१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगन्जका युवकलाई ‘कन्जरभेसन अवार्ड’

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वातावरण संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै नेपालगन्जका युवक हेमन्तराज काफ्लेलाई ‘अब्राहम कन्जरभेसन अवार्ड–२०२१’ बाट सम्मान गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी काफ्लेलाई बुधबार भर्चुअल प्रविधीमार्फत नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरिएको हो। 

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले हरेक वर्ष वन्यजन्तु तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई उक्त अवार्ड प्रदान गर्दै आएको छ। वातावरण संरक्षणमा रूची राख्ने गरेका काफ्लेले कसैको जन्मदिन, व्रतबन्ध, विभिन्न चाडपर्वका अवसरमा निम, जामुन, सितलचिनी, अगस्त, कागतीलगायत प्रजातिका बिरुवा उपहार स्वरूप दिँदै आएका छन्।

नेपालगन्जमा आउने विशिष्ट व्यक्तिलाई समेत उनले उपहार स्वरूप विरुवा दिँदै आएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वराजा ज्ञानेन्द्र शाह, मन्त्री, पूर्व मन्त्री, सांसद, कलाकार, चिकित्सक, कर्मचारी, पत्रकार, राजनीतिक नेतालगायतलाई बिरुवा उपहार स्वरूप दिएका छन्। वातावरण संरक्षणमा सबैको सहभागिता र सकारात्मक सोच पैदा होस् भन्ने उद्देश्यले नेपालगन्जमा ११ वर्षदेखि उपहारका रूपमा बिरुवा दिँदै आएको काफ्लेले बताए। 

कन्जरभेसन अवार्ड प्राप्त गरेपछि आफूलाई वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने थप उर्जा र जिम्मेवारी आएको भएको उनले बताए। ‘मैले यति ठूलो अवार्ड पाउँला भनेर हरित अभियान थालेको होइन, तर मेरो मूल्यांकन गरेर अवार्ड प्रदान गर्नुभयो। यसले संरक्षणको क्षेत्रमा काम गर्ने थप हौसला मिलेको छ,’ काफ्लेले भने।

प्रकाशित: ६ जेष्ठ २०७८ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App