निजी रेडियोहरूको छाता संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानको निधन भएको छ। कोरोना संक्रमणका कारण इटहरी निवासी ५० वर्षे न्यौपानेको शुक्रबार बिहान निधन भएको हो।
नेपाल बिज्ञापन बोर्डका कार्यकारी सदस्यसमेत रहेका न्यौपानेको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि १८ दिनदेखि विराटनगरको विराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको स्वास्थ्यमा थप समस्या आएपछि पाँच दिनदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।
न्यौपाने सप्तकोसी एफएमका स्टेशन म्यानेजर हुन्। न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन्।
नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चका सदस्य समेत रहेका न्यौपानको निधनप्रति नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश नं. १ र सुनसरी शाखा स्तब्ध र दुःखी भएको जनाएको छ। महासंघले जारी विज्ञप्तिमा नेपालमा एफएम रेडियोको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका न्यौपानेको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र अनुभवी पत्रकार गुमाएको उल्लेख छ।
प्रकाशित: १४ जेष्ठ २०७८ १३:२८ शुक्रबार