१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

ढल जम्दा महानगरको कार्यालय आसपास दुर्गन्ध

बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवनको भूइँतला ढलमग्न भएको छ। ढल निकासका लागि महानगरपालिकाले चासो नदिँदा ढल थुनिएर दुर्गन्ध समेत फैलिएको हो। ढल व्यवस्थापनको लागि समन्वय नगर्दा चाइना टाउनको भूइँतला समेत डुबानमा परेको छ। वर्षायामको बेला ढलमग्न हुँदा महानगर र कारागार प्रशासन कार्यालयले त्यसको समाधान खोजेका छैनन। गत वर्ष ढल निकासका लागि डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुईकोठे भवन भत्काएको थियो। तर, ढलपाइप फेरि थुनिएको छ। खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण ढल निकान हुन सकेको छैन।  

भवनको पछाडि ह्युमपाइन राखिने ठाउँमा भवन भएकोेले यस्तो समस्या देखिएको महानगरपालिकाले जनाएको छ। ढलको पानीले निकास नपाउँदा कारागारको क्यान्टिन भवनसमेत धरापमा परेको छ। ढलको पानी थुनिएर दर्जनौं कार्यालय र पसल रहेका भवनका भूइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ। कोरोना महामारीका बेला दुर्गन्धका कारण विभिन्न कार्यालयका कर्मचारी र व्यापारी नाकमुख थुनेर काम गर्न बाध्य छन्। दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले ढल जम्ने समस्या पहिलेखिकै रहेको बताए। ‘यो पहिले देखिको समस्या हो, हामीले एकपटक बनाएको पनि हो,’ उनले भने, ‘कारागार कार्यालयले भवन बनाउँदा यस्तो समस्या भएको हो, यसको समाधान छिट्टै खोज्छौं।’ उनले कारागार कार्यालयले ढलपाइप थुनिदिएकोले यस्तो समस्या आएको जानकारी दिए। कारागार प्रशासनसँग समन्वय गरेर ढलपाईप खोलेपछि मात्रै यसको समाधान हुने उनको भनाइ छ।  

ढल निकासका लागि खनेको माटो वर्षाको पानीसँगै त्यही खसेर फेरि ढल निकास अवरुद्ध भएको कारागार प्रशासनले जनाएको छ। स्थानीयका अनुसार खनेको स्थानमा तत्काल नयाँ पाइप राखेर पुरिएको भए समस्या समाधान भइसक्थ्यो। तर, नयाँ पाइप नराखेपछि ढल फेरि जम्न थालेको छ। त्यस्तै, कारागारका सुरक्षाकर्मी बस्दै आएको दुईकोठे पुरानो भवनगत वर्ष भत्काइएको थियो। तर ढल निकास नगरी नयाँ भवन बनाइएको छ। 

महिला ब्यारेक भवनमुनिबाट ढल राम्रोसगँ निकास हुन सकेको छैन। ढल प्रभावित क्षेत्र ११ नम्बर वडाअन्तर्गत पर्छ। ११ वडाका अध्यक्ष हिरालाल तन्डुकारले यसको समाधान खोज्ने बताए। उनले भने, ‘यो समस्या पहिलेदेखिको हो, पाइप ल्याइसकेको पनि हो, अब समाधान हुन्छ।’ उनका अनुसार कारागार प्रशासनले महानगरपालिका र वडा कार्यलयसगँ स्वीकृति नलिई अनधिकृत ढंगले संरचना बनाएपछि ढलको समस्या निम्तिएको हो।

प्रकाशित: १७ जेष्ठ २०७८ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App