएको ठाउँमा शनिबार उनको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी योगेन्द्र सिंह थापाले बताए। अस्मिताको शव तीन दिन पछि बिभत्स अवस्थामा फेला परेको ८ नम्बर वडाध्यक्ष गोविन्दसिंह बोहराले बताए। स्वास्थ्य इकाई केन्द्रबाट करिब ३/४ किलोमिटर दूरीमा रहेको हत्वानी डाँडा भन्ने स्थानमा गोरेटो बाटो नजिकै एउटा चप्पल फेला परेको उनले बताए।  

‘शव नजिकै मास्क फालिएको अवस्थामा थियो भने कोभिड भ्याक्सिन, फुटेको चुडा छरपस्ट थिए,’ वडाध्यक्ष बोहराले भने, ‘धकेल्दै घटनास्थलमा लिएर हत्या गरिएको देखिन्छ।’ मुखमा र टाउकोमा चोट लागेको बताइएको छ। चोट लागेको ठाउँमा ३/४ दिन भएकाले किरा परेको बताइएको छ। घटनास्थलको अवस्था हेर्दा बलात्कार गर्न नै हत्या गरिएको भएपनि शरीरमा लगाएका सबै कपडा राम्रो अवस्थामा रहेकाले एकिन भन्न सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ।  

डडेल्धुरा प्रहरी कार्यालयका प्रमुख, डिएसपी महेन्द्र नेपालको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा पुगेर मुचुल्का उठाउनेलगायत घटनास्थलको बारेमा बुझ्ने काम भइरहेको डिएसपी नेपालले बताए। यस्तै संघीय इकाई प्रहरी कार्यालयबाट पनि एसपी लक्ष्मण शाहीको नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान समूह (आरआईटी) को टोली अनुसन्धानका लागि खटाइएको एसपी थापाले बताए। हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले घटनालाई गम्भीतापूर्वक लिएर सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ।  

‘घटनाको बारेमा थप विवरण शवको पोष्टमार्टम रिपाेर्ट आएपछि थाह हुन सक्छ,’ एसपी थापाले भने। अनुहारमा किरा परेको बाहेक शवको शरीरमा बाहिरी देखिने चोटपटक नरहेको उनले बताए। लगातार पानी परिरहेकाले तालिम प्राप्त कुकुर घटनास्थलमा लगिएको छैन। अस्मिताका पती र दुई छोरी रहेका छन्।

प्रकाशित: ७ असार २०७८ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App