२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्माणको म्याद सकिन लाग्दा १० प्रतिशत मात्रै काम

रसुवामा उच्चस्तरको अस्फाल्ट रिसिलिङ निर्माणको लागि तोकिएको समयसीमा सकिन लाग्दा १० प्रतिशत काम सकिएको छ।

डिभिजन सडक कार्यालय नुवाकोटले जिल्लाको सोले स्याफ्रु सडक खण्डमा उच्च स्तरको रिसिलिङ गर्नका लागि २०७८ बैशाख ५ गते आश्रर्य एलआइके जेभीसँग ठेक्का सम्झौता गरेको थियो।  

सम्झौताअनुसार २०७८ असार २५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्छ। सोलेखोलादेखि त्रिशूली खोलासम्म साढे ६ किलोमिटर क्षेत्रमा रिसिलिङ हुने छ। यसका लागि ४ करोड रुपैयाँ खर्च हुने छ। सम्झौता भएको एक महिना भइसक्दा १० प्रतिशतमात्र काम भएपछि कार्यालयले निर्माण व्यवसायीलाई पत्र काटेको छ।  

सम्झौताअनुसार एक महिनामा ३३ प्रतिशत काम सक्नुपर्ने भए पनि काम निकै सुस्त भएको डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘सम्झौता भएको एक महिना बितिसकेको छ’, उनले भने, ‘अहिलेसम्म ३३ प्रतिशत काम भइसक्नुपर्ने हो।’

निर्माण कार्य सुरु नगरी बारम्बार मौखिक जानकारी गराउँदा सम्पर्कमा नआएको र पेरियोडिक मेन्टिनेन्स समयमा नै नगरेको अवस्थामा सडक दैनिक रूपमा बिग्रदै गएको कार्यालयले जनाएको छ। तोकिएको समय सीमाभित्र काम सम्पन्न नभएमा पुनः म्याद थप नहुने तथा त्यस फर्मको कारणबाट बिग्रेको सडक मर्मत गर्न लाग्ने रकमसमेत फर्मबाटै असुलउपर गरी ठेक्का अन्त्य गर्ने कार्यालयको भनाइ छ। साथै सो कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाअघि बढाउने डिभिजन प्रमुख भण्डारीले बताए।  

सम्झौताअनुसार निर्माण सम्पन्न नभएमा बजेट फ्रिज हुने र कामसमेत नहुँदा यातायात सञ्चालनमा पुनः सास्ती खेप्नुपर्ने चिन्ता पनि बढेको छ। सोलेदेखि त्रिशूली खोलासम्मको सडक जीर्ण भएका कारण सवारी सञ्चालन गर्न असहज हुँदै आएको छ।  

५० प्रतिशतभन्दा बढी सडक बिग्रिएको खण्डमा रिसिलिङ गर्ने गरिन्छ। पासाङ ल्हामु मार्गअन्तर्गत रसुवा क्षेत्रको सडक खण्ड जीर्ण हुँदै जाँदा तीन खण्डमा वर्गीकरण गरेर सडक सुधारको काम भइरहेको छ। यसका लागि चालू आर्थिक वर्ष २०७७÷७८ का लागि २० करोड बजेट आएको कार्यालयले जानकारी दिएको छ।

सडक मर्मत सुधारका लागि रकम अपुग हुने भएपछि डिभिजन प्रमुख भण्डारीले थप १० करोड बजेट आएको छ। सो रकममध्ये ५ करोड रुपैयाँ रसुवा खण्डको मर्मत सुधारमा खर्च हुनेछ।  

कार्यालयले रसुवाको बेत्रावतीदेखि राम्चे, राम्चेदेखि धुन्चे र धुन्चेदेखि स्याफ्रुसम्मको सडक मर्मत तथा सुधारको काम भइरहेको जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७८ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App