coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरानको कृषि थोक बजार दैनिक २ घण्टा मात्र खुल्ने

धरान १३ स्थित थोक कृषि बजार विहान २ घण्टामात्र खुल्न थालेको छ।

लकडाउनको कारण जेठ १ गतेदेखि पूर्ण रुपमा बन्द रहेको कृषि बजार शुक्रबारदेखि विहान ४ बजेदेखि ६ बजेसम्म मात्र खुल्न थालेको हो। बिहीबार धरान उपमहानगरपालिकामा सरोकारवाला पक्षबीचको छलफलमा हरेक दिन बिहान २ घण्टामात्र कृषि बजार खुल्न दिने सहमति भएको बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। उनले भने,‘उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, कृषि बजार र स्वास्थ्य विज्ञसहित छलफल हुँदा बिहान ४ बजेदेखि ६ बजेसम्म खोल्ने सहमति भएको थियो। त्यसैअनुसार आज बिहान २ घण्टा कृषिबजार खुलेर हरियो तरकारीहरु बिक्री भयो।’

कृषि थोक बजार बिहान २ घण्टा खुले पनि धरानका खुद्रा तरकारी पसलहरु भने लकडाउन अवधिभर खुल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्म जिल्लाभर लकडाउन गरेको छ। धरानमा बिहान ८ बजेसम्म डोको वा साइकलमा तरकारी घरघरमा पुर्याएर बिक्री गर्ने व्यापारीलाई मात्र छुट दिएको छ। ‘कृषि बजारमा पनि आम उपभोक्तालाई आएर खरीद गर्न दिइने छैन। यहाँबाट व्यापारीहरुले घर घरमा नै डेलिगरी गर्ने गरीमात्र तरकारी किनेर लैजान पाउँछन्,’ व्यवस्थापक भट्टराईले भने।  

कृषि बजारका अनुसार बिहान २ सय बोरा आलु र प्याज, ५० कार्टुन गोलभेडा र करिब ७ बोरा बन्दाकोपी बिक्री भएको थियो। लकडाउन तथा निषेधाज्ञाले गर्दा कृषि बजारमा पनि किसानको बारीबाट हरियो तरकारीहरु आउने क्रम रोकिएको व्यवस्थापक भट्टराईको भनाइ छ।

सुनसरीमा कोरोना संक्रमणको दर तीब्ररुपमा बढ्दै गएपछि प्रशासनले लकडाउनमा अत्यन्तै कडा गरेको छ। प्रशासनले बिहान ८ बजेसम्म तरकारीलाई होम डेलिभरी गर्न मात्र छुट दिएको छ। खाद्यान्न तथा हरियो तरकारी, फलफुल र दूधको पसलहरु पनि खोल्न दिइएको छैन। जसले गर्दा तरकारीको अभाव चुलिएको छ भने लुकीछिपी खुलेका पसलहरुमा भाउ आकासिएको छ। धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका उपभोक्ताले महंगोमा हरियो तरकारी खरीद गर्नुपर्ने बाध्यतालाई पनि मध्यनजर गर्दै कृषि थोक बजारलाई बिहान २ घण्टा खोल्न दिने समझदारी गरिएको बताए।

प्रकाशित: ७ जेष्ठ २०७८ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App