१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंको तीनपटक खोप शून्य

दहिलाल महर्जन

तीनपटक जंको गरिसकेका खोकनाका दहिलाल महर्जन गाउँकै सबैभन्दा जेष्ठ मानिन्छन्। नेवारी संस्कारमा ७७ वर्ष उमेर पार गरेपछि वृद्धवृद्धालाई रथमा राखेर गाउँ–टोल परिक्रमा गराउने परम्परालाई जंको भनिन्छ। रुद्रायणी मन्दिरका पूजारीसमेत रहेका महर्जनले खोप भने एक पटक पनि नलगाएको बताए । ‘बुढेसकालमा खोप लगाए ज्वरो आउँछ भन्ने सुनियो,’ उनले भने, ‘त्यसैले एक पटक पनि खोप लगाएको छैन।’  

उनले मात्र हैन, दुईपटक जंको गरेकी उनकै टोलकी ८० वर्षीया मनमाया डंगोलले पनि एकपटक पनि खोप लगाएकी छैनन्। ‘जंको गरेकोले पर्दैन भन्ने सुनेँ’, उनले भनिन्, ‘त्यसैले खोप लगाउन गइँन।’ कोरोनाको बारेमा धेरै कुरा सुनेपनि खोपको बारेमा अन्य केही जानकारी  नभएको उनले सुनाइन्।  

सरकारले जेष्ठ २५ गतेबाट ६० देखि ६४ उमेर समूहलाई पहिलो प्राथमिकतामा राखेर भेरोसेल खोप  लगाउँदै गर्दा ललितपुरको पश्चिम भेगको गाउँ खोकनामामा भने उनीहरुजस्ता थुप्रै जेष्ठ नागरिकले पहिलो चरणकै खोप नलगाएको भेटिए। खोपबारे भरपर्दो र व्यवस्थित सूचना नपुग्दा खोकनाका थुप्रै जेष्ठ नागरिक  भ्याक्सिन लिनबाट छुटेका छन्। मन्दिरको छेउछाउको पाटीमा सुस्ताउँदै आएका उनीहरु कोरोनाको महामारीमा भगवान भरोसामा भेटिए।  

खोपको बारेमा सुरुमा त्रास फैलाएका कारण पनि कतिपय डराएको भेटिए। ‘डर लागेर खोप लगाउन नगएको,’ ७८ वर्षीय ज्ञानबहादुरले भने, ‘अरु केही थाहा छैन ।’

गाउँमा भेटिएका केही जेष्ठ नागरिकले भने हल्लाको पछाडी नलागेर खोप लगाएको सुनाए। बरु उनीहरुले पहिलो चरणको खोप लगाए पनि दोस्रो नआउँदा निराश भएको सुनाए। ‘मैले चाहिँ एउटा खोप लगाएँ’, दुईपटक जंको गरेका ८७ वर्षीय सिलाल महर्जनले भने, ‘अर्को खोप नआएकाले लाउन पाएको छैन।’  

७७ वर्षको उमेरमा पहिलोपटक जंको गरेका उनले जेष्ठ नागरिकको हैसियतले कोभिसिल्ड खोप पहिलोपटक त लगाए तर भारतले दोस्रोपटक खोप नपठाउँदा दोस्रो खोप लगाउन नपाएको उनले सुनाए। ‘पहिलो खोप लगउँदा मलाई त डर लागेन,’ उनले भने, ‘मौका पाए दोस्रो पनि लगाउँछु।’  

फागुनको अन्तिम सातातिर कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले सिलालको जस्तै दोस्रो चरणको खोप छिट्टै पाउने आशा गरेका छन्। ‘बरु नलगाएकालाई केही चिन्ता छैन,’ सिलालले थपे, ‘मलाई त त्यो खोप कहिले आउला जस्तो लागिरहन्छ।’  

प्रकाशित: २६ जेष्ठ २०७८ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App