२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला प्रभावित

धार्मिकस्थल गोसाइँकुण्ड। तस्बिरः हिमनाथ/नागरिक

गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला प्रभावित भएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मेला प्रभावित भएको हो। गत वर्ष पनि कोभिड–१९ कै कारण मेला प्रभावित भएको थियो।  

सार्वजनिक यातायात सञ्चालन नभएको, कोरोनाको महामारी, भिडभाड हुने किसिमका कार्यहरू गर्न नपाइने भएकाले यो वर्षको मेला सञ्चालन नभएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सन्जिव डिएमले बताए । गोसाइँकुण्डमा वर्षको दुई पटक मेला लाग्ने गरेको छ। दुई वर्ष पहिलेसम्म गंगादशहरको अवसरमा लाग्ने मेलामा ३ हजार भन्दा बढी तीर्थयात्री आउने गरेका थिए।  

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ। काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो।  

काठमाडौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ। त्यसपछि काठमाडौँ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी मार्गबाट तीर्थयात्री जाने गरेका छन्। धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्योग गर्ने गरेका छन् । तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन्।  

कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्।  

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ।  

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन्। मेला अवधिमा भारतीय पुजारी, तीर्थालु, प्रकृतिप्रेमी, लामाहरू, झाँक्रीहरू गोसाइँकुण्ड जान्छन्। 

प्रकाशित: ६ असार २०७८ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App