१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनौलो टोलका अधिकतर बासीन्दा बिरामी

लक्षण कोरोनाको, पिसिआर टेस्ट गर्न अटेर

इटहरी वडा नंं. ३ को सुनौलो टोलका अधिकतर बासीन्दा यतिबेला बिरामी छन्। बिरामीमध्ये प्रायःजसोमा कोरोना भाइरसको लक्षण देखा परेपनि बस्तीका बासीन्दा पिसिआर टेस्ट गर्न भने अटेर गर्दै आएका छन्।

वडा नं. ३ का वडा अध्यक्ष बालकुमार विष्टका अनुसार बिरामी सवैमा ज्वरो आउने, रुघा लाग्ने, टाउँको दुख्ने र झाडापखलाको समस्या रहेको छ। वडा कार्यालयले बुधबारदेखि सुनौलो टोललाई सिल गर्ने निर्णय गरि सकेको छ।

वस्तीका बासीन्दालाईं पिसिआर टेस्ट गर्न अनुनय गर्दा उनीहरु भाग्छन्। ‘घर छाडेर अन्यत्र आइसोलेसनमा बस्न पर्ने चिन्ताले गर्दा सवै जना पिसिआर टेस्ट गर्न मान्दैनन,’ वडाअध्यक्ष विष्टले भने। अहिले यो वस्तीमा विशेषगरी, सुत्केरी र  बढी मात्रमा बिरामी छन्।  

उपमेयर लक्ष्मी गौतमले तीन दिनअघि धेरै बिरामी भएको वडाअध्यक्ष विष्टबाटै सूचना आएपछि चिकित्सकको टोली लिएर वस्तीमै पुग्दा धेरैजना भागभाग भए। सोमबार इटहरी उपमहानगरपालिको पिसिआर टेस्ट गर्ने स्थानमा आउन बिरामी सवैलाई डाकियो। तर, कोही पनि आएनन्। ‘कोही आउन नमानेपछि चिकित्सक टोली वस्तीमै लगेर अनेक आग्रह गरेर नौं जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा कोरोना पोजेटिभ भएको पाइयो,’ उपमेयर गौतमले भनिन्। उनका अनुसार वस्तीका बासीन्दा एकै स्थानमा घुलमिल गरेर बस्ने गर्छन्।  

शिक्षा र चेतना कमी भएको वस्तीमा प्रायःजसो आर्थिक अवस्था कमजोर भएका बासीन्दा बसोबास गर्छन्। ‘बेलैमा नियन्त्रण थालिएन भने ठूलो खतरा सृजना हुन सक्छ,’ वडाअध्यक्ष विष्ट भन्छन्, ‘वस्तीमा बसोबास गर्नेमध्ये पुरुष बढी मात्रमा रक्सी सेवन गर्छन्।’ यहाँ बासीन्दाको दैनिक ज्याला मजदुरी गरेर वित्छ।

झन्डै चार वर्षअघि इटहरी वडा नं. ३ कै सुनौलो टोलमा बाढीले गर्दा यहाँका बासीन्दाले ठूलो पीडा भोग्नु परेको थियो। २०७४ साउन २७ गते राति आएको बाढीले गर्दा इटहरीका चारवटा वडा तहसनहस पारेको थियो। बाढीले  इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो। वडाअध्यक्ष विष्टले कोरोनाको परीक्षण बेलैमा नगर्दा चार वर्षअघि बाढीले पीडित भएर समस्या भोगेको भन्दा अहिले भयावह स्थिती आउने खतरा रहेको छ। ‘वस्तीका बासीन्दाले अटेर गरेपनि अब कडाईं गरेर अनिवार्य गर्नुपर्छ,’ विष्टले भने। वस्तीमा एक सय २५ परिवार बसोबास गर्छन्।

प्रकाशित: ४ जेष्ठ २०७८ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App