१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिममा काेराेनाः निषेधाज्ञामा पनि बढ्दो संक्रमण

सुदूरपश्चिममा वैशाखको सुरुवातसँगै देखापरेको कोराेनाको दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमणले दुई सातामै विकराल रूप लियो। संक्रमण तीव्र रूपमा फैलिएसँगै जटिल प्रकृितका संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि वैशाख १६, १७ गतेदेखि कैलाली कंचनपुर लगायत सुदूरपश्चिमका प्रायःजसो जिल्लामा निषेधाज्ञा लागु गरियो। 

संक्रमण र मृत्युदर बढी भएका कैलाली र कंचनपुरमा वैशाख १६ गते यता निषेधाज्ञा जारी छ। यसैगरी अन्य विभिन्न जिल्लामा पनि निषेधाज्ञा छ। निषेधाज्ञा जारी भएको तीन साताको अवधिमा पनि कोराेनाको संक्रमण र मृत्युदर बढ्दै गएको छ। कैलाली र कंचनपुर जिल्लामा निषेधाज्ञा लगाउन अघि वैशाख १५ गते सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४० जना रहेको थियो। 

मृत्यु हुनेको संख्या ७२ जना मात्र थियो। निषेधाज्ञाको अवधिमा करिव १० हजार सक्रिय संक्रमित थप भएका छन् भने ३ सय ४६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार अहिले सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ५५ रहेको छ भने मृत्यु हुनेको संख्या ४ सय १८ जना पुगेको छ। सबैभन्दा बढी कैलालीमा ५ हजार ४ सय १० सक्रिय संक्रमित रहेका छन भने कंचनपुरमा २ हजार २ सय ६३ सक्रिय संक्रमित रहेका छन्। सुदूरपश्चिममा शुक्रबार १ हजार ९० जना संक्रमित थपिएका छन्। 

एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै सर्वाधिक हो । २६ सय ४७ को परीक्षण गर्दा ४१ प्रतिशतमा कोराेना संक्रमण देखिएको हो। स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक गुणराज अवस्थीले निषेधाज्ञामा पनि संक्रमण र मृत्युदर बढ्दै गएको बताएका छन्। संक्रमण र मृत्युदर अझै भयावह रूपमा बढ्दै जाने अवस्था रहेको उनी बताउँछन्। ‘भारतबाट आएका धेरै मान्छे घरघर पुगेकाले संक्रमण सुमदायमा व्यापक फैलिएकाले निषेधाज्ञामा पनि संक्रमण र मृत्युदर बढ्दै गएको छ।’ 

उनले भने,‘संक्रमण र मृत्युदर बढेर स्थिति अझै भयावह हुने देखिएको छ।’ खुला नाकाका कारण विभिन्न बाटो हुँदै भारतबाट आएका ठूलो संख्यामा गाउँगाउँ तथा घरघर पुग्नु र अधिकांश व्यक्तिहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएकाले संक्रमण तीव्र रूपमा फैलिइरहेको उनको बिश्लेषण छ। ‘मान्छेहरूले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, सरसफाइ गर्ने कुरा लागु गरिरहेका छैनन्। यसैले कोरानाको संक्रमण समुदायमा व्यापक रूपमा फैलिरहेको छ’ उनी भन्छन्,‘जबसम्म सबैजना सावधानी अपनाउँदैनन् संक्रमण तीव्र रूपमा फैलिने क्रम रोकिंदैन।’ 

कोराेना संक्रमणले विकराल रूप लिँदै गएको सुदूरपश्चिममा अस्पातल भरिभराउ भएका छन् भने बेड, आइसियु र भेन्टिलेटरको अभाव हुने गरेको छ।

प्रकाशित: ८ जेष्ठ २०७८ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App