२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बारपाकमा सात सय २२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५८ जना पोजेटिभ

दिनभरीको झरीले उपचार गर्ने/गराउनेलाई सास्ती

समुदायमा कोरोना मिल्दोजुल्दो लक्षणका बिरामी धेरै भेटिएपछि बारपाकमा शुक्रबार ऐन्टिजेनबाट कोरोना जाँच गरिँदै ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ बारपाकमा शुक्रबार सात सय ३२ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ । ती मध्ये ५८ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए । पोजेटिभ रिपोर्ट आएकामा अधिकांस वृद्धवृद्धा छन् । तीन सय ९८ जना महिला र तीन सय २४ जना पुरुषको ऐन्टिजेन परीक्षण गरिएकोमा ४० जना महिला र १८ जना पुरुषलाई पोजेटिभ देखिएको हो ।  

दुई सातामा १३ जनाको मृत्यु भएपछि शुक्रबार गण्डकी प्रदेश, जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) र गाउँपालिकोसहित तीनवटा टोलीले ऐन्टिजेन परीक्षण गरेको थियो । शुक्रबार दिनभरी वर्षात भएका कारण परीक्षणमा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । ‘परीक्षण गर्न घरघरै पुगेर सबैलाई अनिवार्य भनियो’, स्थानीय जितबहादुर घलेले भने, ‘बिरामी भएका सबै जाँच गर्न आएका थिए, तर दिनभर झरी परेर दुःख भयो ।’ साविकको वडा नम्बर १ २ र ३ मा भने शनिबार ऐन्टिजेन परीक्षण हुनेछ ।  

‘समुदाय स्तरमा कोरोनाको लक्षण देखिएका बिरामी धेरै रहेछन्, कतिपयलाई निको भएको हुन सक्छ’ शुक्रबार गण्डकी प्रदेशबाट चिकित्सकको टोलीसहित बारपाक पुगेका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले भने । तर समुदायमा स्वास्थ्य समस्या चाँही रहेछ । शुक्रबार धेरै जनाको परीक्षण भएपछि संक्रमण एकअर्कामा सर्ने खतरा कम भएको उनले बताए । लक्षण देखिएका बिरामी भने धेरै थिए । 

मन्त्रीसँगै गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, धनमाया लामा पोखरेल, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्मा पनि बारपाक पुगेका थिए । मन्त्री र सांसदहरुले गाउँ चाहार्दै बिरामी परेका, कोरोनाको लक्षण देखिएकालाई ऐन्टिजेन परीक्षण गराउन अनुरोध गरेका थिए । यसअघि परीक्षणमा चासो नदिएका स्थानीय शुक्रबार भने जाँच गराउन उत्सुक बने । गाउँपालिका, वडा तहका जनप्रतिनिधिले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन, सुरक्षित भएर बस्न, बिरामी भएपछि स्वास्थ्य संस्था जान, औषधि सेवन गर्न स्थानीयलाई सुझाब दिएका थिए । चेकजाँच गराउन गएका स्वास्थ्यमा समस्या भएका र पोजेटिभ रिपोर्ट आएकालाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।  

केही मानिस रुघाखोकी लागेका भेटिएको र अधिकासंमा जटिल स्वास्थ्य समस्या नरहेको बारपाक सुलिकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए । बारपाक एघार सय घरधुरी एकै ठाउँमा रहेको बाक्लो बस्तीको गाउँ हो । त्यहाँ जनजातीको बाहुल्यता छ । कोरोनाका पुष्टि भएर मृत्यु भएका र लक्षण मिल्दोजुल्दो देखिएर मृत्यु भएकालाई पनि जातिय परम्परा अनुसार अन्तेष्टी गरिएको छ । 

अन्तेष्टी गर्दा मानिस भेला हुने क्रमले पनि संक्रमण दर फैलिएको हुन सक्ने आशंका स्थानीयले गरेका थिए ।

प्रकाशित: १४ जेष्ठ २०७८ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App