१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

संवैधानिक इजलास नियमावली संशोधनका लागि फुलकोर्ट बस्दै

सर्वोच्च अदालतले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधनसहित विविध विषयमा छलफल गर्नका लागि शुक्रबार फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित) बैठक बोलाएको छ। बैठकले निषेषाज्ञाका बेला अदालतले प्रदान गर्ने सेवाका विषयमासमेत छलफल गर्ने बताइएको छ। 

यसअघि निषेधाज्ञामा दिइने सेवाका विषयमा फुलकोर्टले गरेका निर्णयसम्बन्धी समय शुक्रबार सकिँदै छ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रोलक्रम मिचेर न्यायाधीश छानेर संवैधानिक इजलास गठन भएपछि प्रश्न उठेको थियो। दुईजना न्यायाधीशमाथि विघटनविरुद्ध रिट दर्ता गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कानुन व्यवसायीले प्रश्न उठाएपछि विवाद भएको थियो। 

प्रश्न उठाइएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछोड्ने निर्णय गरेपछि संवैधानिक इजलास अर्को नयाँ गठन हुने भएको छ। प्रश्न उठाइएका दुई न्यायाधीशले इजलास नछोड्ने अडान लिएपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले नैतिकताका आधारमा नबस्ने घोषणा गरेपछि अर्को इजलास गठन हुने भएको हो।

विवाद भएपछि संवैधानिक इजलासमा वरिष्ठ र विशेषज्ञताका आधारमा अर्को इजलास गठन गर्ने प्रस्ताव सर्वोच्च बार एसोसिएसनले राखेको थियो। त्यसका लागि संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन गर्नुपर्ने भएपछि मस्यौदा सर्वोच्चको फुलकोर्ट बैठकमा पेस गरी अघि बढ्ने बताइएको छ। सर्वोच्च बार एसोसिएसन समितिका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी मंगलबार सर्वोच्च पुगेका थिए। 

वरिष्ठता र विशेषज्ञताका आधारमा न्यायाधीश तोक्नुपर्ने सर्वोच्च बारको निष्कर्ष सर्वोच्चलाई सुनाइएको थियो। त्यसका लागि संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन गर्नुपर्ने भएकाले प्रधानन्यायाधीश जबराले मस्यौदा तयार पार्ने जिम्मेवारी मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई दिइसकेका छन्। नियमावलीमा सर्वोच्च बारको सुझावअनुसार न्यायाधीशको वरिष्ठता र विशेषज्ञता अनुसार संशोधन भएमा वरिष्ठताको आधारमा इजलास तोकिनेछ। 

प्रकाशित: २१ जेष्ठ २०७८ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App