१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीपहिरोको बितण्डा मेलम्ची करिडोर तहसनहस

पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्‍याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्। घर–बस्ती, दर्जन मोटरेवलपुल र झोलुङ्गे पुल बहेका छन्।  

केही बजार क्षेत्र, सुरक्षा निकायका कार्यालय र व्यारेक डुबानमा छन्। खोलाले जताजतै सडक र नदी योग्यजमिन बगाएको छ। नदी आसपाका आधा दर्जन भन्दाबढी माछा र कृषि फार्मसमेत बाढीले बगाएको छ। मंगलबार दिउँसोदेखिको बाढीपहिरोले मेलम्ची खोला बहुलाउँदा नदी सतह झन्–झन् बढेर निरन्तर क्षति पुर्‍याइरहेको छ।  

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बाढीपहिरोले हेलम्बुदेखि मेलम्ची करिडोर क्षेत्रमा जनधनको व्यापक क्षति पुर्‍याएको बताए। उनले घटनास्थलमा प्रहरी टोली परिचालित भएर क्षति विवरण संकलन गरिरहेको बताए। ‘क्षति भयावह छ। अहिल्यै यकिन तथ्यांक भन्न सक्ने अवस्था छैन,’ उनले भने।  

एसपी अधिकारीले बाढीपहिरोमा परेर हेलम्बु गाउँपालिकाका सात स्थानीय बेपत्ता भएको पुष्टि गरे। बेपत्ता हुनेमा दुई महिला र पाँच पुरुष छन्। बेपत्ताको संख्या अझै बढ्न सक्ने उनले जानकारी दिए। स्थानीयले भने बेपत्ता र मानवीय हताहतिको संख्या धेरै रहेको बताए। हेलम्बु गाउँपालिकाको मेलम्ची खोला किनारका विभिन्न स्थानमा पहिरो निम्तँदा त्यसले बाढीको रुप लिएको प्रहरीले जनाएको छ। हेलम्बुको नाखोतेदेखि तिम्बु, मेलम्ची हुँदै झण्डै २५ किलोमिटर तलको तटीय क्षेत्रसम्म बाढीले क्षति पुर्‍याएको छ।

सिन्धुपाल्चोक गृहजिल्ला भएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मेलम्ची खानेपानीको आयोजनाको हेडवक्र्स (मुहान बाँध) बाढीपहिरोले बगाएको बताए। बाढीले नाखोते, तिम्बु, फट्टे, मेलम्ची, बाहुनेपाटी लगायत स्थानको एक दर्जन मोटरेवल र झोलुंगे पुल बगाएको छ। मेलम्ची आयोजनाको मुखैमा रहेको तल्लो तिम्बु बजार बाढीले बगाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।  ‘धेरै क्षति हेलम्बु क्षेत्रमा पुगेको छ,’ उनले भने। 

चनौटे, रातोपुल, तालामाराङ, बजार डुबानमा छन्। नदी किनार र सडक आसपासका धेरै घरहरु बगेको प्रहरीको अनुमान छ। पश्चिमी केन्द्र मेलम्चीको पूरानो बजार क्षेत्रसमेत डुवानमा छ। बजार क्षेत्रबाट अहिले नदी बहेको छ। यहाँका दर्जनौँ घरको दुई तलासम्म भरिएर नदी बहिरहेको स्थानीयले जानकारी दिए। मेलम्चीको सदरमुकाम जोड्ने पक्की पुल, नजिकैको झोलुंगे पुल, दोभानको झोलुंगे पुल बगेका छन्।  

मेलम्ची खोला करिडोरमा रहेका भण्डारी रिसोर्ट, रेन्वो ट्राउटसहित झण्डै एक दर्जन  माछा, कृषि फार्म र रिसोट बगाएको प्रत्यक्षदर्शीले बताए। ‘रिसोर्टमा माछा खाँदै गर्दा पाहुना बहेका छन्,’ स्थानीयको भनाई उद्धृत गर्दै हेलम्बुका स्थानीय शिक्षक पूर्ण गौतमले भने। उनका अनुसार केही दिनअघि मात्र शिलान्यास गरिएको मेलम्चीघ्याङ जोड्ने नाखोते पुल बाढीले बगाएको छ।  बाढीपहिरोले क्षति पुर्‍याउँन थालेपछि नदी करिडोरका स्थानीयबीच ज्यान जोगाउन मंगलबार साँझदेखि भागदौड मच्चिएको थियो।  

यो क्रम मध्यरातिसम्म चल्यो। मेलम्चीका स्थानीय बजार खाली गराएर टार क्षेत्रमा आश्रय लिइ बसेका छन्। लार्के, लांग्री खोलाबाट समेत बाढीपहिरो निम्तिएपछि इन्द्रावती र मेलम्ची नदी मिसिएर बहाव बढ्दा मेलम्ची बजार सबैभन्दा बढी जोखिममा रहेको एसपी अधिकारीले जानकारी दिए। ‘मेलम्ची बजारमा नदी सतह र बहाव अझै बढ्दो छ,’ उनले भने। 

प्रकाशित: २ असार २०७८ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App