१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेनीबजार सँधै जोखिममा

म्याग्दीको सदरमुकाम बेनी बजारलाई कालीगण्डकी नदीले कटान गर्न थालेको छ। लगातार भइरहेको भारी बर्षाले बजार रोकथामका लागि कालिगण्डकी नदी किनारमा निर्माण भएको तटबन्ध पर्खाल मंगलबार राती भत्काएको हो।

बेनी नगरपालिका–७ र ८ वडाको सिमानामा पर्ने गणेशटोल र संगमचोकको तल लगाइएको ग्यावीयन पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेको छ। कटान गरेको स्थानमा दुई वर्ष अगाडिमात्रै रुपाताल एकिकृत संरक्षण परियोजनामार्फत् ग्यावीयन पर्खाल लगाइएको थियो।  

कालीगण्डकीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काएकाले म्याग्दी जेसिजको भवनसहित आसपासको क्षेत्र उच्च जोखिममा परेको छ। मंगलबार राती कटान गरेको स्थान आसपासमा हरेक बर्ष जोखिम निम्त्याउने गरेको संगमचोकका यूवा रमेशकुमार श्रेष्ठले बताए। ‘यस वर्ष काम नै भएन्, नदी कटानबाट जोगाउने मोडेल नै परिवर्त गर्नुपर्छ’ श्रेष्ठले भने। उनले हरेक वर्ष नदी कटानबाट बनाइएको संरचना भत्काउने गरेको बताए। हाल भत्किएको ठाउँमा यस अगाडि २०७५ भदौ २७ गते रघुगंगा नदी थुनिएर आएको बाढीले भत्काएको थियो।

तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको भन्दै बजारबासी चिन्तित भएका छन्।

हरेक बर्ष कालिगण्डकी नदीको कटानको चपेटामा परेको बेनीबजार संरक्षणको नाममा समेत मनपरी गर्ने गरिएकाले समेत पर्खाल दिगो नभएको सरोकारवाला निकायको गुनासो छ। ‘समयमै काम गर्न ठेकेदारलाई दबाब दिनुप¥यो, बर्खामा क्षति हुनुमा ठेकेदारलाई समयमै काम गराउन नसक्नु पनि हो’ मानवअधिकार तथा शान्ति समाजका अगुवा रामजीप्रसाद सुबेदीले भने।

उनले परियोजनाबाट समयमै काम सुरू नहुँदा बर्षेनी नदी कटानले क्षति पुर्याउने गरेको बताए। यस वर्ष कटान भएको ठाउँमा विगतमा हेभी इक्युभमेन्टको जथाभावी प्रयोग गरी जमेको ढुङ्गा निकालिएको थियो।  

उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीको शीरमा नदी नियन्त्रणको बाहनामा नदीको तीब्र बेगलाई रोक्न सक्ने ढुङ्गा निकाल्दा जिल्लाका सरोकारवाला निकाय समेत मौन बसेका थिए। नदी संरक्षणको क्रममा ढुङ्गा झिक्दा नदीको सतह गहिरिएकाले क्षति भएको प्राविधिक पक्षको भनाइ छ।  

बजारभित्रै पदैलयात्रीलाई रोक्ने बाढी

बेनीबजारको अस्पताल चोकमा बाढीले पैदलयात्रीलाई समेत आउजाउमा समस्या भएको छ। अस्पताल चोकभन्दा माथिको पाखोबाट झरेको बाढीले अस्पतालमा आउने बिरामीसँगै सर्वसाधारणलाई समेत प्रभावित बनाएको हो। ढुङ्गा, माटो, गेगरसहित खसेको बाढीले मंगलबार र बुधबार विहान सर्वसाधारणले नराम्रोसँग सास्ती खेप्नुपरेको थियो भने कालिपुल बसपार्क समेत लेदोसहितको बाढीले भरिएको छ।

साइकलमा यात्रा गरिरहेका एक यूवाले तीनपटकको प्रयासमा मात्रै अस्पताल चोकबाट बेनीबजारतर्फ जान सफल भएका थिए। उनीजस्तै धेरै यात्रुले तिब्र बेगमा आएको बाढीबाट सजिलै यात्रा गर्न सकेनन्।  

बेनी नगरपालिका–६ जामुनाखर्कतर्फ जाने ग्रामीण सडकसँगै पुरानो खोल्सालाई अतिक्रमण गरी संरचना बनाउँदा हरेक बर्ष बाढीले अस्पताल चोकमा असर गर्ने गरेको छ। त्यस्तै बेनीकै क्याम्पसचोक र मंगलाघाटमा समेत माथिल्लो क्षेत्रबाट खस्ने बाढीले असर गरेको छ। बेनी–अर्थुङ्गे–पाखापानी सडकखण्डअन्तर्गत आँपारुख सामुदायिक वन क्षेत्र, बराहपाखो र महारानी मन्दिर आसपासको क्षेत्रबाट आउने बाढीले हरेक बर्ष बाढीले बेनीबजार बासीलाई सताउने गरेको छ ।भलले जताततै खोलेकाले आगामी दिनमा ब्यवस्थित संरचना बनाउने तर्फ ध्यान नगए थप क्षति हुने देखिएको छ।

प्रकाशित: २ असार २०७८ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App