२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परदेशिएका युवाको पीडाः फर्कियो रित्तो झोला !

गौरीफन्टा सीमा नाकामा स्वास्थ्य परीक्षण गर्दै स्वदेश फर्केका नेपाली कामदार । तस्बिरः पुष्पराज/नागरिक

गौरीगंगाका रुदे साउँद गत फागुनमा जहान परिवारसँग टीकाटालो गरेर आउँदो दसैँमा लत्ताकपडा र केही पैसा लिएर फर्कने सपना बुन्दै मुम्बई हानिए । मुम्बईमा भनेको समयमा जागिर नपाएका उनी केही दिन भौतारिए जागिर खोज्दै । अन्ततः एउटा होटेलमा काम पाए । होटेलमा काम पाए लगत्तै भारतमा कोभिडको ‘दोस्रो लहर’ आएको भन्दै सचेत अपनाइयो । केही होटेल तथा व्यवसायीले पुनः उत्पादन तथा होटेलको समय घटाए । 

समय घटाए पनि उनीसँगैका केहीलाई बिदा गरियो, तर उनको काम भने जसोतसो चलेकै थियो । जेठ पहिलो साता होटेलले पूर्णरुपमा बन्द भएसँगै साउँदलाई पनि बिदा दिइयो । दुई महिना जागिर गर्न नपाउँदै पुनः होटेलले बिदा दियो,’ धनगढीस्थित त्रिनगर भन्सार नाकामा भेटिएका उनले भने,‘रित्तो झोला भिरेर फेरि घरै फर्केको छु ।’

घर परिवारलाई झोलाभरी लुगाफाटा ल्याइदिने सपना बुन्दै भारत गएका मजदुरहरू कोरोना कहरले लामो समय जागिर नपाउँदा यसपालि रित्तै झोला भिरेर पुनः स्वदेशै फर्केका छन्

साउँद जस्तै अत्तरियाका गोरख बिक पनि भातरको मुम्बईबाटै फर्के । उनलाई पनि जागिरबाट शाहूले बिदा दिएपछि स्वदेश फर्केका हुन् । ‘कोरोना बढ्यो भनेर काम बन्द भयो,’ उनले भने,‘सेटले घर जाऊ भनेपछि बिशु मनाएर गएको म एक महिनामै  फर्किएँ ।’ स्वदेशमै काम पाएको भए भारत जान रहर नभएको बताउँदै उनले भने,‘कोरोनाका कारण घरीघरी भारत आउजाउमै उमेर र पैसा सकिन थाल्यो ।’ घर परिवारलाई झोलाभरी लुगाफाटा ल्याइदिने सपना बुन्दै भारत गएको आफू यसपालि रित्तै झोला भिरेर फर्कनु परेको उनले गुनासो पोखे । 

सरकारले केही उद्यम सिकाएर स्वदेशमै रोजगारीको अवसर दिए आफूजस्ता तमामौ युवा रित्तै फर्कनु पर्ने पीडाबाट मुक्ति पाउने उनी बताउँछन् । ‘घर पुग्दा छोराछोरीले झोला हेरे के दिउँला,’ उनले भने,‘रित्तै झोला फर्कनु पर्दा कम्ता दुःख लागिरहेको छ ।’    

उनी मात्रै हैनन् अहिले त्रिनगर भन्सार नाका भएर स्वदेश फर्कने नेपाली मजदुरको संख्या दिनानुदिन बढ्दै गएको छ । कोरोनाका कारण गत वर्ष स्वदेश फर्केकाहरु पुनः केही महिनाअघि भारत छिरेका थिए । भारतमा जागिर नपाउँदै पुनः रित्तो झोला बोकेर स्वदेश फर्कनु पर्दाको पीडा सहिनसक्नु छ । ‘भारत जाँदा ऋण काढेर गएको थिएँ,’ गोरखले भने,‘त्यही ऋण पनि तिर्ने पैसा ल्याउन सकिन ।’ छोराछोरी र श्रीमतीका लागि लुगाफाटा ल्याउने सपना त सपनै रहेको उनी बताउँछन् । ‘केही पैसा कमाएर दसैँमा छोराछोरी र श्रीमतीका लागि लुगाफाटा ल्याउँला सोचेको थिएँ,’ उनले भने,‘सपना सपनै रह्यो ।’  

लकडाउनका बेला ज्यान जोगाउन नेपाल फर्केकाहरु स्वदेशमा लामो समय बस्दा रोग भन्दा भोकले मर्ने स्थिति आउन थालेपछि माहोल केही शान्त भएपछि  पुनः भारत फर्केको बताउँदै सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले भने,‘नेपालमा रोजगारी नहुँदा चौकीदारी गर्न भारत गएकाहरू पुनः रित्तो झोला समातेर स्वदेश फर्कन बाध्य भएका छन् ।’ 

सरकारले केही उद्यम सिकाएर स्वदेशमै रोजगारीको अवसर दिए आफूजस्ता तमामौ युवा रित्तै झोला भिरेर फर्कनु पर्ने पीडाबाट मुक्ति पाउने गोरख बिक बताउँछन् ।  

कोरोनाका कारण पुनः नेपाली मजदुर फर्किएको बताउँदै  नागरिक समाजका अगुवा प्रमोद पाठकले भने,‘अब प्रदेश सरकारले आफ्ना नागरिकप्रतिको संवेदनशीलतालाई बुझेर स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्छ ।’ अर्काका देशमा सस्तोमा श्रम खर्चने मजदुरहरु रित्तो झोला फर्काउँदै आउनुपर्ने बाध्यता बिडम्बनापूर्ण रहेको बताउँदै उनले भने,‘प्रदेश सरकारले भारत जाने युवाहरुलाई स्वदेशमै रोक्ने खालको नीति बनाएर स्वरोजगारमुखी बजेट ल्याउन सक्नुपर्छ ।’ प्रदेश सरकारले ल्याउने बजेटलाई स्वरोजगारमुखी बनाउन उनले आग्रह गरे ।  

भारतका विभिन्न सहरबाट हिजोआज कञ्चनपुरको गड्डाचौकी र त्रिनगर भन्सार भएर आउनेको संख्या दिनानुदिन बढीरहेको छ । गत चैतदेखि आइतबार दिउँसोसम्म गड्डाचौकी र गौरीफन्टा नाका भएर कैलाली, कञ्चनपुर फर्कने नेपालीको संख्या १ लाख ५ सय ६७ जना पुगेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार गत चैतमा यी दुई नाका भएर सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्ने नेपाली ४६ हजार ६७ जना थिए भने वैशाखमा ४४ हजार १ सय ४ जना नेपाल फर्केको तथ्याङ्क छ ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै रोजगारीका लागि गएका नेपालीहरुको फर्कने क्रम बढेको गौरीफन्टा नाकास्थित सीमा सुरक्षा बलले बतायो । जेठ १ गतेदेखि १६ गते दिउँसोसम्ममा यी दुवै नाकाबाट १० हजार ३ सय ९६ नेपाली कामदार स्वदेश फर्किसकेका छन् ।

प्रकाशित: १८ जेष्ठ २०७८ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App