गोरखाको धार्चे गाउँपालिका १ हुल्चुक पैयुँखर्कमा २१ वटा भेडा पहिरोमा पुरिएको छ भने ९ वटा बेपत्ता छ। राजु घले र लोक्पा घलेले संयुक्त रुपमा पाल्दै आएका भेडा पहिरोले गोठ बगाउँदा पुरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए।
लगातारको वर्षात्ले गोठ भत्किँदा शहीदलखन गाउँपालिका ७ बुङ्कोट बनकालीमा भैँसी र बाख्रा मरेको छ। किसान धनबहादुर श्रेष्ठको एउटा ब्याएको भैँसी, पाडा, ब्याउने भैँसी, तीनवटा बाख्रा, एउटा बोका च्यापिएर मरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए। शुक्रबार राती धन्सार भत्किएको र लगातार पानी परिरहेकाले एक हलगोरु र एउटा पाडा भने घाइते अवस्थामा शनिबार मात्रै उद्दार गरिएको थियो।
वर्षात् पछिको पहिरोले शहिदलखन गाउँपालिका ६ स्थित हिमालय माविको ३० मिटर पक्की कमाउण्ड गरिएको पर्खाल भत्किएको छ। धार्चे गाउँपालिका ५ माछाखोलामा स्थानीयले प्रयोग गर्दै आएको काठको फड्के बाढीले बगाएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए।
प्रकाशित: १५ जेष्ठ २०७८ १४:१३ शनिबार