१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाविरुद्ध भक्तपुर नगरपालिका : दैनिक माइकिङदेखि अक्सिजन प्लान्ट स्थापनासम्म

नयाँ भेरियन्टको कोरोनाबाट प्रभावित हुन थालेसँगै ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्रको निर्माण गरी कोरोनाविरुद्ध लड्न सुरु गरेको भक्तपुर नगरपालिकामा हालसम्म ३ हजार १ सय ७ जना संक्रमित देखिएका छन्। जिल्लामा ७ हजार ७ सय ७८ संक्रमित देखिँदा सो नगरपालिकाका ७३ जना नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा छन् भने ६ सय ७६ जना होम आइसोलेसनमा। यो बीचमा २ हजार ३ सय २ जना निको भएका छन् भने ५६ जनाको मृत्यु।

विशेषतः घरमा एकान्तबास बस्न नमिल्ने नगरबासीहरुका लागि उचित वातावरणसहित आइसोलेसन केन्द्रको व्यवस्था र विदेशबाट आएकाहरूको लागि घर वा होटल क्वारेन्टाइनको व्यवस्था गरी जनतालाई रोग संक्रमण हुनबाट बचाउने प्रयासमा लागिरहेको भक्तपुर नगरपालिकाले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ।

‘हामीले दैनिक माइकिङ, टोल-टोलमा साबुन पानीले हात धुने बन्दोबस्त, विशेष टोलीद्वारा फोहर संकलनको व्यवस्था, आवश्यक स्वास्थ्य परामर्शको लागि चिकित्सकहरूको नाम सार्वजनिक गर्दै जनतालाई सक्दो सहजता प्रदान गर्दै आएका छौँ,’ वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भने, ‘यसका साथै गल्लीहरुमा चून छर्किने, जिवाणूविरुद्ध स्प्रे गर्ने पनि गरिरहेका छौं।’

उनले कोभिडको दोस्रो लहरको प्रहारसँगै भक्तपुरवासीहरूको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले ५० बेडको आइसोलेसन र २५ शैय्याको एचडीयु (आइसीयुभन्दा कम र सामान्य भन्दा माथिको सेवा) सञ्चालन गरेको बताए। गत वैशाख १७ गतेदेखि वडा नं. ९को ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा ख्वपः अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याएसँगै सो युनिटले नगरबासीहरूका लागि ठूलो राहत भएको उनको भनाइ छ।

सो युनिट सञ्चालनका लागि नगरपालिकाले सात सदस्यीय समिति गठन गरेको छ। त्यसको संयोजकको जिम्मा वडा नं. ९ का वडाध्यक्ष ज्याख्वले लिएका छन्। हाल उक्त केन्द्रमा २ जना चिकित्सक, ६ जना नर्स र आवश्यक संख्यामा कर्मचारीहरूले २४ सैं घण्टा सेवा प्रदान गरिरहेका छन्। ‘हामीले यो केन्द्रमा १ जना फिजिसियन र १ जना एनेस्थेसिया चिकित्सकको पनि व्यवस्था गरेका छौं, केन्द्र सञ्चालनमा १ वटा कोभिड डेडिकेटेड एम्बुलेन्स, स्वाब संकलनको लागि १ वटा र माइकिङको लागि १ वटा तथा इमर्जेन्सी सेवाको लागि १ वटा गरी जम्मा ४ वटा गाडी व्यवस्थापन गरेका छौं,’ वडाध्यक्ष ज्याख्वले भने।

यतिमात्र हैन नगरपालिकाले संक्रमितहरूको बढ्दो संख्यालाई ध्यानमा राखी कोभिडका शंकास्पद बिरामीहरूको परीक्षणको लागि फिभर क्लिनिकको पनि व्यवस्था गरेको छ। नगरपालिकाका अनुसार ख्वप अस्पताल कोभिड युनिटमा जेठ ६ गतेसम्ममा १२१ जनाले उपचार सेवा लिइसकेका छन् भने हाल आइसोलेसन र एचडीयुमा गरी ४५ जनाले स्वास्थ्य लाभ गरिरहेका छन्।

अक्सिजन दिनुपर्ने संक्रमितहरूको संख्या भक्तपुर नगरमा पनि बढ्न थालेपछि नेपाल सरकारसँग अक्सिजनको लागि बारम्बार आग्रह गरेको नगरपालिकालाई कतैबाट सहयोग नभएपछि अहिले नगरपालिका आफैं अक्सिजन प्लान्ट सञ्चालनको तयारीमा जुटेको नगरप्रमुख सुनिल प्रजापतिले बताए। ‘वैशाख २७ गतेदेखि दैनिक ३० सिलिण्डर र वैशाख २८ गतेदेखि दैनिक ८० सिलिण्डर अक्सिजन ग्यास ख्वप अस्पतालको लागि प्रदान गर्ने सीसीएमसीले निर्णय गर्‍यो । हाम्रो निम्ति त्यो निकै खुशीको कुरा थियो । तर त्यो निर्णयअनुसार हामीले अक्सिजन पाएनौँ। १०–२० सिलिण्डर अक्सिजनले मात्रै हाम्रा नगरवासीहरूलाई बचाउन मुस्किल हुने देखिएपछि आफ्नै अक्सिजन प्लान्ट राख्ने तयारी गरिरहेका छौं।’ नगर प्रमुख प्रजापतिले भने।

उनले स्वास्थ्य क्षेत्रमा नगरबासीहरूका लागि उत्कृष्ट सेवा प्रदान गर्दै आएको दाबी गरे। जनताको स्वास्थ्यलाई मध्यनजर गरी नगरपालिकाले संघीय सरकारसँग ५ वटा भेन्टिलेटरसहित १० वटा आइसीयुको लागि र अक्सिजन प्लान्टको लागि आवश्यक सहयोग माग गरे पनि अहिलेसम्म ख्वप अस्पतालको नाउँमा कुनै स्वास्थ्य उपकरण र कुनै आर्थिक सहयोग नभएपछि नगरप्रमुख प्रजापतिले जनताकै भरमा काम गरिरहेको बताए।

‘गत वर्ष हामीले कोरोना संक्रमितहरूको लागि आइसोलेसनलगायत आवश्यक बन्दोबस्तको लागि सहयोग आह्वान गर्दा धेरै स्थानीय व्यक्ति र संघ-संस्थाहरूले सहयोग गर्नुभयो। गत आ.व. २०७६/७७ मा ६० लाख ७३ हजार रुपैयाँ र चालू आ.व.२०७७/७८ को यस १० महिनामा ४२ लाख ४० हजार रुपैयाँ गरी कूल १ करोड २ लाख रुपैयाँभन्दा बढी नगद र लाखौँ रुपैयाँ बराबरको जिन्सी सहयोग प्राप्त भएको छ। ती सबै रकम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरी खर्च गर्दै आएका छौं,’ उनले भने।

यस अलावा नगरपालिकाले कोभिडविरुद्ध खोप अभियान सञ्चालन गरिरहेको छ। हालसम्म २१,७८१ जनाले चिनियाँ खोप भेरोसेल र ३०,७०२ जनाले भारतीय खोप कोभिशिल्डको पहिलो चरणको खोप लगाइसकेका छन्। त्यसैगरी कोभिशिल्डको दोश्रो खोप २,४३७ जनाले र भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यलाई वडावडामार्फत् सम्पादन गरिरहेको छ।

प्रकाशित: ७ जेष्ठ २०७८ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App