५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कोराेनाको दोश्रो लहरको बेला भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएन

बिना जाँच सिधैं घर जान दिँदा गाउँ गाउँमा तीव्र संक्रमण

कोराेनाको संक्रमण सुदूरपश्चिममा २०७६ चैत १४ गते देखा पर्यो । सरकारले अन्तर्राष्ट्रिय नाका बन्द(चैत ११) गर्नु अघि नै भारतका बिभिन्न ठाउँमा मजदुरी गर्ने करिब डेढ लाख जना सुदूरपश्चिम भित्रिसकेका थिए । भारतमा कोराेनाको संक्रमण धेरै फैलिनसकेको हुनाले त्यतिबेला भित्रिएकाहरुबाट जोखिम भएन । दुवै क्षेत्रबाट फर्केका युवामा पहिलो संक्रमण देखिएको सुदूरपश्चिममा वैशाख १ गतेसम्म ५ जना संक्रमित देखिए । ती सबै निको भएर घर फर्किसक्दा समेत करिब ४० दिनसम्म सुदूरपश्चिममा नयाँ संक्रमित देखा परेन । 

सुदूरपश्चिमका नाकामा प्रवेश खुला गरिएपछि गत वर्षको जेठ सुरुदेखि भारतमा बिभिन्न ठाउँबाट नेपालीहरु भित्रिन थाले । त्यसपछि पुनः संक्रमण देखिन थाल्यो । त्यतिबेला दिनहुँ हजारौंको संख्यामा फर्कनेहरुलाई बिभिन्न स्थानीय तहका विद्यालय भवनमा १४ दिनसम्म क्वारेन्टिनमा राखियो । स्वास्थ्य निर्देशनालय र सुदूरपश्चिम प्रदेश सरकारको समाजिक मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकमा क्वारेन्टिन स्थलको संख्या नै सयभन्दा बढी थियो भने प्रत्येक क्वारेन्टिनमा बस्नेको संख्या हजारौं हुने गथ्र्यो । 

‘गत वर्ष ६७ हजारसम्म क्वारेन्टिनमा बसेका थिए’, स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक गुणराज अवस्थीले भने,‘यस पटक भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएन ।’ गत वर्ष सबै स्थानीय पालिकाले चासो दिएर भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएको भएपनि यस पटक भने कसैले पनि क्वारेन्टिनमा राख्न ध्यान दिएनन् । गत वर्ष सरकारले लकडाउन गरेर सबै विद्यालय बन्द भएकाले विद्यालय भवनमा नै भारतबाट फर्केकालाई दुई तीन साता क्वारेन्टिनमा राख्ने गरिएको थियो । भारतबाट फर्केकाहरु राखिएका विद्यालयलाई नै क्वारेन्टिन स्थल भनेर विवरण सार्वजनिक गर्ने गरिएको थियो । 

एक वर्षको अवधिमा पर्याप्त समय हुँँदा पनि धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकाले १ सय, १ सय क्षमताको आईसोलेसन सेन्टर स्थापना गर्ने बाहेक अन्य कसैले पनि क्वारेन्टिन  तथा आईसोलेसन सेन्टर बनाएका छैनन् । दोश्रो लहरको कोरोनाको संक्रमण उत्पात्त रुपमा फैलिरहेको भारतबाट वैशाखको सुरुदेखि नै नेपालीहरु घर फर्किरहेका छन् । सुदूरपश्चिमको कैलालीको गौरिफन्टा, कंचनपुरको गड्डाचौकी लगायतका नाकाबाट प्रत्येक दिन १ हजारभन्दा बढी संख्यामा सुदूरपश्चिममा प्रवेश गरिरहेका छन् । उनीहरुलाई क्वारेन्टिनमा नराखी जाँच समेत नगरेर सिधैं घर घर जान दिइएको छ ।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार वैशाख महिनामा मात्र ३४ हजार ९ सय ३६ जना भारतका बिभिन्न ठाउँमा मजदुरी गर्ने नेपाली सुदूरपश्चिमका नाकाबाट भित्रिएका छन् । यि मध्य १३ हजार ९ सय ९४ जनाको मात्र एन्टिजेन परीक्षण गरिएको छ भने वैशाख एक महिनामा मात्र अन्य २०  हजार ९ सय ४२ जनालाई परीक्षण नगरि सिधैं घर घर जान दिइएको छ । परीक्षण गरिएर कोराेना पोजेटिभ देखिएका र लक्षण नभएकालाई समेत होम आईसोलेसनमा बस्न भनेर घर पठाउने गरिएको छ ।

जनशक्ति र किटको अभावमा भारतबाट फर्केका अधिकाशंको परीक्षण गर्न नसकिएको धनगढीको नाकामा स्थापना गरिएको हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले बताए । लक्षण भएका र समूहमा रहेका मध्य १ जनाको एन्टिजेन परीक्षण गर्ने गरेको उनले बताए ।

बिना जाँच सिधैं घरजान दिँदा गाउँ गाउँमा संक्रमण

भारतबाट फर्केकाहरुको परीक्षण समेत नगरि क्वारेन्टिनमा पनि नराखेर घर घर जान दिँदा अहिले सुदूरपश्चिमका गाउँ गाउँमा संक्रमण तीव्र देखिएको छ । ‘भारतबाट आएकाे व्यक्ति कुन बाटोबाट कहाँ पुगेको छ, त्यसको रेकर्ड राख्न सकिएको छैन’, निर्देशक अवस्थी भन्छन् । भारतबाट आएका धेरै मान्छे क्वारेन्टिनमा नबसी घर घर गएकाले व्यापक संक्रमण फैलिएको उनी पनि स्विकार्छन् ।

सेती प्रादेशिक अस्पताल कोराेना उपचार बिभाग प्रमुख शेरबहादुर कमर दोश्रो लहरको नयाँ भेरियन्टको कोराेना संक्रमण फैलिनु मुख्य दुई कारण भएको बताउँछन् । एक कोराेनाको नयाँ भरेरियन्ट शक्तिशाली हुनु र दोश्रो वातावरण तयार हुनु उनी भन्छन् । ‘वातावरण तयार भनेको भारतबाट आएकाहरु क्वारेन्टिनमा बसेनन्, समुदायमा अन्य प्रकारका पनि सावधानी अपनाइएन्’, उनले भने,‘यस कारण अहिले दोश्रो लहरको कोराेना तीव्र रुपमा समुदायमा फैलियो ।’

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा.हेमराज पन्त भारतबाट नै आएर दोश्रो लहरको कोराेना समुदायमा फैलिएको उनकाे भनाइ छ । ‘पोहोर साल भारतबाट आएकालाई नाकामा जाँच गर्ने, क्वारेन्टिनमा राख्ने लगायतका काम गरिए तर यस वर्ष त्यो देखिएन’, उनी भन्छन्,‘सरकारको दिर्घकालीन योजना भएन ।’ आपतकालीन अवस्थामा सामाजिक संघसंस्था परिचालन गर्ने नीति पनि बन्न नसकेको उनको भनाई छ । ‘पोहोर केही काम भ्रष्टाचारका लागि पनि भए । एक बोतल पानीको पनि दुई गुणा बढी बिल बनाएर खाएका छन्’, उनले भने,‘यस वर्ष साधनश्रोत नभएर पनि होला तर भारतबाट आएकालाई रोकेर क्वारेन्टिनमा राखेको भए समुदायमा दोश्रो लहरको कोराेना संक्रमण यतीधेरै हुने थिएन ।’

प्रदेश समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले गत वर्ष जस्तो विद्यालयमा राख्न सकिने अवस्था नभएकाले भारतबाट फर्केकालाई होम क्वारेन्टिनमा बस्न भनिएको बताए । शिक्षा मन्त्रालयले विद्यालय पनि बन्द नगरिदिएको र विद्यालयमा क्वारेन्टिन नराख्नु भनेर भनेकाले यस पटक गत वर्ष जस्तो विद्यालयमा नराखिएको उनको भनाई छ । ‘विद्यालयमा क्वारेन्टिन नराख्न भनिएपछि यती ठूलो संख्या हजारौंलाई राख्ने अन्य क्वारेन्टिन स्थल भएन’, उनले भने । अर्को कुरा गत वर्ष भारतबाट फर्केकालाई क्वारेन्टिनमा राख्न स्थानीय तह सक्रिय रुपमा लागेको भएपनि यस पटक उनीहरुले ध्यान नदिएको उनी बताउँछन् । संक्रमितको सम्पर्कमा रहेको ६,७ दिनपछि मात्र कोराेना पोजेटिभ देखिने भएकाले सीमामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकालाई पनि संक्रमण हुन सक्ने र रिपोर्टले निर्धक्क भएर समुदायमा घुलमिल गर्दा बढी संक्रमण फैलिने जोखिम भएकाले सबैको परीक्षण नगरिएको उनको तर्क छ ।

कन्ट्रयाक्ट ट्रेसिङ गरिँदैन

कोराेनाको शुरुवातको बेला एक जना संक्रमित देखा पर्ने बित्तिकै उसको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाएर परीक्षण गर्ने, आईसोलेसनमा बस्न लगाउने गरिन्थ्यो । अहिले पहिलो भन्दा बढी घातक र संक्रामक देखिएको काेरोनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण फैलिँदा कन्ट्रयाक्ट ट्रेसिङ नै गरिने गरेको छैन । भारतबाट फर्केका संभावित संक्रमित पनि समुदायमा घुलमिल हुनु, कन्ट्रयाक्ट ट्रेसिन नहुनु र बढीभन्दा बढी परीक्षण गरेर संक्रमितकाे पहिचान नगर्नु जस्ता कारणले समुदायमा संक्रमण भयावह रुपमा फैलिएको विज्ञ तथा वरिष्ठ फिजिसियन शुभेस राज कायस्थ बताउँछन् । कन्ट्रयाक्ट ‘समुदायमा व्यापक रुपमा संक्रमण फैलिरहेकोले कन्ट्रयाक्ट ट्रेसिङ गर्न संभव नै छैन’, निर्देशक अवस्थी भन्छन् । 

कन्ट्रयाक्ट ट्रेसिङ नहुनु र नमुना संकलन कम हुनाले यस वर्ष परीक्षण पनि कम हुने गरेको छ । सुदूरपश्चिममा अहिले सम्म ४० हजार ५ सय ७६ जना संक्रमित भएका छन् भने कोराेनाको संक्रमणले ५ सय १६ जनाको मृत्यु भइसकेको छ । पहिलो लहरमा चैत मसान्तसम्म ५७ जनाको मात्र मृत्यु भएको थियो ।

प्रकाशित: २१ जेष्ठ २०७८ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App