२२ मंसिर २०७८ बुधबार
समाज

राज्यको 'कमेडी' ले खोस्यो 'स्ट्यान्डअप' कमेडियनको खुसी

समसामयिक विषयमा कमेडी गरेर नागरिकलाई हसाउँने कमेडियन राज्य प्रणालीले उनको जीवनमा गरेको ‘कमेडी’बाट रुन बाध्य बनेका छन्। मिर्गौला पीडित बुवा विनोद मिश्राको निधनसँगै बारा जीतपुरका कमेडियन आदर्श मिश्रा देशको स्वास्थ्य प्रणालीको बेहाललाई यसको कारण भनेका छन।  

शिक्षण पेशामा आवद्ध उनका बुबा लामो समयदेखि मिर्गौला पीडित थिए। उनको उपचारमा परिवारले कुनै कमी राखेको थिएन। उपचारकै क्रममा उनको मिर्गौला फेर्नुपर्ने भयो। भारतमा रहेकी उनकी सानीआमा आफ्नो मिर्गौला दिन तयार पनि भइन्। तर अस्पतालले विदेशी नागरिक भएका कारण प्रत्यारोपण गर्न नमानेको आदर्श मिश्राले आरोप लगाएका छन्। तिनै विनोदको उपचारको अभावमा मंगलबार निधन भएको छ।  

आदर्शले पिताको मृत्युबारे आफ्नो आधिकारिक युट्युब च्यानलमा घटनाको बेलीबिस्तार गरेका छन्। उनले आफ्नो पिताको मृत्युका लागि पर्सा स्थित नेशनल मेडिकल कलेज र नारायणी सरकारी अस्पताल जिम्मेवार भएको बताएका छन्।

उनले रुँदै भनेका छन, –बाबा हुनुहुन्नँ अब। मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार म नेशनल मेडिकल कलेज र नारायणी सरकारी अस्पताललाई मान्छु किनभने बाबालाई दुई हप्ताअघि डायलाइसिसमा लैजाँदा एसपीओटु नाइन्टी छ भन्दै यहाँ डाइलाइसिस हुँदैन भनेर हामीलाई एनएमसीबाट निकालिदिएको थियो। चार वर्ष मेरो बाबाले एनएमसीबाट डायलाइसिस गराउनुभएको थियो। 

प्रती पटक डायलाइसिस गरे वापत कलेजले सरकारसँग ३५ सय रुपैयाँ पाउँथ्यो। कमाउने बेला कमाउने, बिरामीलाई गाह्रो भएको बेला चाहिँ धपाइदिन पाइन्छ ? उनको राज्यसँग प्रश्न छ।  उनले डाइलाईसिस गर्दा प्रयोग हुने सामग्रीको अनियमित प्रयोगको प्रश्न पनि उठाएको छ। डाइलाइसिस गर्दा प्रयोग हुने डायलुजरहरु केही पनि राम्रो छैन। एउटा डायलुजरले १२ वटासम्म डायलाइसिस गरेको छ, मेरो बाबाको उनले भनेका छन्,‘यसो गर्न मिल्दैन, मसँग प्रमाण राखेको छु।’  

गत वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा नारायणीको डायलाइसिस बिरामीहरुलाई एनएमसी सिफ्ट गरेको थियो। एक महिनाभित्र पाँचजना बिरामीको मृत्यु भएको थियो उनको दावी छ,‘ डायलुजर नफेरेकै कारण मानीसको मृत्यु भएको जानकारी पाएको छु। एनएमसीको कारणले गर्दा मेरो बाबा आज हामीसँग हुनुहुन्नँ। यसको सुनुवाई/कारवाही गर्ने कोही पनि छैन। कोही पनि माथि छैन। अनि छानबिन हुन्छ र ? हुदैन। मलाई थाहा छ उनले भनेका छन,‘ कोही पनि छैन सुनवाई गर्नेबाला।  

मेरो बाबाको मृत्युको कारण नारायणी अस्पताल वीरगन्जलाई पनि मान्छु म उनले भने,‘ एनएमसीले आफ्नो बिरामीको डायलाइसिस आफैं गर्दैन भने, हामी किन गर्ने ? एउटा अस्पतालले यसो भन्न मिल्छ ? मान्छेहरुले भनिरहेका छन् अहिले कि आदर्शको बाबा धेरै नै गौरवान्वित महसुस गर्नुहुन्छ भनेर तर म एक छोराको रुपमा पूर्ण रुपमा असफल भएँ। मैले गर्नु पर्ने कुराहरु गर्न सकिनँ। बचाउन सकिन्थ्यो होला, मैले टन्नै गलत निर्णयहरु लिएँ होला। 

काठमाडौं लिएर जानुपर्ने थियो होला। भरतपुर अस्पतालमा रातभरि डाक्टरलाई ‘सर, १०५ ज्वरो छ सर, बाबालाई होस् छैन सर भनेर याचना गरिरहेँ उनी भन्छन्,‘ डाक्टरले एसपीओटु ठिक छ भाइ ? भाइटल्स ठिक छ भाइ ? भनेर समय बिताइदिनुभयो। ‘आइसीयूमा राखिदिनु न सर, आइसीयूमा राखिदिनु न सर’ भनेर गुहारिरहेँ तर कुनै सुनुवाई भएन। उनी रुँदै भन्छन्,‘ एसपीओटु मात्रै ठिक भएर यदि कोभिडको उपचार हुने भए त अक्सिमिटर लिएर म पनि डाक्टर हुन्थेँ नि सर। किन स्ट्यान्ड अप गरिरहेको हुन्थेँ।

‘बुवा जहाँ पनि हुनुहुन्छ, खुसी हुनुहुन्छ किनभने उहाँको छोरा चर्चित छ’ भन्नेलाई आदर्श भन्छन यो बिलकुलै गलत हो। अहिले पनि विनोद मिश्राको छोरा भनेर चारैतिर मेरो नाम चल्छ। कुनै पनि पसलमा यो औषधी विनोद सरको घरमा लानुपर्छ भन्यो भने अहिलेसम्म पैसा तिर्नुपरेको छैन। त्यतिसम्मको विश्वासयोग्य, इमानदार व्यक्ति हो उहाँ। पैसाको कुरामा, व्यवस्थापनको कुरामा जे कुरामा पनि उहाँ उत्कृष्ट हुनुहुन्थ्यो।

बिनोद नगोल स्कूलको प्रधानाध्यापक थिए। यस स्कूलको स्वरुप उनी आउनुभन्दा अघि दयनीय थियो। उनले स्कूलको नक्सै फेरिदिएर चर्चित बने। आदर्श भन्छन्,‘ उहाँ अघिको नगोल स्कूल कस्तो थियो र अहिलेको नगोल स्कूल कस्तो छ हेर्दा,सोध्दा हुन्छ। मृगौला फेल भएर त्यतिसम्मको काम गर्न सकिन्छ भन्ने उदाहरणीय व्यक्तित्व थिए बिनोद।  

‘स्कुटरको पछाडि बसेर हप्ताको दुई दिन डाइलाइसिस गराउनेले चलाएको स्कूल हेर र तिमीले चलाएको देश हेर।’ आदर्शले रुँदै प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। उनी अक्रोश पोख्दै भने,‘ काम गर्न दिएनौ भन्छौ, काम गर्न कहाँ मन छ तिमीलाई ‘त्यो पर्दैन’ भन्दै बस्ने काम हो तिम्रो।’ मधेसी नेताभन्दा म राम्रो छु भनेर मात्रै प्रमाणित गरेको हो के तिमीले तर तिमी यत्ति पनि राम्रो नेता भने होइनौ।

परिवारको मूल खम्बा गुमाउनुपर्दाको पीडा के हुन्छ त्यो मेरी मम्मीले भित्तामा हात, टाउको बजारेको हेर्दा थाहा हुन्छ। आदर्शले भनेका छन्, नेपालको ठूलो स्ट्यान्डअप कमेडियन मान्दो रैछन मान्छेहरुले मलाई। राम्रै कमेडी गर्छ भन्छन्। तर एउटा पनि  लाइभ शाे आफ्नो बाबालाई देखाउन नसकेकाेमा म निराश छु। लास्टै ठूलो सपना थियो। प्रज्ञा प्रतिष्ठानमा एउटा शो गरेर बाबालाई फ्रन्ट रोमा राखेर एक घण्टा बाबाबारे पर्फम गर्ने। जीवनको यो सबैभन्दा ठूलो सपना सरकारी प्रणालीको बेहाल अवस्थाले पूरा भएन, उनले भने।

प्रकाशित: १३ जेष्ठ २०७८ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App